Thuprai - Books and E-books
Scholarship edusanjal

८९ लाख विद्यार्थीको अपराधी कक्षाकोठा र शिक्षण शैली

Admission edusanjal

बुबा मणिकर्ण र आमा स्वतिमायाको कोखबाट २००२ सा साउन ६ गते खोटाङ् रतन्छाको गौरी गाउँमा मदन राईको जन्म भएको हो । नौ वर्षसम्म क नचिन्ने राई अहिले कृषि वैज्ञानिक तथा नेपालमा वैकल्पिक शिक्षाका सुत्रधार मानिन्छन् । प्रस्तुत छ उनै राईसंग नेपालको शिक्षण प्रणाली र वैकल्पिक शिक्षामा गरिएको टेलिफोन सम्वादको सम्पादित अंशः

शुभद्रा मदन फाउण्डेसनले कस्तो शिक्षालाई प्राथमिकतामा राखेको छ ?

शुभद्रा मदन फाउण्डेसन एक बहु विधामा काम गर्ने संस्था हो । यो मुनाफा कमाए पनि नलिने संस्था हो । हामी योगदान मात्र गर्छैं मुनाफा बाँडफाड गर्दैनौं । यसले विशेषगरी शिक्षा स्वास्थ्य र कृषिमा लगानी गर्दै आएको छ । यो संस्थाले संचालन गर्दै आएको विद्यालयमा व्यक्तिको लागि क्षमता शिक्षा, नेपालको लागि अर्थतन्त्र शिक्षा र विश्वको लागि वातावरण शिक्षा सिकाउने गरिन्छ । हामी हाम्रा विद्यार्थीलाई गरिखाने शिक्षा प्रदान गर्छौं । हाम्रो कक्षामा किताब घोकाइँदैन। सरकारद्वारा निर्देशित पाठ्यक्रमलाई व्यवहारमा खेत,बारी,गोठ,खोर बनजंगल, खोलाखोल्सी, आँगन, भान्सा, उद्योग, पसल, होटल, क्याफे, सडक, सहर, गाउँ, बजार जहाँजहाँ आवश्यकपर्छ सोही ठाउँमा पुर्याइ व्यवहारिक शिक्षा प्रदान गर्छौं । सानो कक्षामा राम्रोसंग लेख्नपढ्न सिकाउँछौं। प्रत्येक विद्यार्थीलाई हरेक दिन डायरी लेख्न लगाउँछौं । हरेक विद्यार्थीको डायरी हप्तामा एक दिन चेक गर्छौं । सबैलाई सुनाउन लगाउँछौं । यसो गर्दा विद्यार्थीले सैद्धान्तिक र व्यवहारिक ज्ञानार्जन गर्न सक्छन् । यही नै सही शिक्षा हो । हाम्रा सामुदायिक तथा निजी विद्यालयमा केवल किताबघोक्न लाइन्छ । त्यो पाठ्यपुस्तक लेखक आफैंले बुझ्दैनन् । सिलसिलेवार पनि छैन ।

सरकारले तयार गरेको पाठ्यक्रम नै गलत हो त ?

पाठ्यक्रम विकास केन्द्रले टेन्डर खोलेर कम पैसामा किताब लेख्न दिने नीति खराब छ

होइन, पाठ्यक्रम उपयुक्त छ तर पाठ्यपुस्तक काम लाग्दैन । म आफैं पाठ्यपुस्तक लेखक हुँ तर मलाई यो पाठ्यपुस्तकको पाठ्यवस्तु सान्दर्भिक लाग्दैन । कक्षा ६ माथिका पाठ्यपुस्तकको भाषा बुझ्नै सक्ँदैन । मैले लेखकहरु भेला भएको बेला सोधेको थिए तपाईँ यो किताबमा के लेखेको छ बुझ्नु हुन्छ ? उनीहरुले जवाफमा अनुहार रातो पार्दै भनेका थिए, ‘अह बुझ्दिन । यताउती तानततुन पारेर लेखेको ।’ यो जवाफ सुनेपछि मलाई हाँस उठ्यो । नेपालको शिक्षा प्रणाली प्रति टीठ लागेर आयो । लेख्नेले नै पाठ बुझ्दैन भने चोरेर परीक्षा पास गरेर शिक्षक भएकाले कसरी विद्यार्थीलाई पाढाओस् झन दया लाग्यो । पाठ्यक्रम विकास केन्द्रले टेन्डर खोलेर कम पैसामा किताब लेख्न दिने नीति खराब छ । यसले  ८९ लाख विद्यार्थीको भविष्यमा खेलवाड गरेको छ । अहिलेको अवस्थामा एकतिहाइ जनसंख्याको अपराधी कक्षाकोठा बनेको छ । शिक्षणविधि बनेको छ ।

