A Levels MA

त्रिसंकु शिक्षाको गन्तव्य

थपेको कि झरेको विद्यालय ?

हामी १० वर्षे स्कुलमा हुर्कियौँ । अहिले १२ वर्षे बनायौँ । त्यसो हुँदा हिजोका आईए वा सो सरहका सबै विषय स्कुले बने । के त्यो हिजोको कलेज तल झरेको हो ? त्यसो भए त्यहाँ पढाउने प्राध्यापक किन तल आएनन् त ? आईए वा सो सरहमा विश्वविद्यालयको झण्डै ६५ प्रतिशत लगानी हुन्थ्यो । त्यो लगानी किन कक्षा ११–१२ मा दिइएन त ? त्यस्तै अहिलेको एकल पाठ्यक्रमले भन्छ– स्कुल १२ कक्षाको भयो । के त्यो स्कुलको पदोन्नति भएको हो त ? पदोन्नति भएको हो भने किन अहिले पनि कलेजले जस्तै विज्ञान विषयक, मानविकी विषयक, व्यवस्थापन विषयक स्कुल भन्ने गरियो ? कक्षा १२ का स्कुलमा त त्यस्ता विधागत पढाइ हुँदैनन् नि । किन चुपचाप छ सरकार ? किन चुपचाप छौँ विद्यालय सञ्चालक ? किन चुपचाप छ विश्वविद्यालय अनुदान आयोग ? किन मौन छन् विश्वविद्यालयहरू ? यो कुरा किन बहसमा ल्याइँदैन ? किन बुद्धिजिवीहरू चुप छौँ ? किन शिक्षा मन्त्रालय अकर्मन्य छ ? स्कुल थपेको हो भने विधागत पढाइ किन ? कलेज झरेको हो भने त्यो तहमा पढाउने विश्वविद्यालयका प्राध्यापकलाई तल नल्याउने किन ? त्यो छुट्टै संरचना मान्ने हो भने त्यसलाई कलेज नभन्ने किन ? शिक्षकको दरवन्दी सुनिश्चित नगर्ने किन ? स्कुलकै पदोन्नति हो भने ती शिक्षकलाई प्रणालीमा नल्याउने किन ? तिनको स्थायित्व नगरेको किन ? अर्काे शब्दमा भन्दा कक्षा ११ र १२ के हो ? के त्यो स्कुल हो ? कलेज हो ? टर्सरी शिक्षा हो ? उच्च शिक्षा हो ? सामुदायिक कलेज हो ? त्रिसंकुको शिक्षा हो ? अरु केही हो ? यसको जवाफ दिने को हो ?

टर्सरी, उच्च शिक्षा कि सामुदायिक कलेज ?

टर्सरी शिक्षा भनेको ननडिग्री शिक्षा हो । अमेरिकी ढङ्गमा हेर्ने हो भने व्यावसायिक, प्राविधिक, सामुदायिक तथा डिप्लोमा कोर्स पढाउने संस्था हो । विश्व बैङ्कको भाषामा भन्ने हो भने उच्च शिक्षा पनि हो । यी सोचमा हामी किन अनिर्णयी बन्यौँ ? के हो ११ र १२ को कक्षा ? के यो नन डिग्री कोर्स हो ? के कसैले त्यस्तो ननडिग्री कोर्स चलाएका छौँ त ? के यो सामुदायिक कलेज हो त ? यसमा समुदायले खोजेका कोर्सहरू पढाइ हुन्छन् त ? पढाएका छौँ त ? सामुदायिक कलेजका सबै कोर्सहरू उच्च शिक्षाका लागि क्रेडिट आर्जन गर्दैनन् । केही क्रेडिट कोर्स हुन्छन् विश्वविद्यालयलाई काम लाग्ने । केही ननक्रेडिट कोर्स हुन्छन् समुदायलाई काम लाग्ने । विद्यार्थीलाई काम लाग्ने । त्यसो हो भने हाम्रा कक्षा ११ र १२ पनि पढाउने विद्यालयहरूले आफूलाई किन नचिनाएको ? टर्सरी हौँ भने व्यावसायिक तथा प्राविधिक शिक्षा किन सञ्चालन नगरेको कक्षा ११ र १२ मा ? सामुदायिक कलेज हौँ भने किन क्रेडिट तथा नन क्रेडिट कोर्स सञ्चालन नगरेको ? उच्च शिक्षा हो भने विश्वविद्यालयको अङ्ग किन नबनाएको ? स्कुल नै हो भने किन विधागत साइनबोर्ड ननिकालेको ? किन गणित पुगेन । विज्ञान पुगेन भन्ने विश्वविद्यालयको भाषा बोकेको ? यी प्रश्न पनि अहिलेसम्म अनुत्तरित नै छन् । रहरले ? स्वार्थ नमिलेकाले ? नबुझेकाले ? नजानेकाले ? अन्य कुनै कारणले ? जवाफ खोज्नुपर्ने हैन र ?

