सेवा आयोगका अध्यक्षमाथि भएको आक्रमण प्रति डिनहरूको आपत्ति

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि भएको आक्रमण प्रति डिनहरूले विरोध जनाएका छन् । विश्वविद्यालयमा कार्यरत विभिन्न संकायका डिनहरूले संयुक्त विज्ञप्ति जारी गरी विरोध गरेका हुन् ।

अध्यक्षको निवासमै पुगेर भौतिक आक्रमण गर्नु निन्दनीय भएको भन्दै डिनहरूले विरोध गरेका छन् । विज्ञान तथा प्रविधि संकाय, इन्जिनियरिङ संकाय, चिकित्साशास्त्र संकाय, व्यवस्थापन संकाय, कला, कानुन तथा शिक्षा शास्त्र संकायका डिनले संयुक्त विज्ञप्ती जारी गर्दै विश्वविद्यालयको सम्मानित पदाधिकारीलाई निजको निवासमा गएर शारीरिक दुव्र्यवहार गरिएको घटना प्रति घोर भत्सर्ना गरेका छन् ।

‘विश्वविद्यालय जस्तो गरिमामय संस्थामा कुनै पनि समस्याको समाधान वार्ता र छलफलको माध्यमबाट हुनुपर्दछ भन्ने सर्वव्यापी मान्यता रही आएको सन्दर्भमा विश्वविद्यालयको सम्मानित पदाधिकारीलाई निजको निवासमा गएर शारीरिक दुव्र्यवहार गरिएको घटना प्रति घोर भत्सर्ना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘शैक्षिक संस्थाका जिम्मेवार पदाधिकारीमाथि भएको गैरशैक्षिक क्रियाकलापले विश्वविद्यालयको गरिमामा आँच आउनुका साथै पदाधिकारीलाई प्राज्ञिक गतिविधि निर्वाध रुपमा अगाडी बढाउन हतोत्साहित बनाएको छ ।’

साथै विश्वविद्यालयमा गरिएको तालाबन्दी अबिलम्ब खुलाउन र परीक्षाको नियमितताको लागि उपयुक्त वातारण तयार गर्न सबै सरोकारवालाहरुसंग डिनहरूले आग्रह  समेत गरेका छन् ।

आफ्ना माग सम्बोधन नभएको भन्दै पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई उनको निवासमै पुगेर विद्यार्थीहरुले जेठ २९ गते कालोमोसो दलेका थिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal