After SEE Portal

पब्लिक विश्वविद्यालय स्थापनाको माग

Bridge Course

पब्लिक विश्वविद्यालय स्थापनाको माग गरिएको छ । नेपाल पब्लिक क्याम्पस सङ्घले आज आयोजना गरेको वेबिनारमा वक्ताहरुले नेपालका पब्लिक क्याम्पसहरुले विश्वविद्यालय स्थापना गरेमा त्रिभुवन विश्वविद्यालयले भोग्दै आएको अव्यवस्थापन तथा बोझलाई कम गर्न सहज हुने तर्क गरे ।

समुदाय र सरकारको लगानीमा यस्तो विश्वविद्यालय स्थापना गर्न सकिने उल्लेख गर्दै वक्ताहरुले सामुदायिक विश्वविद्यालय स्थापना हुन सके आर्थिकरुपमा विपन्न विद्यार्थीहरुको पहुँचमा उच्च शिक्षा हुनसक्ने औँल्याए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ विश्वविद्यालय स्थापना गर्ने कुरा दीर्घकालीन योजना हुने बताउँदै यसका लागि आफूहरु सकारात्मक रहेको बताए ।

प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रदेशमा पाँचदेखि १० वटासम्म नयाँ विश्वविद्यालय स्थापना गर्ने परिकल्पना गरिएको बताउँदै भने, “चियाखेतीका लागि छुट्टै विश्वविद्यालय किन नबनाउने ? आवश्यकताका आधारमा नयाँ विश्वविद्यालय स्थापना गर्न सकिन्छ ।”

नेपालमा २०३७ सालबाट सामुदायिक क्याम्पसको थालनी भएको हो । हालसम्म देशभरि ५४० वटा सामुदायिक क्याम्पस सञ्चालित छन् । विश्वविद्यालय अनुदान आयोगले यस्ता क्याम्पसहरुलाई पाँचदेखि १० प्रतिशतसम्म अनुदान दिने गरेको छ । हालसम्म ३४ वटा सामुदायिक क्याम्पसलाई एक्रिडिटेड गरिएको छ भने पाँच वटाले गुणस्तर प्रत्यायन प्राप्त गरिसकेका छन् । यस्ता क्याम्पसहरुमा करिव १५ हजार शिक्षक कार्यरत छन् । यस्ता क्याम्पसको ६० प्रतिशत भौतिक पूर्वाधार सम्पन्न रहेका छन् भने बाँकी सामुदायिक विद्यालयमा सञ्चालित छन् ।

नेपाल पब्लिक क्याम्पस सङ्घका अध्यक्ष शिवराज सञ्जेलले सामुदायिक क्याम्पसमा शिक्षक तथा कर्मचारीको स्तर निर्धारण नभएको गुनासो गर्दै भने, “नेपाल पब्लिक विश्वविद्यालय स्थापना हुन सके त्रिविको बोझ कम भई व्यवस्थापनमा सहयोग पुग्नेछ ।” उनले यस्तो विश्वविद्यालय स्थापना गर्न समुदाय इच्छुक रहेको बताए ।

शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लले पब्लिक क्याम्पसहरुलाई गाभेर पब्लिक विश्वविद्यालय स्थापना गर्न सकिने बताए । “सामुदायिक क्याम्पसहरुलाई एकीकृत गरेर विश्वविद्यालय स्थापना गर्न सकिन्छ” उनले थपे, “यसबाट उच्च शिक्षामा ३० प्रतिशत विद्यार्थी वृद्धि गर्ने योजना सफल हुन सक्दछ । प्रदेशमा रहेका १५, १६ वटा सामुदायिक क्याम्पसलाई गाभेर विश्वविद्यालय स्थापना गर्न सकिनेछ ।” शिक्षाविद् डा. वाग्लेले भाषण वा गफ गरेर गुणस्तर हासिल हुन नसक्ने भन्दै गुणस्तरको विषय लगानीसँग जोडिएको हुन्छ भने ।

प्राविधिक शिक्षाका विशेषज्ञ डा. रामहरि लामिछानेले पब्लिक क्याम्पस स्थापना गर्न मुख्य गरी प्रतिवद्धता आवश्यक पर्ने धारणा व्यक्त गरे । उनले नेपाल बाहेक अन्य देशमा शैक्षिक कार्यक्रम रोकिएको छैन जबकी नेपालमा अझै पनि परीक्षाकै विषयमा अन्योल रहेको प्रसङ्ग गर्दै बताए, “सङ्घीय र प्रादेशिक सरकारको राष्ट्रिय रणनीतिक योजना के छ ? त्यसका आधारमा पाठ्यक्रम, शिक्षण सामग्री, मानव स्रोत लगायतका विषय प्रष्ट हुनुपर्दछ ।”

काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. बालचन्द्र लुँइटेलले हाल नेपालका सबै विश्वविद्यालयलाई पुनः संरचना गर्नु जरुरी छ भने । उनले प्रतिविश्वविद्यालय १० देखि १५ क्याम्पस रहने गरी विश्वविद्यालय स्थापना गर्न सकिने बताउँदै एउटा विश्वविद्यालयमा बढीमा ४० हजारसम्म विद्यार्थी रहनुपर्ने सुझाव दिए ।  

A Levels MA
Thuprai - Books and E-books