क्यारियर कि प्राज्ञिक शिक्षा दिने स्कुल ?

कक्षा ११ र १२ को पढाइ क्यारियर शिक्षा हो कि ? प्राज्ञिक शिक्षा हो ? क्यारियर शिक्षाले जनशक्ति बनाउँछ । गरिखाने सीपयुक्त व्यक्ति । क्यारियर शिक्षा हो भने हामीले सामाजिक सीप के दिएका छौँ कक्षा ११ र १२ मा ? गरिखाने सीप के दिएका छौँ ? के तिनलाई जनशक्ति भन्न सक्छौँ ? जनशक्ति हुन् भने गरिखाने सीप किन नदिएको ? क्यारियर सीप किन नदिएको ? प्राज्ञिक हुन् भने किन उच्च शिक्षाकै कोेर्सहरू नपढाएर विद्यालय शिक्षा बनाएको ? यसको जवाफ दिने को हो ? जवाफ नै के दिने हो ?

विद्यार्थी प्रमुख कि विषय प्रमुख मान्ने ?

विद्यालय शिक्षाका रूपमा कक्षा ११ र १२ पढाउने पश्चिमी देशको अभ्यासले विद्यार्थी प्रमुख मान्छन् । अर्थात् विद्यार्थीले चाहेको विषय पढ्न दिन्छन् । त्यसका लागि विद्यार्थीले खुला विद्यालयमा पढ्न सक्छन् । टयुसन पढ्न सक्छन् । स्वाध्यायन गर्न सक्छन् । स्कुलले चाहिँ जहाँ पढे पनि जाँच दिए पनि तिनको अङ्क जोडिदिन्छ । विषय प्रमुख भएको देशमा जुन स्कुलले जे विषय दिन्छ त्यही विषय पढ्न विद्यार्थी वाध्य हुन्छन् । हाम्रो पाठ्यक्रमको एकलपथीय बनोटले विद्यार्थी प्रमुख मान्छ । कक्षा ११ र १२ पढाउने विद्यालयको अभ्यासले विषय प्रमुख मान्छ । किनकि उनीहरू बहुपथीय पाठ्यक्रमको अभ्यासमा छन् । एकलपथीय पाठ्यक्रम र बहुपथीय अभ्यासबीच समन्वय गर्ने कसले हो ? गराउने कसले हो ? यो बारेमा बोल्ने को हो ? हिसान बोल्दैन । सरकार निरीह छ, भन्न सक्तैन । विद्यार्थीले यो कुरा जानेकै छैनन् । बुझेकै छैनन् । अभिभावक के बोल्ने हो थाहै पाउन्नन् । पत्रकार पनि स्पष्ट हुनै सकेका छैनन् ।

एकलपथीय कि बहुपथीय हुन् कक्षा ११ र १२ ?

