A Levels MA

दलित छात्रलाई विद्यालयमा प्रतिबन्ध

धनुषा (कास)– महोत्तरीमा डोम समुदायका छात्रलाई प्रधानाध्यापकले विद्यालय प्रवेशमा रोक लगाएका छन् । देशभर विद्यालय भर्ना अभियान चलिरहँदा विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीलाई फूलमाला लगाएर स्वागत गर्ने जिम्मेवारी पाएका छन् । तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै निर्वाचन क्षेत्रमा विद्यालय पढन गएका डोम जातिका छात्रा विद्यालयबाट निकालिएका छन् । शिक्षकले नै डोम विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएका हुन् ।

भंगहा नगरपालिका–९ हरिनमरीस्थित किशोरी जनता माविका प्रधानाध्यापक (प्रअ) मनोहर यादवले डोम विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको पीडित परिवारले बताएका छन् । कक्षा ७ मा अध्ययनरत छात्र मुकेश मल्लिकलाई प्रअ यादवले विद्यालय प्रवेशमा रोक लगाएका हुन् । नियमितझैं विद्यालय पढन आएका मुकेशलाई मंगलबार प्रअ यादवले कहिल्यै नआउनु भन्दै विद्यालयबाट निकालिदिएको आमा अनिता देवीले बताइन् ।

विद्यालयका लेखापाल राकेश यादवले विद्यालय बन्द गरी हजुरआमाको शुद्धिको भोज गरेका थिए । विद्यालय परिसरमै फालिएको भोजको पात मुकेशको घरमा रहेका सुँगुरले छरेका थिए । विद्यालय समयमा गन्हाएको भोजको पात फ्याँक्न नमानेपछि विद्यालयबाट निकालिएको मुकेशले बताए । तर, प्रअ यादवले मुकेश बुधबार पढन विद्यालय आएको दाबी गरे । 
कक्षा ७ मा अध्ययनरत मुकेशका सहपाठी ऋतिकरोशन दासका अनुसार प्रअ यादवले उनलाई चर्को स्वरमा विद्यालय नआउनु भन्दै निकालेका थिए । विद्यालयका पूर्वविद्यलाय व्यवस्थापन समितिका अध्यक्ष रामविहारी यादवले प्रअले अमानवीय काम गरेको बताए । आर्थिक अवस्था कमजोर हुँदा शिक्षाबाट वञ्चित दलित समुदायका छात्रलाई विद्यालयमा आउन प्रतिबन्ध लगाएर अमानवीय काम गरेकाले दोषीलाई दण्डित गर्नुपर्ने यादवले माग गरे ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीले पीडित छात्र र विद्यालयका शिक्षकबीच छलफल गरी दोषीलाई कारबाही गरिने बताए । विद्यालय आउन प्रतिबन्ध लगाएका प्रअले तीन वर्षअघि राकेश मल्लिकलाईसमेत कुटपिट गरी विद्यालयबाट निकालेका थिए । प्रअ यादवकै कारण कक्षा ६ मा अध्ययनरत राकेश फेरि विद्यालय जान सकेनन् । 

Thuprai - Books and E-books