A Levels MA

पाठ्यक्रम, तालिम र शिक्षक

नीति र अभ्यासको खाडल साह्रै ठूलो छ । पाठ्यक्रम वा शिक्षाको राष्ट्रिय नीतिलाई हेर्यौँ भने यति प्रोग्रेसिभ देखिन्छ कि त्यो कक्षाकोठामा पुग्दा पानी पानी भइसक्छ । पाठ्यक्रमको प्रस्तावनामा हेर्यौँ भने वा तिनको अङ्ग्रेजी रुपान्तरण विदेशीले पढे भने नेपालमा हरेक दिन कक्षाकोठामा विद्यार्थी केन्द्रीत सिकाइ हुन्छ, विद्यार्थीले खोजी गर्छन्, शिक्षकले सहयोग गर्छन्, चुनौतिपूर्ण गृहकार्य दिन्छन्। त्यस्तो खालको कक्षाको परिकल्पना गरिएको छ । तर केही अपवाद छोडेर कक्षाकोठामा हामी यति पुराना छौँ कि परिस्थितिमा परिवर्तन भए पनि मनःस्थितिमा कहीँ पनि परिवर्तन भएको देखिदैन । उदाहरणः एकीकृत पाठ्यक्रम । एकीकृत पाठ्यक्रमको धेरै तरिका र बाटा छन् र हामी ट्रान्जिसनल, मल्टी र इन्टरडिसिप्लिनरी ढाँचामा छौँ । त्यसलाई कक्षाकोठामा लैजान वातावरण, तौरतरिका मिलेन भनेर धेरै मानिसलाई गाली गर्न सकिन्छ । हामीलाई पनि गाली गर्न सकिन्छ । तर शिक्षकले त्यसका लागि तयार भएका सामग्री पनि नपढिदिने रोग छ । शिक्षक तालिम केन्द्रमा पनि त्यसको मिहिन अध्ययन नहुने । राम्रोसँग र गहन अध्ययन गर्ने, त्यसका सन्दर्भ सामग्री खोज्ने काम पटक्कै नहुने रहेछ । त्यसैले खाडल कहाँ भयो भन्दा नीति देखिन्छ तर अभ्यासमा त्यसको उल्टो देखिन्छ; हामीहरुको बिद्यालयको पठन संस्कार, संस्कृति, सिकाइ संस्कार र संस्कृतिसँग जोडिदै जोडिदैन  । किनभने नयाँ पाठ्यक्रम मानिसले पढ्दैन । पढे पनि बुझ्न चाहँदैन । बुझे पनि प्रयोग गर्न चाहँदैन । जुन ढर्रामा काम गर्ने वा नगर्ने बानी बसेको छ त्यसैमा काम गर्यो । यो खालको कुरा अहिले मात्र होइन। राष्ट्रिय शिक्षा पद्धतिबाटै नीतिमा ठूला ठूला कुरा लेखियो तर कक्षाकोठामा गएन । अहिले झन् धेरै बढ्दो छ । त्यो किन हुन्छ भन्ने कुराको खोजी पनि महत्वपूर्ण विषय हो ।