अभ्यासले हाम्रा कक्षा ११ र १२ पढाउने विद्यालय तथा क्याम्पस बहुपथीय हुन् । त्यस्तै पाठ्यक्रमको अभ्यास गर्छन् । विज्ञान पढाउने स्कुल भनेर । व्यवस्थापन पढाउने स्कुल भनेर । एकलपथीय पाठ्यक्रममा त यो भाषा नै प्रयोग हुन्न । पाठ्यक्रमको भाषामा फराकिलो पीँध भएको पाठ्यक्रम । जे पढे पनि हुने । पढाए पनि हुने । तर त्यो चलन कुनै स्कुलले गरेका छन् र ? यसबारे किन कोही बोल्दैनौ ? नजानेर ? नचाहेर ? अटेर गरेर ? पाठ्यक्रम विकास केन्द्रलाई सोधे एकलपथीय रे । विद्यालयलाई सोधे, बहुपथीय रे । विद्यार्थीलाई सोधे मानविकी पढेको रे ? शिक्षा पढेको रे ? कसले जवाफ दिने यो कुराको ? किन चुप छौँ हामी ?

क्रेडिट आवर्स कि पूर्णाङ्क प्रणाली हो हाम्रो ?

क्रेडिट आवर्स प्रणालीमा विषय गौण हुन्छ । जे पढे पनि क्रेडिट प्राप्त कोर्स पढनुपर्ने हुन्छ । कक्षा ११ र १२ पूरा गर्दा ६४ क्रेडिट आवर्स पूरा हुने । बहुपथीय भाषामा भन्दा मानविकीका केही कोर्स, विज्ञानका केही कोर्स, व्यवस्थापनका केही कोर्स पढन पनि पाइने । दुई तीनवटा स्कुलमा पढे पनि हुने । अर्थात् एकल पथकै कोर्स पढे पनि हुने । बहु पथकै कोर्स मिलाएर पढे पनि हुने । हाम्रो अभ्यासले भने यो कुरामा ध्यान दिएकै छैन । उही पूर्णाङ्कको अभ्यासमा लागेका छौँ । लगाएका छौँ । अहिलेसम्म कुनै पनि स्कुलले क्रेडिट आवर्सको एकलपथीय अभ्यास गरेका छैनन् । गराएका पनि छैनौँ । गरेको भए विज्ञान पढने विद्यार्थीले मानविकीका कोर्स लिन अर्काे स्कुल धाउनु पथ्र्याे । खुला मोड चल्थ्यो । खुला विद्यालय चल्थे । रेफरल कोर्सको अभ्यास हुन्थ्यो । कसैले यो बारेमा कुरा उठाएका छैनौँ । तैचुप मैचुप किन छौँ ? यसको जवाफ कसैले पनि दिन चाहेनौँ । चाहदैनौँ । आखिर किन ?

प्राज्ञिक हुने कि अनुभवीय हुने ?

प्राज्ञिक शिक्षा भनेको मूलतः सैद्धान्तिक हुन्छ । उच्च शिक्षामा हुने त्यही हो । अनुभवीय वा सीपयुक्त हुने हो भने कक्षा ११ र १२ टर्सरी तथा सामुदायिक कलेज हुनुपर्छ । अर्काे शब्दमा भन्दा प्राज्ञिक शिक्षाले अण्डरग्य्राडमा भर्ना हुने आधार दिन्छ । टर्सरी तथा सामुदायिक शिक्षा लिनेले सोझै अण्डरग्रयाडमा भर्ना हुन पाउँदैन । केही प्रिरिक्विजिट कोर्स पढ्नै पर्छ ।  तर हाम्रो अभ्यासले यो कुरा गरेको छैन । यो कुराको वहस किन गरेनौँ हामीले ? किन गराएनौँ हामीले ? किन विश्वविद्यालयहरू बोल्दैनौँ यसबारे ? किन समुदायले सोच्दैनौँ यसबारे ?

कक्षा ११ र १२ को पढाइ टु–इन–वान बनाएको हो त ?