हाम्रा कक्षाकोठा विद्यार्थीका अपराधी नै हुन् त ? यिनलाई सुधार गर्ने के गर्नुपर्छ ?

वर्तमान कक्षाकोठालाई ध्वस्त पार्नुपर्छ । किताव च्यातेर फाल्नु पर्छ । पाठ्यक्रम भए पुग्छ । अझ शिक्षामा रुपान्तरण गर्न लोकसेवामा बम हाने हुन्छ ।

हो, कक्षाकोठा अपराधी नै हो । यहाँबाट उत्पादित जनशक्ति दक्ष छैनन् । केवल किताब घोक्छन् र परीक्षामा चिठ बोकेर पास हुन्छन् । त्यही खाले शिक्षक उत्पादन हुन्छन् । त्यसैले घोकेन्ते शिक्षा विद्यार्थीको अपराधी हो । यसले बालबालिकालाई जिज्ञासु र सिक्न उत्प्रेरित गर्दैन बरु निरुत्साही गर्छ । शिक्षणविधि खराब छ । यसलाई परिवर्तन नगरी सार्वजनिक वा निजी जुनसुकै माध्यमबाट प्रदान गरिएको शिक्षा पनि लंगडो घोडा जस्तो मात्र हुन्छ । बेलगाम हुन्छ । त्यसैले बालबालिकालाई गरिखाने शिक्षा प्रदान गर्नुपर्छ । बालबालिकालाई सिकाउन भाषा भए त्यही भाषिक सम्प्रदायमा लगिनु पर्छ, विरुवा भए जंगल, बाली भए खेतबारीमा, पशु हो भए खोरगोठ, पानी भए खोलाखोल्सा, घाम भए चउरमा लगेर प्रत्यक्ष सिकाउनु पर्छ । यसलाई सुधार गर्न वर्तमान कक्षाकोठालाई ध्वस्त पार्नुपर्छ । किताव च्यातेर फाल्नु पर्छ । पाठ्यक्रम भए पुग्छ । अझ शिक्षामा रुपान्तरण गर्न लोकसेवामा बम हाने हुन्छ । विद्यार्थीको रुची पहिचानगरी सोही विषयमा विज्ञता प्रदान गर्नुपर्छ ।

शिक्षा के हो ?

शिक्षा व्यवहार परिवर्तन हो । हामी पञ्च तत्व पढ्नु पर्छ । शरीर र सञ्चार पढ्नुपर्छ । वनस्पति र वृक्ष पढ्नुपर्छ, खोलानाला र घामपानी पढ्न पढाउन सकियो भने व्यक्ति आत्मनिर्भर हुन्छ ।

तपाईँको संस्थाले उत्पादन गरेका विद्यार्थी कस्ता छन् ?

