पाठ्यक्रम विकास केन्द्रले आधारभूत तह कक्षा १–३ मा २०७७ सालदेखि एकीकृत पाठ्यक्रम लागु गरेको छ । परीक्षणका लागि वि. सं. २०७५ मा तयार गरिएको कक्षा १–३ को एकीकृत ढाँचाको यो पाठ्यक्रम शैक्षिक वर्ष २०७६ मा कक्षा १ मा परीक्षण गरी सो परीक्षणबाट प्राप्त पृष्ठपोषण समेतलाई आधार मानेर परिमार्जित स्वरूपमा तयार गरी नेपालका सबै विद्यालयमा शैक्षिक वर्ष २०७७ देखि कक्षा १ बाट कार्यान्वयन प्रारम्भ भयो ।
यो पाठ्यक्रम एकीकृत ढाँचामा विकास गरिएको छ । सामाजिक अध्ययन, स्वास्थ्य तथा शारीरिक शिक्षा वातावरण, विज्ञान तथा वातावरण र सिर्जनात्मक कला विषयलाई अन्तर विषयक ढाँचाको पाठ्यक्रमका रुपमा हाम्रो सेरोफेरो विषय क्षेत्रमा एकीकरण गरिएको छ ।
विषयगत सक्षमता, सिकाइका क्षेत्र, सिकाइ उपलब्धि तथा विषयवस्तुका आधारमा एकीकृत पाठ्यक्रमको निर्धारित ढाँचाअनुसार सर्वप्रथम सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, सिर्जनात्मक कला र स्वास्थ्य तथा शारीरिक शिक्षालाई हाम्रो सेरोफेरो विषयक्षेत्रका रूपमा विभिन्न ११ अन्तरविषयक थिममा एकीकृत गरिएको छ ।
त्यसै गरी हाम्रो सेरोफेरोमा निर्धारण गरिएका थिमहरूमा समावेश हुने गरी गणित, नेपाली र अङ्ग्रेजी विषय केही बहुविषयक थिमहरू निर्धारण गरिएको छ । यी थिमहरूभन्दा बाहिर राख्न उपयुक्त हुने सिकाइ उपलब्धिलाई सम्बन्धित विषयगत थिम वा क्षेत्रमा समावेश गरेर पठनपाठन गराउने पाठ्यक्रमले बाटो खेलेको छ ।
यसमा पाठ्यक्रम परिमार्जनको सन्दर्भ तथा औचित्य, पाठ्यक्रम विकास तथा परिमार्जन प्रक्रिया, पाठ्यक्रम विकासमा अवलम्बन गरिएका सिद्धान्तहरू र एकीकृत ढाँचाको पाठ्यक्रम निर्माण प्रक्रिया उल्लेख गरिएको छ ।
त्यसै गरी यस पाठ्यक्रममा शिक्षाका राष्ट्रिय उद्देश्य, विद्यालय शिक्षाको तहगत संरचना, विद्यालय शिक्षाको पाठ्यक्रम संरचना, आधारभूत शिक्षाका तहगत सक्षमता (कक्षा १–३), आधारभूत तह (कक्षा १–३) को विषयगत पाठ्यक्रम, एकीकृत पाठ्यक्रममा समावेश गरिने व्यवहारकुशल सिपहरू र एकीकृत पाठ्यक्रमको समग्र संरचना समावेश गरिएको छ । यसमा सिकाइ सहजीकरण विधि तथा प्रक्रिया, विद्यार्थी मूल्याङ्कन, माध्यम भाषाको छनोट, पाठ्यक्रम कार्यान्वयन योजना र पाठ्यक्रम मूल्याङ्कन, परिमार्जन तथा सुधारको प्रक्रियासमेत समावेश गरिएको छ ।
तर, इडियुपत्रले गरेको सामुदायिक तथा संस्थागत विद्यालयको स्थलगत अध्ययनमा अधिकांश विद्यालयले पाठ्यक्रमको मर्म अनुरुप अध्यापन गराउन नसकेको पाइयो । एकीकृत पाठ्यक्रमले एक अर्को विषयलाई अन्तर विषय सम्बन्ध स्थापित गरेर सिकाउने उद्देश्य राखिएको भए पनि अधिकांश विद्यालयले विषयगत रुपमा नै शिक्षण गराउँदै आएका छन् ।
हरेक विद्यालयमा कार्यरत शिक्षकले कक्षा एकमा कुन क्रियाकलाप गराउँदै हुनुहुन्छ भनेर सोद्यो भने शिक्षकले सहजै म सामाजिकको यो .... पाठ पढाउँदै छु भनने जवाफ दिने गरेका छन् । पाठ्यक्रमले एकीकृत गरेका विषयलाई अलग्याएर त्यो अर्कै थिमको पाठ हो नि भनेर सोद्यो अने अधिकांश शिक्षकले थिम के हो थाहा नभएको तर सामाजिकको यो पाठ, सिर्जनात्मक कला विषयको यो पाठ पढाउँदै छु भनेर गर्वका साथ शिक्षकहरू बताउँछन् ।
तालीममा माविका शिक्षक सहभागी
पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम लागु गरेकै वर्ष शिक्षकलाई अभिमुखीकरण तालिम प्रदान गरेको थियो । उक्त तालीममा राजनैतिक दलका नेता शिक्षक सहभागी भएर कक्षामा तालीममा सिकेको सिप प्रयोग हुन नसकेको केन्द्रका एक विज्ञ प्रशिक्षक बताउँछन् । ‘हामीले तालीम दियौं तर सो सिप प्रयोग हुन सकने ।’ ती प्रशिक्षकले भने, ‘अहिले त कक्षा हुने बेला भएको छ सरहरूले दुःख दिनु हुन्न तर बार्षिक परीक्षाको समयमा कक्षा १ को ग्रीड २ को ग्रीड र ३ को ग्रीड पठाइ मागेर हैरान गराउनु हुन्छ ।’
मूल्याङ्कन प्रक्रिया
विद्यार्थी मूल्याङ्कन आधारभूत तहको कक्षा १—३ मा औपचारिक प्रकृतिको आवधिक परीक्षा आवश्यक नरहेको पाठ्यक्रमले निर्धारण गरेको छ ।
कक्षाकोठामा आधारित मूल्याङ्कनका प्रक्रिया, रणनीति तथा साधनहरू प्रयोग गरी विद्यार्थीको मूल्याङ्कन गर्न पाठ्यक्रमले स्पष्ट भनेको छ तर विद्यालयले वर्षभरिमा चारदेखि ६ ओटा सम्म परीक्षा लिने गरेका छन् ।
कक्षाकोठामा आधारित मूल्याङ्कनका लागि विद्यार्थीको सिकाइको निरन्तर लेखाजोखा गरी शिक्षण सिकाइ प्रक्रियाको अभिन्न अङ्गका रूपमा अभ्यास गरी निरन्तर मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरेको भए पनि विद्यालयले परीक्षालाई नै मूल्याङ्कनका साधनको रुपमा प्रयोग गर्दै आएका छन् ।
निर्माणात्मक उद्देश्यले गरिने कक्षाकोठामा आधारित मूल्याङ्कनको अभिलेखलाई निर्णयात्मक प्रयोजनमा प्रयोग गर्न पाठ्यक्रमले भनेको छ ।
आधारभूत तहको कक्षा १—३ मा गरिने विद्यार्थी मूल्याङ्कनको मुख्य उद्देश्य सिकाइ सुधार गर्ने निर्माणात्मक हुनपर्छ भन्ने पाठ्यक्रमको मर्म हो तर विद्यालयले ग्रीडकै आधारमा मूल्याङ्कन गरिरहेका छन् ।
आधारभूत तहको कक्षा १—३ को एकीकृत संरचनाको पाठ्यक्रमअनुसार चारओटा विषयक्षेत्र नेपाली भाषा, गणित, हाम्रो सेरोफेरो र अङ्ग्रेजी भाषामा विद्यार्थीको मूल्याङ्कनका लागि प्रयोग गरिने विधि, प्रक्रिया तथा साधनहरू पाठ्यक्रमले निर्धारण गरिदिएको छ ।
पाठ्यक्रमले मार्गदर्शनमा अपेक्षित सिकाइ उपलब्धिमा विद्यार्थीको सिकाइस्तरको मूल्याङ्कन तथा सुधारात्मक सिकाइको अभिलेखीकरण गर्ने तरिका र अभिलेखीकरण साधनसमेत समावेश गरेको छ । यसैका आधारमा मातृभाषा तथा स्थानीय पाठ्यक्रममा विद्यार्थीको मूल्याङ्कनका लागि आवश्यक साधन तथा प्रक्रिया विकास गरी अभिलेखीकरण गर्न सकिने भनेको छ तर विद्यालयले यसको मर्मलाई वेवास्ता गर्दै परम्परागत मूल्याकन गर्दै आएका छन् ।
कक्षा १–३ को एकीकृत पाठ्यक्रम हेर्नुहोस्ः