किन निरन्तर मूल्याङ्कन प्रणाली असफल हुन्छ ? कक्षाकोठामा किन पुग्दैन ? एकीकृत पाठ्यक्रम पनि किन कक्षाकोठामा पुग्दैन ? उदार कक्षोन्नति नीति भनिन्छ, त्यो पनि कक्षाकोठामा सहि तरीकाले पुग्दैन । किन पुग्दैन ? किन त्यसको मर्मअनुसार काम हुँदैन ? किन दस्तावेजमा लेखिएअनुसार कक्षाकोठामा विद्यार्थीले अनुभुत गर्न पाउँदैनन् ? किन प्रधानाध्यापकले, शिक्षाकै काम गर्ने कर्मचारीले, पाठ्यक्रममा काम गर्नेले, तालिममा काम गर्नेको मनमनमा नितिमा लेखिएको कुरा पुग्दैन ? मैले अघि पनि भने, मानिसहरुले पाठ्यक्रम हेर्दैनन् पढ्दैनन्, बुझ्दैनन्, अभिमुखी पुग्दैन । सिकाइ संस्कृति, शिक्षाको संस्कृति, कक्षाकोठाको संरचना र हामीहरुको समाजको सामन्तवादी संरचनाले धेरै कुरा हुनै दिँदैन । त्यो सामन्तवाद परम्परागतभन्दा पनि आधुनिक सामन्तवादको (जस्तोः  पदसोपानलाई काम नगर्ने कडिको रुपमा प्रयोग गर्ने) प्रभाव धेरै परेको देखिन्छ । त्यसको सटल पक्षलाई हाम्रा राजनीतिक सङ्घसङ्गठन, पेसागत सङ्घसङ्गठनले आन्तरिकीकरण गरेका छन् ।

निरन्तर मूल्याङ्कन प्रणाली किन राम्रो सँग लागू भएन त ? अनुभवजन्य सिकाइ किन लागू भएन ? कमाउँदै सिक्दै किन सबैतिर लागू भएन ? थोरै ठाउँमा मात्र भयो, धेरै ठाउँमा हुनै सकेन । किन भएन त ? यसको एउटै जड के छ भने उच्च शिक्षा । मैले निश्चित संकायको गुणस्तर खस्किएको भन्न खोजेको होइन, सबैको गुणस्तर खस्किएको छ । यसमा समग्र उच्च शिक्षाको खस्किएको ढाँचा आउँछ । उच्च शिक्षा विद्यार्थी केन्द्रीत गर्ने वित्तिकै इन्जिनियरिङ पढाउनुस्, विज्ञान पढाउनुस्, जोसुकै शिक्षक भए पनि उत्तिखेरै विद्यार्थी केन्द्रीत विधि प्रयोग गरीहाल्छ किनभने उसले चार वर्ष त्यसरी नै अनुभव गरेको छ। आज पनि सेमेस्टर भनेका छौँ, तर लेक्चरबाहेक अरू सिकाइ विधि धेरै कम मात्रमा प्रयोग भएको देखिन्छ । स्नातक तहको समग्र शिक्षण सिकाई  सुधार नभएसम्म विद्यालय सुधार हुन गाह्रो छ।

विद्यालय सुधारमा साह्रै धेरै काम भएको छ । २०२८ सालपछि हरेक दुई, तीन वर्षमा नयाँ नयाँ कुरा आएको छ । २०४६ सालपछि धेरै प्रयोग भए । नीतिगत तहमा धेरै कुरा भए । धेरै कुरा लेखिए । हामीले धेरै अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्यौँ। तर त्यसको लागि न शिक्षक छन् न त ती कार्यान्वयन गर्ने प्रधानाध्यापक छन् । ५० बर्ष देखि धेरै विद्यालय सुधारको बातावरण बनेकै छैन । शिक्षकले त बीएड अथवा बीए, बिएस्सीको डिग्री लिएको छ कम्तिमा । जे डिग्री गरे पनि केही फरक छैन किनभने विश्वविद्यालयको पढाई तात्विक रूपमा सिकारु केन्द्रित छँदैछैन । त्यसलाई पटके तालिमले सुधार्छ ? बडो गजबको कुरा छ । पटके तालिमले सुधार्दैन ।  केले सुधार्छ भने निरन्तर हस्तक्षेप र सिकाइमुखि सहकार्यले । शिक्षकले सिक्नुपर्छ भन्ने कुरा स्थापित भयो  र शिक्षक सिकाइको राम्रो व्यवस्थापन भयो भने सुध्रिन सक्छ । प्रधानाध्यापकले म सिकारू हो भन्ने भएपछि सुध्रिन सक्छ ।

