‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा डा. दीक्षित सम्मानित

हरेक महिना शिक्षाक्षेत्रमा उल्लेखनीय योगदान गरेका एक जनालाई ‘इडियुसञ्जाल महिना व्यक्तित्व’द्वारा सम्मान गर्दै आएको इडियुसञ्जालले यो महिना रातो बंगला फाउन्डेसनकी  संस्थापक एवम् निर्देशक डा. शान्ता दीक्षितलाई सम्मान गरेको छ ।

डा. दीक्षितले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै इडियुसञ्जालले सम्मान गरेको हो । डा. दीक्षितले विशेषगरी शिक्षामा भित्र्याएको नयाँ आयामको कदर गर्दै आज एक कार्यक्रमका बिच सम्मान पत्र र चिनो हस्तान्तरण गरिएको इडियुसञ्जालले जानकारी दियो ।

डा. दीक्षित फेब्रुअरी १९९२ देखि हाल सम्म रातो बंगला स्कुलका संस्थापक र निर्देशकको रुपमा काम गरिरहेकी छिन् ।  उनले काठमाडौं विश्वविद्यालय र न्यूयोर्कको बैंक स्ट्रीट कलेज अफ एजुकेसनद्वारा संयुक्त रूपमा सञ्चालित प्राथमिक शिक्षक तालिम कार्यक्रमको अवधारणाकर्ता र संयोजकको भूमिका निर्वाह गरिसकेकी छिन् ।

सो तालीमको पाठ्यक्रमको शिक्षा दर्शन भागको प्रशिक्षक, अभ्यास शिक्षणको लागी विभिन्न नेटवर्कमार्फत् दीर्घकालीन र छोटो अवधिको प्रशिक्षण प्याकेजको विकास गरेर कार्यान्वयनमा ल्याएकी छिन् ।

देशभरका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न उद्देश्यले रातो बंगलामार्फत उनले विभिन्न जिल्लामा कार्यसम्पादन गर्दै आएकी छिन् ।

यसका साथै कक्षा एक देखि पाँचको नागरिक शिक्षा पाठ्यक्रम विकास गर्न संयोजक र कोर समूह सदस्य, रातो बंगला किताबको अवधारणा र निर्देशन, २००० मा स्थापना गरिएको ब्राइट होराइजन चिल्ड्रेन स्कूलको संचालक समिति, र विद्यालय समिति सदस्य, आर्थिक रूपमा विपन्न बालबालिकाहरू विशेष गरी अनाथहरूलाई शिक्षा प्रदान गर्न उनी क्रियाशील छन् । 

उनले कोलम्बिया विश्वविद्यालय स्कूल अफ पब्लिक हेल्थ, न्यूयोर्कबाट  इपिडिमियोलोजीमा पीएचडी गरेकी हुन् । त्यस्तै उनले, मास्टर अफ पब्लिक हेल्थ (जनसंख्या र परिवार स्वास्थ्य र महामारी विज्ञान), कोलम्बिया विश्वविद्यालय स्कूल अफ पब्लिक हेल्थ, न्यूयोर्कबाटै सन १९८५ मा गरेकी हुन् । त्यसैगरी ब्याचलर अफ साइन्स पनि कोलम्बिया विश्वविद्यालय, न्यूयोर्कबाटै सन १९८२ मा गरेकी हुन् भने उनले अमृत साइन्स क्याम्पसबाट सन १९७६ मा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी हुन् । यसका अलवा शिक्षा र सामुदायिक विषयमा लामो समयदेखि विभिन्न पत्रपत्रिकामा कलम चलाउँदै आएकी छिन् ।

Thuprai - Books and E-books