After SEE Portal

खचाखच विद्यार्थी, छात्रवास जीर्ण

Bridge Course

कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर क्षेत्रीय नमूना विद्यालयको छात्रवास जीर्ण भएको छ । विसं २०४३ मा निर्माण गरिएको छात्रवास भवन मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा पुगेको छ । सुर्की, चुना, कहीँ सिमेन्ट र बालुवा प्रयोग गरेर चारवटै भवन टीकापुर विकास समितिले निर्माण गरिएको हो ।

दुईतले यी भवनको सिँढी, ढलानबाट सिमेन्ट खस्न थालेका छन् । सिँढी र ढलानमा सिमेन्ट खसेर सरिया छरपस्ट देखिन थालेको छ ।

“भवनको अवस्था डरलाग्दो छ, यस्तो भवनमा विद्यार्थी राखेका छौँ, चिन्ता लाग्छ”, छात्रवासका प्रमुख ओमनाथ उपाध्यायले भने, “भवन मर्मतमा धेरै पहल गर्यौँ कसैले ध्यान दिएनन् ।”

उनका अनुसार भवन मर्मतका लागि यस वर्ष टीकापुर नगरपालिका–१ ले रु साढे दुई लाख दिएको छ । अघिल्लो वर्ष रु पाँच लाख दिने भएको छ । “वडा कार्यालयले बर्सेनि केही रकम मर्मतका लागि दिन्छ तर त्यो अति न्यून हो, भवन जीर्ण भएकाले मर्मतभन्दा पनि नयाँ बनाउनुपर्ने अवस्था छ”, उपाध्यायले भने, “भवन कुनै बेला पनि भत्कने अवस्थाका छन्, ३४ वर्षअघि निर्माण भएको भवन त्यसै पनि कमजोर हुन्छ, त्यतिबेलाको निर्माण प्रविधि र अहिलेको प्रविधिमा फरक छ ।”

भवन जीर्ण भए पनि छात्रवासमा १०० भन्दा बढी विद्यार्थी बस्छन् । बूढानीलकण्ठ स्कुलमार्फत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट छानिएका १०० भन्दा बढी विद्यार्थी विसं २०६७ देखि वीरेन्द्र विद्या मन्दिरमा अध्ययन गर्दै आएका छन् ।

विसं २०३१ मा टीकापुरमा आवासीय विद्यालय सञ्चालन भए पनि २०४३ देखि यो भवनमा विद्यार्थी बस्न थालेका हुन् ।

“विद्यार्थी बाहिरबाट पढ्न आएका छन् तर भवनको अवस्था नाजुक छ”, वीरेन्द्र विद्या मन्दिरका प्रधानाध्यापक यज्ञराज ज्ञवाली भन्छन्, “विभिन्न ठाउँमा प्रस्ताव हाल्छौँ, कतैबाट बजेट पाइँदैन ।”

उनले आफ्नै स्रोतले छात्रवास भवन निर्माण गर्ने बजेट नभएको भन्दै स्थानीय सरकारले छात्रवास भवन निर्माणमा ध्यान दिनु पर्नेमा जोड दिए । यतिखेर प्रदेशसभा सदस्य, सङ्घीय सांसदको बजेट तानातान छ तर वीरेन्द्रको छात्रवास निर्माणमा कसैको ध्यान गएको देखिँदैन । “यतिखेर स्थानीय, प्रदेश र सङ्घका जनप्रतिनिधिले बजेट यहाँ दिएँ, उहाँ दिएँ भन्छन् तर वीरेन्द्रको छात्रवासमा कसैले ध्यान दिएको पाइँदैन”, वीरेन्द्र विद्या मन्दिरका पूर्वविद्यार्थी भुवनेश्वर अधिकारीले भने, “हजारौँ विद्यार्थीले शिक्षा पाएको र दिँदै आएको संस्थामा जनप्रतिनिधिले ध्यान दिएका छैनन्, योभन्दा दुर्भाग्य अरु के होला ? वीरेन्द विद्या मन्दिरमा आफ्ना छोराछोरी पढाउनकै लागि टीकापुरमा बसोबास गरेको र यही कारणले टीकापुरमा बस्ती बसेको कुरा जनप्रतिनिधिले बिर्सिए”, अधिकारीले भने ।

४८ सम्म यो विद्यालयमा पढ्न पाउने विद्यार्थी र अभिभावक भाग्यमानी ठान्थे। प्रजातन्त्र आएसँगै विद्यालयमा राजनीति हुन थालेपछि विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुँदै गएको बताइन्छ ।

विद्यालयको अर्थावस्था नाजुक भएपछि विसं २०६६ मा १५ बिघा जमिन बिक्री गर्नुपरेको थियो । जमिन बिक्रीबाट प्राप्त रकमलेल पुराना शिक्षकलाई राहत रकम दिएर अवकास दिइएको थियो ।

केही वर्षदेखि विद्यालय सहजरूपमा सञ्चालन भएको छ । कक्षा १२ सम्मको अध्ययन हुने यस विद्यालयलमा तीन हजारभन्दा बढी विद्यार्थी छन् । विद्यालयले बर्सेनि करिब रु ३० लाख बराबरको छात्रवृत्ति बाँड्ने गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books