विद्यालयमा प्रधानाध्यापक र शिक्षकको काम के हो त ? उहाँहरु कार्यान्वयनकर्ता हो । उहाँहरुलाई जागिर दिइएको छ । तलब दिइएको छ । कार्यान्वयन गर्ने वातावरण छ वा छैन भन्ने पनि खोजीको विषय हो । सोझो हिसाबले भन्ने हो भने पाठ्यक्रमको कार्यान्वयन  शिक्षक र प्रधानाध्यापकले नै गर्ने हो। विद्यालय व्यवस्थापन समितिले होइन, कुनै नेताले होइन, मन्त्रीले पनि होइन, प्रधानमन्त्रीले पनि होइन, पालिकाको अध्यक्षले पनि होइन, मेयरले पनि होइन, त्यो गर्ने शिक्षक र प्रधानाध्यापकले नै हो । मैले कक्षा ६ को गणित अध्यापन गर्छु भने त्यो मेरो जिम्मा हो त्यो । त्यहाँ त कोही आएर पढाइदिँदैन । त्यो काम नै राम्रोसँग भैदियो भने धेरै कुरा हुन्छ । किन भएको छैन भन्ने कुराको खोजी हामीले गर्नुपर्छ । गणित, विज्ञान विषयलाई यसरी पढाउनुपर्छ, सन्दर्भसँग जोड्नुपर्छ, विद्यार्थीलाई खोजी गर्नसक्ने बनाउनुपर्छ- यो सबै गर्ने शिक्षक र प्रधानाध्यापकले हो ।

अर्को पाटो पनि छ । कतिपय बिद्यालयमा शिक्षक नै पठाइदिएको छैन । अर्को कुरा पठाइएको शिक्षकको तयारी नै पुगेको छैन । ती शिक्षकले डिग्री त प्राप्त गरे तर शिक्षक बन्नका लागि तयारी भएको छैन । इन्टर्नसिप गरेको छैन । बच्चाको अध्ययन गरेको छैन । विद्यालय बुझेकै छैन । पहाडको मानिस, मैथिलीमात्र बोल्ने समुदायमा जान्छ, उसले त्यहाँको भाषा पनि सिकेको हुँदैन, यस्तो स्कुल हुन्छ भन्ने पनि थाहा छैन, यो सबै उसको परिकल्पनाभन्दा बाहिरको हुन्छ । अर्कोतिर सिकाउनु, पढाउनु भनेको विश्वविद्यालयमा आफूले जसरी पढ्यो,  जसरी सिक्यो, त्यही कुरा कक्षाकोठामा लिएर जानुपर्छ भन्ने भएको छ। उसले लेक्चर विधिभन्दा अरु देखेकै छैन । उसले कोर्स पूरा गरेर तीन घण्टे परीक्षाबाहेक देखेकै छैन भने उसले कसरी विद्यालयमा निरन्तर मूल्याङ्कन प्रणाली लागू गर्न सक्छ ? उसले एउटा मुख्य विषय लिएर स्नातक पास गरेको छ । मल्टिडिसिप्लिनरी ढाँचा देखेकै छैन । उसले एकीकृत पाठ्यक्रम वा मल्टिडिसिप्लिनरी पाठ्यक्रम लागू गर्नै सक्दैन । जे कुरा अनुभव भएको छैन त्यो कुरा हामीले अपेक्षा गर्नै सक्दैनौँ । तालिम केन्द्रहरुले पनि यो कुरालाई मनन् गरेकै छैन । तालिम केन्द्रहरुमा प्रस्तोता बोलाउँछौँ । प्रस्तोतालाई एक दिन आएर तीन घण्टा यस्तो गरिदिनुहोस् भनिन्छ । त्यसरी पनि तालिम हुँदैन नि । प्रोफेसनल भएन । प्रेजेन्टेसन दिने, प्रस्तुति दिने, तथाकथित विज्ञ बोलाउने एउटा कुरा होला । वाक द टक भन्ने कुरा भन्नलाई सजिलो छ गर्न गाहे छ । त्यो कुरा भएको छैन ।

