A Levels MA

विद्यार्थीलाई प्रशिक्षण दिदै दैलेख प्रहरी

दैलेख, २ चैत (रासस) : जिल्ला प्रहरी कार्यालय दैलेख १५ दिनदेखि दिनहुँ विद्यार्थी खोज्दै विद्यालय चाहार्दै हिँडेको छ । विद्यालय प्रशासनसँग समन्वय गर्दै दैलेख सदरमुकामभित्रका अधिकांश विद्यालयमा प्रहरीले कक्षा ८ र ९ मा अध्ययन विद्यार्थी र कक्षा ११–१२ मा अध्ययन गर्ने विद्यार्थीलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन थालेको छ । 

विद्यार्थीलाई जम्मा गरेलगत्तै जिल्लाका प्रहरी प्रमुख, इलाका, प्रहरीचौकीबाट खटिएका सुरक्षा प्रमुखले लागुऔषध प्रयोगले हुने सामाजिक विकृति, बालविवाहले पार्ने सामाजिक असर, साइबर क्राइम, सडक सुरक्षाजस्ता विषयबारे जानकारी दिने गरेको छ । समाजमा हुने विभिन्न अपराधजन्य गतिविधिमा कसरी सहजै सूचना प्रहरी समक्ष पु¥याउनेबारेमा पनि प्रहरीले विद्यार्थीसँग छलफल गर्ने गरेको छ । 

फागुन महीनाको अवधिभरी दैलेखका १३० विद्यालयमा अभियान सक्ने उद्देश्यले प्रहरीका विभिन्न युनिटमा रहेका प्रमुख अहिले गाउँ÷गाउँका विद्यालयमा पुगेर विद्यार्थीसँग जनता र प्रहरीको भूमिकाका बारेमा जानकारी गराइएको थियो । अहिलेसम्म १०० स्थानमा अभियान सकिएको दैलेख प्रहरीले जानकारी दिएको छ । 

समाजमा हुने विभिन्न हिंसा, लागुऔषध, बालअधिकार हनन्, मानवअधिकार हनन्, अपराध हुनसक्ने सम्भावित कारण, सामाजिक गतिविधि, प्रहरी र जनताको भूमिकाका बारेमा विद्यार्थीलाई जानकारी गराइएको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । “म आफै पनि धेरै ठाउँमा पुगेको छु”, पोखरेलले भनुभयो, “समाजमा हुने सबैखाले अपराधको बारेमा विद्यार्थीलाई जानकारी गराएपछि अपराध न्यूनीकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।” 

दैलेखमा लागुऔषध प्रयोगमा युवा विद्यार्थी धेरै प्रयोग भएको कुरालाई यो अभियानले प्रभावकारिता ल्याउने अभिभावक बताउनुहुन्छ । दैलेखमा धेरै युवा चरणबद्ध रुपमा लागु औषधमा फस्दै गएकाले प्रहरीको यो अभियानले समाजमा हुने सबै खाले अपराध न्यूनीकरणसँगै मानवअधिकारको रक्षा हुने मानवअधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले जानकारी दिनुभएको छ । 

– नरबहादुर रिजाल 

Thuprai - Books and E-books