अर्काे दलील हुनसक्छ, हामी संविधानको धारा ५० को (ज)को १ अनुकूलको शिक्षा बनाउन प्रतिबद्ध छौँ । त्यो भनेको हरेक तहको शिक्षालाई वैज्ञानिक बनाउँछौँ । व्यावहारिक बनाउँछौँ । जनमुखी बनाउँछौँ । उत्पादनमुखी बनाउँछौँ । यसका लागि हामीले कक्षा ११ र १२ को पढाइलाई त्यता उन्मुख गराएका हौँ । यो कुरा मान्ने हो भने हामीले सबै विद्यार्थीलाई गरिखाने सीप दिएका छौँ त ? ती सीपमा भएका ज्ञान, विज्ञान, प्रविधि, दर्शन, सिद्धान्त आदिको कुरा सिकाएका छौँ त ? हर विद्यार्थीलाई उद्यमी बनाएका छौँ त ? व्यापारिकरणको सीप सिकाएका छौँ त ? अर्थात् हाम्रा कक्षा ११ र १२ पूरा गरेका विद्यार्थीमा ती अपेक्षित सीप छन् त ? क्यारियर शिक्षा छ त ? प्राज्ञिक क्षमता पनि पुगेको छ त ? विश्वविद्यालयमा प्रवेश भएका विद्यार्थीको अनुभवले भन्छ– तिनमा न अपेक्षित ज्ञान छ । न अपेक्षित सीप छ । न सीपमा ज्ञान बनाउने क्षमता छ । न सीपमा ज्ञान, विज्ञान तथा प्रविधि खोज्ने तागत छ ।  यसरी हेर्ने हो भने हामीले टु–इन–वानको तागत छ विद्यार्थीमा भन्ने हिम्मत हुँदैन । यो स्थितिमा हाम्रो जवाफ के हुन्छ संविधानको धारा ५० को (ज)को १ नम्बरलाई ? विश्वविद्यालयको प्राज्ञिक कोर्सलाई ? अभिभावकको चाहनालाई ? विद्यार्थीको क्यारियर शिक्षालाई ? कक्षा ११ र १२ को मर्यादालाई ?

बाटो के हो त ?

माथिका प्रश्नहरुको एकल सन्देश हो– कक्षा ११ र १२ को शिक्षा दिशाहीन छ । त्यसलाई गन्तव्यमा लान सैद्धान्तिक सहमति जरुरी छ । व्यावहारिक अभ्यास जरुरी छ । तलका अनुच्छेदमा ती कुराको चर्चा गरिएको छ ।

१. थपेको विद्यालयले एकल पथीय पाठ्यक्रम माग्छ । पाठ्यक्रम बनेको छ । पढाइ पनि भएको छ । संरचनाले त्यसको अभ्यास माग्छ । यो अभ्यासले लचिलो स्कुली व्यवस्थापन माग्छ । लचिलो विश्वविद्यालय व्यवस्थापन माग्छ । लचिलो स्कुलको अर्थ हो– विद्यार्थीको रुचीअनुसार पढन पाउने विषयगत व्यवस्थापन । जे विषय पढे पनि तोकिएको क्रेडिट पाइने पढाइ । त्यस्तै लचिलो विश्वविद्यालयको अर्थ हो– विद्यार्थीले चाहेको विषय पढन पाउने विश्वविद्यालयका कलेज तथा क्याम्पसहरु । त्यसो हुँदा विद्यार्थीले कक्षा ११ र १२ मा के विषय पढ्यो गौण हुन्छ र स्नातक तहमा के पढ्न चाह्यो प्रमुख हुन्छ ? यसका लागि विद्यार्थीको ल्याकत छ त ? प्रश्न त्यस्तो हुन्छ । त्यो प्रश्न हल गर्ने प्रवेश परीक्षा अनिवार्य हुन्छ । त्यो पनि स्तरीय परीक्षा । त्यस्तो परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीलाई मात्र उच्च शिक्षा पाउने हक हुन्छ । नसक्नेलाई क्यारियर शिक्षा । गरिखाने शिक्षा । खुला मोडबाट आप्mनै गतिमा समकक्षी उच्च शिक्षा हासिल गर्ने व्यवस्था । यो व्यवस्था नगर्ने हो भने थपेको विद्यालयको अस्तित्व गुम्छ । एकलपथीय पाठ्यक्रमको मर्म हराउँछ । प्रश्न हो– यसतर्फ अग्रसर हुने कि नहुने ? हिसानले । विश्वविद्यालयहरूले । विश्वविद्यालय अनुदान आयोगले । पाठ्यक्रम विकास केन्द्रले । सबै विश्वविद्यालयका सहकुलपति बन्न वाध्य भएका शिक्षामन्त्रीले ।