केही दिनअघि एक जना शिक्षकले मलाई के भन्नुभयो भने यतिका वर्ष भइसक्यो पाठ्यक्रम परिवर्तन भएको, हामीलाई अभिमुखीकरण छैन । मेरो मनमा दुईवटा कुरा आयो । उहाँले उठाउनुभएको कुरा ठिक हो । अभिमुखीकरण किन नगरिदिएको होला ? पाठ्यक्रम विकास केन्द्रले गरिदिएको भए पनि हुन्थ्यो । तालिम केन्द्रहरुले पनि गरिदिएको भए हुन्थ्यो भन्ने मलाई तत्काल लाग्यो । दोस्रो कुरा सोधेँ, “कति पढ्नुभएको छ म्याम ?” उहाँले “मैले स्नातकोत्तर गरेको छु” भन्नुभयो । केमा भन्दा एमएड एजुकेसनमा । पाठ्यक्रम सिडिसीको वेबसाइटमा छ नि त भन्दा उहाँले “हो, त्यहाँ पनि छन् सामग्री, पालिकामा पनि ल्याएको रहेछ देखेँ” भन्नुभयो । मैले यति भन्ने धृष्टता गरेँ– तपाईँले पढ्नु भएको भए पनि हुन्थ्यो नि । सामाजिक सञ्जाल छ । युट्युबमा पनि पाठ्यक्रमका बारेमा सामग्री पाइन्छन् । ती हेरेर पनि सिकिन्थ्यो होला नि ? भन्दा उहाँले “होइन हामीलाई तालिम त दिनुपर्यो नि” भन्नुभयो । तालिम के हो ? कसरी बुझिन्छ ? तालिमले निर्माण गरेको संस्कृति के हो भने कसैले भनिदियोस्, सुनाइदियोस् र अनि त्यसैका आधारमा केही बुझेको छु भन्ने।

एक जना उद्योगपतिको भनाइ उध्रित गर्न चाहन्छु– हरेक हप्तामा एउटा नयाँ किताब पढ्नुभयो भने तपाईँ धनी हुनुहुन्छ । पैसासँग त मलाई सरोकार भएन तर शिक्षक साथीले हरेक हप्ता एउटा नयाँ आइडिया प्राप्त गरौँ । किताब नै पढौँ म भन्दिन तर नयाँ आइडियाको बारेमा पढौँ जुन कुरा कक्षाकोठामा जान सक्छ । यसले धेरै फरक पार्छ । हाम्रो जीवन र जगतलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँछ । हरेक साता नयाँ किताब पढियो भने डिप्रेसन पनि हुँदैन । नयाँ विचारको खोजी गर्न हरेक हप्ता कम्तीमा एउटा लेख पनि पढ्न सकियो । म पनि नयाँ लेख नपढेर कक्षाकोठामा जानै सक्दिन । विद्यार्थीले पनि मलाई गाह्रो पार्छन् । मैले जसलाई पढाउँछु उनीहरुको चाहना पनि त्यस्तै हुन्छन् । जसलाई सुपरभाइज गर्छु उनीहरुका पनि चाहना त्यस्तै हुन्छन् । मेरो त बाध्यता नै छ, नपढी हुँदैन । सबै शिक्षक साथीहरु चाहे इसिडीका हुन् चाहे माध्यमिक तहका हुन लाई मेरो अनुरोध छ सार्वजनिक विद्यालयका साथीहरुले हप्तामा एउटा कुरा पढौँ । शिक्षासम्बन्धी एउटा लेख पढौँ । कुनै नयाँ विचारसम्बन्धी । अरु विधाका पनि लेख वा पुस्तक पढौँ र त्यसलाई म कसरी सिकाइमा प्रयोग गर्न सक्छु, मेरो कक्षालाई राम्रो गर्न सक्छु भनेर सोचौँ ।  

काठमाडाैँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन डा. लुइँटेलकाे सम्वादमा आधारित । डा. लुइँटेलकाे धारणा नियमित प्रकाशन हुनेछ ।

Thuprai - Books and E-books