After SEE Portal

कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जन

Bridge Course

 कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ ।

२०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तरराष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले नयाँ पाठ्यक्रम तयार गरेको हो । विश्वविद्यालयले भारत र अमेरिकाका विज्ञ प्राध्यापकहरु समेतको परामर्शमा पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा नेपाली विज्ञ, किसानसँग समेत परामर्श गरिएको थियो ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा सुवीर सिंहका अनुसार कृषि स्नातक, पशु चिकित्सा तथा पशुपालन स्नातक, मत्स्य विज्ञान स्नातक र वन विज्ञान स्नातकको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू हुने गरी परिमार्जन गरिएको हो । पशु चिकित्सामा पाँच वर्ष पढाइ हुन्छ भने अन्य सङ्कायमा चारवर्षे पढाइ हुँदै आएको छ ।

यसअघिको पाठ्यक्रममा ३० देखि ३३ प्रतिशत प्रयोगात्मक हुने गरेकामा नयाँ पाठ्यक्रममा ४० प्रतिशत प्रयोगात्मक रहेको उनले जानकारी दिए । विद्यार्थीहरुले प्रयोगात्मक अध्ययनका क्रममा प्रत्यक्ष किसानसँग काम गर्नुपर्ने हुन्छ ।

पाठ्यक्रमले अहिलेको वातावरण परिवर्तन, नयाँ नयाँ रोगको पहिचान, अनुसन्धानका विधिहरु, अध्ययनका क्रममा सूचना प्रविधिको प्रयोग जस्ता विषय समावेश गरिएका छन् ।

यसैगरी, विद्यार्थीको तनाव कम गर्न योगा, शारीरिक व्यायाम, शारीरिक शिक्षा, नैतिक शिक्षा पाठ्यक्रममा नै समावेश गरिएको छ । पाठ्यक्रम तयार गर्दै कृषिसँगै अन्य विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, रोजगारदाता, किसानलगायतसँग निरन्तर संवाद र छलफल गरेर तयार गरिएको हो ।

पाठ्यक्रम तयार गर्दै गर्दा पहिलो र दोस्रो वर्ष आधारभूत अध्ययनलाई जोड दिइएको छ भने बाँकी वर्षहरुमा सीप र प्रविधिसँग जोडेर काम गर्ने गरी पाठ्यक्रम तयार गरिएको छ । पाठ्यक्रम लागू भएसँगै यसको मूल्याङ्कनको काम थालिएको उनले जानकारी दिए ।

पढाउने जनशक्तिको मूल्याङ्कन गरेर केही कमीकमजोरी भएमा सुधार गर्दै जानुपर्ने उनले बताए। यसको मूल्याङ्कन अमेरिका स्थिति टस्किजी विश्वविद्यालयका प्राध्यापकहरुले समेत गरिरहका छन् ।

उनहरुले दिने सुझावका आधारमा आवश्यकताअनुसार परिमार्जन गर्दै लगिने जनाइएको छ । प्राध्यापकहरुले पढाएका विषयमा स्वयं विद्यार्थीहरुलाई समेत मूल्याङ्कन गर्न लगाइएको छ । विद्यार्थीहरुले अनलाइनमार्फत सुझाव दिने व्यवस्था मिलाइएको छ ।

नयाँ पाठ्यक्रम एक हजार ९५ विद्यार्थीले अध्ययन गरिरहेका छन् । विश्वविद्यालयका कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठले नयाँ पाठ्यक्रमसँगै विद्यार्थीको आकर्षण बढ्ने बताए । विश्व बजारमा उपयोग हुने जनशक्ति उत्पादन हुने भएकाले युवा पुस्तालाई केही हदसम्म नयाँ पाठ्यक्रमले आकर्षण गर्ने उनको भनाइ छ ।

प्रयोगात्मक कक्षा बढी हुँदै गर्दा व्यावहारिक र बजारमुखी जनशक्ति उत्पादन हुने उनले बताए । समय अनुकूल पाठ्यक्रम परिमार्जन गर्दै जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए ।

विश्वविद्यालय स्थापना भएपछि तेस्रोपटक पाठ्यक्रम परिमार्जन गरिएको हो । यो पटक पाठ्यक्रम परिमार्जन गर्दै गर्दा युवा जनशक्ति पलायनको अवस्थालाई रोक्ने गरी बृहत् अध्ययन गरेर विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको हो ।

A Levels MA