२. झरेको कक्षाले कलेज माग्छ । प्राज्ञिक कलेज । सामुदायिक कलेज । गरिखाने सीप सिकाउने टर्सरी शिक्षा । प्राज्ञिक कलेजका सबै कोर्सको क्रेडिट ट्रान्सफर हुन्छ विश्वविद्यालयहरूमा । सामुदायिक कलेजका केही कोर्समात्र ट्रान्सफर हुन्छन् । टर्सरी शिक्षाका कोर्सहरूको प्राज्ञिक मान्यता नै हुँदैन । त्यसैले कोर्स ट्रान्सफर भन्ने शब्दावली नै बेकामे हुन्छ । बरु त्यहाँ पुलेसो कोर्सको व्यवस्था गर्नुपर्ने हुन्छ । यो प्रबन्ध गर्नका लागि सिटिइभिटी, विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयहरू, पाठ्यक्रम विकास केन्द्र, शिक्षा मन्त्रालय, हिसान, तथा अन्य सरोकारवालको सहबुझाइ तथा सहकार्य जरुरी हुन्छ ।

३. कक्षा ११ र १२ विद्यालयमा आउनुको अर्थ हो– स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधिमात्र उच्च शिक्षा हो । त्यसो हो भने उच्च शिक्षा सञ्चालन गर्ने संस्थाहरूले अनिवार्य रूपमा स्तरीय परीक्षा लिने प्रबन्ध गर्नुपर्छ । क्याम्पस तहको परीक्षा हुनसक्छ, अमेरिकामा जस्तो । जिल्ला तहको परीक्षा हुनसक्छ, पञ्चायतकालीन नेपालको कक्षा ५ को परीक्षा जस्तो । प्रदेश तहको परीक्षा हुनसक्छ, चीनको जस्तो । राष्ट्रिय तहको परीक्षा हुनसक्छ, टफेल, जिआरई जस्तो । प्रश्न हो, यो काम गर्ने कि नगर्ने ? गर्ने हो भने विश्वविद्यालयहरूले आआफ्ना क्याम्पसलाई जिम्मेवार बनाउन थालौँ । अथवा विश्वविद्यालय अनुदान आयोगलाई जिम्मेवार बनाउन लागौँ ।

४. सीप शिक्षा तथा प्राज्ञिक शिक्षा एउटै हो कि भिन्नै हो ? एउटै हो भने सोअनुसार सीपमा ज्ञान खोजौँ । विज्ञान खोजौँ ।  प्रविधि खोजौँ । दर्शन तथा सिद्धान्त खोजौँ । हर सीपमा ती कुरा खोज्न सक्ने शिक्षक तयार पारौँ । विद्यार्थी तयार पारौँ । त्यसैगरी हर सैद्धान्तिक तथा दार्शनिक भने भनाइएका कुरालाई सीपमा बदल्ने तर्किब सिकाऔँ । त्यसैमा ज्ञान, विज्ञान खोजाऔँ । प्रविधि खोजाऔँ । यसो नगर्ने हो भने शिक्षा व्यावहारिक भएन । वैज्ञानिक भएन । उत्पादनमुखी भएन भन्न छोडौँ । त्यसको बदलामा गरिखाने हो भने यी स्कुलमा जाऊ । पढिखाने हो भने यता आऊ भन्न थालौँ । अर्थात् संरचना एउटा बोक्ने रहर अर्काे गर्ने बानी छोडौँ । अर्काे शब्दमा भन्ने हो भने कि पढिखाने र गरिखाने संरचना जोडौँ । कि तिनका विषयवस्तु जोडौँ । कि हामी बेग्लै हौँ भन्न थालौँ । अहिलेको अलमले चिन्तन तथा बोली बदलौँ ।

