प्रधानाध्यापकको विद्यालय चलाउने फरक काइदा

विद्यार्थी अभावका कारण लाखैंको सम्पत्ति अलपत्र छाडेर सामुदायिक विद्यालय मर्ज भइरहेका छन् । तर केही वर्षअघि सम्म विद्यार्थी न्यून भएर बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालय प्रधानाध्यापकको दुरदर्शी रणनीति तथा कुशल व्यवस्थापनले पुनः ब्युँझिएका छन् ।

दुईचार जना विद्यार्थी, केही शिक्षक भएको सुनसान परिसरलाई आजभोलि हामी जो कोही पनि सामुदायिक विद्यालयका रूपमा सम्झन थालिकसेको छौं । केही वर्ष यता क्रमशः सामुदायिक विद्यालयका कक्षाकोठा रित्तिँदै गएका छन् । दश वर्ष अघिसम्म कक्षाकोठामा खचाखच विद्यार्थी हुने विद्यालय पनि आजभोलि विद्यार्थी कुर्दै दिन बिताउँ बाध्यछन् ।

विद्यार्थी नै नभएर लाखैंंको भौतिक सम्पत्ति अलपत्र छाडेर भौगोलिक प्रतिकूलताका बाबजुद कतिपय विद्यालय मर्ज भएका छन् ।

आर्थिक अवस्था नाजुक भएका परिवारले पनि ज्याला मजदुरी गरेरै भएपनि निजी विद्यालयमा छोराछोरी पढाउन थालेपछि सामुदायिक विद्यालयहरू राजनीतिक बहस गर्ने साझा चौतारी तथा शिक्षकलाई घाम ताप्ने सुरक्षित स्थलमा रूपान्तरण हुन थालेको शिक्षाविद्हरू बताउँछन् ।

विद्यार्थी तथा अभिभावकको रूचि अनुसारको शिक्षा प्रदान गर्न नसकेर बन्द हुन लागेका कतिपय विद्यालयहरू प्रधानाध्यापकको दुरदर्शी रणनीति तथा कुशल व्यवस्थापनले गर्दा विद्यार्थी तथा अभिभावकको आकर्षणका केन्द्र बन्न पुगेका छन् ।

प्रधानाध्यापकले विशेष चासो दिएका दुर्गम तथा विकट क्षेत्रका विद्यालयमा अहिले निजी जस्तै खचाखच विद्यार्थी छन् । ती विद्यालय सिकाइ उपलब्धीमा सुधार ल्याउन पनि सफल भएका छन् ।

प्रधानाध्यापकले सुधारेको विद्यालय मध्ये एक हो व्यास २ दमौली तनहुँस्थित सत्यवती माध्यमिक विद्यालय । २०३३ साल स्थापना भएको यो विद्यालयमा सुरूका २० वर्ष राम्रै विद्यार्थी देखिए । तर त्यसको केही वर्षपछि विद्यार्थी घट्दै ५०० जनामा सीमित भए । विद्यालयलाई आफ्नो अस्तित्व जोगाउनै मुस्किल भयो ।

यसको सुधारको लागि प्रधानाध्यपकले विद्यालय व्यवस्थापन समितिको बैठकमा अंङ्ग्रेजी माध्यममा पठनपाठन, प्राविधिक धारको कक्षा सञ्चालन, शिक्षक कमर्चारीका छोराछोरीले अनिवार्य आफ्नै विद्यालयमा पढ्नै पर्ने प्रस्ताव राखे ।

व्यवस्थापन समितिबाट सो प्रस्ताव पारित भयोको पाँच वर्षपछि विद्यालयमा २ हजार ७३३ विद्यार्थी अध्ययनरत छन् । भने २०७५ सालको एसईईमा विद्यालयको औसत जीपीए ३.०१ प्राप्त गर्न सफल भएको छ ।

कक्षा ११ र १२ को क्रमशः २.३३ र २.३७ औसत जीपीए भएको प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए । सो विद्यालयमा हाल २०१ जना शिक्षक र कर्मचारीका छोराछोरी अध्ययनरत छन् ।

परियोजनामा आधारित सिकाइका साथै प्रयोगात्मक शिक्षामा विशेष जोड दिइएको हुँदा एसएलसी नतिजाको आधारमा चार पटक पश्चिमाञ्चल विकास क्षेत्रमा उत्कृष्ट भई विरेन्द्र विद्या क्षेत्रीय शिल्ड हासिल गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