५. गुजारामुखी खेती गर्नेका सन्तती व्यावहारिक शिक्षाका धनी हुन् । तिनले नजानेको कुरा हो– व्यवहारमा सिद्धान्त खोज्ने । दर्शन खोज्ने । प्रविधि चिन्ने । सीप चिन्ने । ज्ञान ठम्याउने । प्रविधिमुखी सहरियाका सन्तती ज्ञानका धनी हुन् । प्रविधिमा भएका तथा किताबमा भएका ज्ञान जान्ने । विज्ञान जान्ने । सिद्धान्त जान्ने । दर्शन जान्ने । तिनले नजानेको कुरा हो– कसरी व्यावहारिक बन्ने ? गरिखाने सीप के सिक्ने ? यसो हो भने निजी तथा सार्वजनिक स्कुलका विद्यार्थी अभिभावक तथा शिक्षकबीच दोहोरो संवाद गर्ने संस्कारलाई संस्थागत गरौँ । परियोजनाको रूपमा । अनुसन्धानको रूपमा । कार्यशालाको रूपमा । अन्य केही रूपमा ।

६. केमा क्यारियर बनाउने ? प्रक्षेपित जनशक्तिसँग मिलान गर्ने सिंगापुरीय पद्धतिमा ? चिनियाँ तरिकामा ? आफैँ जनशक्ति अनुकूल बन भन्ने अमेरिकी तरिकामा ? अन्य कुनैमा ? अनुभवले भन्छ– हाम्रा योजना र शिक्षाबीच सम्बन्ध छैन । कृषिविज्ञ कति चाहिन्छ– कृषिले भन्दैन । भनिहाले पनि कृषि स्कुल तथा क्याम्पसले तदनुसार जनशक्ति बनाउँदैन । जनशक्ति बने बनाइएका सिटिइभिटीका उत्पादन पनि स्वदेशी रोजगारीमा नै रमेका छैनन् । यही हालत इन्जिनियर, डाक्टर, नर्स, शिक्षक, वकिल, व्यवस्थापकको हकमा पनि लागू हुन्छ । यसको अर्थ हो– हाम्रा विद्यार्थीले रहरअनुसारको क्यारियर बनाउनुपर्छ । यो कुरालाई स्वीकार्ने हो भने क्यारियर संवाद हाम्रो खेती हुनुपर्छ । तदनुसार लमीको काम गर्न विद्यालयहरू तयार हुनुपर्छ । अपेक्षित क्यारियरमा उद्यमीकरण गर्न गराउने पालिका सरकार हुनुपर्छ । साँघुरो रोजगारीको क्षेत्र भएको देशले सोच्ने कुरा यही हो । सम्भावना देखाउने । तदनुसार क्यारियर शिक्षाका लागि लमीको काम गर्ने । सरकारको सहकार्यमा उद्यमीकरण गर्ने । एक अर्काको सहयोगमा सहकारी बन्ने । बनाउने । ७. क्रेडिट आवर्सको तरिका के हो ? निर्धारित विषयको शिक्षा के हो भन्ने बारेमा यकिन बनी तदनुसारको व्यवस्था गर्नु नै न्यायपूर्ण शैक्षिक बाटो हो । वर्णशङ्करीय (हाइब्रिड) संरचना, कोर्स, शिक्षणकला आदिको अभ्यास गर्ने हो भने हाम्रा परम्परागत अभ्यासमा फेरबदल गरौँ । अर्थात् निश्चित गन्तव्यमा जाऔँ । अहिलेको अलमले सोच र अभ्यासले हामीलाई त्यता लाँदैन । स्वीकारौँ । त्यसैमा आज तथा भोलिका सन्ततीको भविष्य छ ।

 

 

 

Thuprai - Books and E-books