त्यस्तै दैलेखको चामुण्डा विन्द्रासनीस्थित चामुण्डा माध्यमिक विद्यालयमा बर्सेनि विद्यार्थी घट्दै गए । घट्दै घट्दै केही वर्ष अघि सयभन्दा कम विद्यार्थी संख्या हुन पुग्यो । विद्यालयमा विद्यार्थी टिकाउन हम्मे भएपछि चिन्तित भएका प्रधानाध्यापक जयप्रसाद तिमिल्सिनाले शिक्षा सेवी भरत राईको बैकल्पिक शिक्षाको अबधारणालाई विद्यालयमा भित्र्याए ।

०३९ सालमा स्थापना भएको सो विद्यालयले सिकाइलाई कक्षाकोठामा मात्र सीमित नराखी कक्षाकोठामा दिइने सैद्धान्तिक शिक्षालाई खेतबारीमा लगी प्रयोगात्मक रूपमा सिकाउन थाले ।

विद्यालयमा अहिले ९१२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा प्रविधिमैत्री सिकाइ हुनुका साथै सिकाइलाई आयआर्जनसंग जोडिएको प्रधानाध्यापक तिमिल्सिनाले बताए । ‘कम्प्युटर ल्याबदेखि लिएर हस्त निर्मित सामग्री, च्याउ तथा तरकारी खेती लगायतका व्यवहारिक शिक्षा प्रदान गर्दा विद्यार्थीले चाडैं सिक्छन् ।’ उनले भने, ‘हाम्रो यो प्रयासमा स्थानीय सरकारले साथ दिँदा स्रोत र साधन जुटाउन सहज भएको छ ।’

त्यस्तै रोल्पा लिवाङस्थित बालकल्याण नमूना माविमा प्रधानाध्यापक मधुसुदन पोखरेलले पनि अन्य विद्यालय भन्दा फरक अभ्यास लागु गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ शिक्षक कर्मचारी सबैका छोराछोरी यहीँ पढ्छन् ।

०२३ सालमा स्थापना भएको यो विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन हुने गरेको छ । यो विद्यालयमा प्राविधिक विषयको पठनपाठन हुन थालेपछि विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक पोखरेलले बताए । उनका अनुसार हाल २ हजार ४३९ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयको प्रावि तहको ६९ दशमलब १६ प्रतिशत, कक्षा ६ देखि ८ को ६३ दशमलब ५५ र माविको ६३ प्रतिशत सिकाइ उपलब्धी रहेको उनले बताए ।

त्यस्तै फरक शैली अपनाएर जनकपुरको नमुना विद्यालयलाई समेत उछिन्ने विद्यालय हो जनकपुरस्थिीत श्री संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालय । जनकपुरमा विद्यार्थी नभएर वा नपाएर कतिपय सामुदायिक विद्यालयहरू बन्द हुने अवस्थामा पुगेको बेला यो विद्यालयमा भर्नाका लागि विद्यार्थीसहित अभिभावक नै लाम लागेर बस्ने गरेका छन् ।

‘सुरक्षित वातावरणमा प्रभावकारी सिकाइ, पहिलो प्राथमिकतामा सिकाइ प्रत्येक कक्षामा ‘फाइभ–टी’ ढाँचाको आधारमा पढाउन थालेका छौं ।’ विद्यालयका प्रधानाध्यापक बलिराम साह भन्छन्, ‘यसले प्रभावकारी नतिजा दिएको छ ।’

पाँच ‘टी’ अन्तर्गत पहिलो (टिच) अर्थात शिक्षण गर्ने तौरतरिका, दोस्रोमा (टङ) बोलाई अर्थात राम्ररी बुझिने भाषामा पढाई, तेस्रो ‘टी’ अर्थात (टेकस्ट) सामग्री जसमा बालबालिकाको हातमा उपयुक्त किताब पुर्याउने, चौथोमा (टाइम) समय र पाँचौमा (टेस्ट) परीक्षण अर्थात मूल्याङ्कनको प्रत्याभूति र संचारको आधारमा पठनपाठन गर्दै आएको हुँदा विद्यालय सुधार भएको हो ।

शिक्षाविद् धन्नजय शर्मा भन्छन् विद्यालय कुनै नराम्रो हुँदैन । विद्यालय भनेको ज्ञान आर्जन गर्ने संस्था हो तर त्यहाँका शिक्षक, कर्मचारी, प्रधानाध्यापकले त्यसलाई व्यवस्थित रूपमा संचालन गर्न नजानेर अथवा नसकेर बिगार्दै लगेका छन् ।

उनी भन्छन् समय अनुसारको गुणस्तरीय शिक्षा र अनुसाशनले नै सामुदायिक विद्यालयको मुहार फेर्न सक्छ त्यसको लागि सरकारलाई दोष लगाएर बस्नुभन्दा विद्यार्थीको रुची, स्थानीय आवश्यकता र फरक शिक्षण शैलीले सामुदायिक विद्यालय सुधार गर्न सकिन्छ ।