सबैलाई आत्मनिर्भर छन् । गरेर खान सक्छन् । बन्द भएको स्कुल हाइस्कुल बनाएका छौं । सुरुमा २ निजी र २ सामुदायिक  गरी ४ ओटा स्कुलमा पढ्न पाठाउँथ्यौं ।  दिउसो पढ्न पठाउँथ्यौ भने बिहान बेलुका व्यवहारिक शिक्षा प्रदान गथ्र्यौं । अहिले यही विद्यालयमा पढाउँछौं । हाम्रो विद्यार्थी अहिले पिएचडी सम्म पुगेका छन् । हामी कलेमा भर्ना गर्छौं । शुल्क तिर्छौं र विद्यार्थीले वार्षिक परीक्षाका बेला गएर कलेजबाट परीक्षा लेख्छन् । हाम्रा विद्यार्थी उनीहरुकै हुन्छन् तर जहाँका भए पनि हाम्रा उत्पादन तारिफ योग्य छन् । अधिकांशले पहिला डिस्टिन्सन भन्थे अनि ग्रेड भन्न थाले अहिले जीपीए भन्छन् कसैले तीन भन्दा तल जीपीए ल्याउँदैनन् । कलेज पढ्ने कलेज टप भएका प्रशस्त उदाहरण छन् । हाम्रो सिकाइ नै भौतिक वस्तुमूखि छ । हाम्रा विद्यार्थीहरू जाँचमा फेल भएको विरलै उदाहरण छ। हामी जागिर खान उत्साह दिदैनौं। हामी  शिक्षक र व्वसायी बन्न प्रत्साहन गर्छौं। नेपालमा गरिखाने शिक्षा दिनको लागि सही शिक्षकको आवश्यकता छ । टिचर ठिक हुनसक्यो भने लिडर बन्न र बनाउन सक्ने रहेछ। नेपाललाइ सही लिडर चाहिएको छ। राजनीतिको लिडर, समाज सेवाको लिडर भन्दा पनि व्यवसाय संचालनको लिडर महत्वपूर्ण हुँदो रहेछ। हामी उद्योगको लिडर, ब्यापारको लिडर र सबैभन्दा धेरै कृषिको लिडर बन्ने शिक्षा प्रदान गर्छौं ।

शिक्षक व्यवस्थापन कसरी गर्नु भएको छ नि ?

हामीलाई सरकारी शिक्षक चाहिँदैन । किनकि उनीहरुको पाटो र बाटो नै फरक हुन्छ । घण्टा हेरेर बस्छन् । कहिले काहिँ हाजिर गर्न आउँछन् , जान्छन् । सिक्न र सिकाउन चाहँदैनन् । हाम्रोमा शिक्षक विद्यार्थी बिच कुनै भेद वा वर्ग हुँदैन । यहाँ दुई जना सरकारी शिक्षक बाँहेक अन्य तलबी शिक्षक छैनन् । कक्षा ३, ४ र ५ का विद्यार्थीलाई ६, ७ र ८ का विद्यार्थीले पढाउँछन । ६, ७ र ८ कक्षालाई ९, १०, ११, १२ का विद्यार्थीले पढाउँछन । ९,१०, ११,१२ का लाई डिप्लोमा र विद्यार्थीले पढाउँछन् । डिप्लोमाका विद्यार्थीलाई डिग्रीका विद्यार्थीले सहयोग गर्छन् । विद्यार्थी बाहिरका सरकारी कलेजमा भर्ना गरेका हुन्छन् । तर, उनीहरु स्वअध्ययन गर्छन् । जाँच दिन मात्र जान्छन् । यो अभ्यास भनेको ‘लर्निङ पिरामिड एप्रोच’ हो । एउटा चिनिया उखान छ नि मान्छेले लेक्चर सुनेर ५ प्रतिशत मात्र सिक्न सक्छन् । आफैं पढेर १५ प्रतिशत सिक्न सक्छ । अडियो भिजुअल मार्फत् ३० प्रतिशत सिक्न सक्छ । कामको अभ्यास गरेर ६० प्रतिशत सिक्न सक्छ । अरुलाई सिकाएर ९० प्रतिशत सिक्न सक्छ । तसर्थ अरुलाई पढाउँनु भनेको वास्तविक रुपमा आफैं पढ्नु हो । अहिलेको सरकारको शिक्षण विधि नै ‘सम्पूर्ण शिक्षा’ को शुत्र हो । त्यसैले हाम्रा विद्यार्थी नै शिक्षक र शिक्षक नै विद्यार्थी हुन् । हाम्रो लक्ष्य भनेकै शिक्षक उत्पादन गर्ने हो ।

डिग्रीका कुन कुन विधामा शिक्षण गराउँदै आउनु भएको छ ?

डिग्री तथा पिएडीको तयारी गरिरहेका विद्यार्थीले साधारण धारमा नै पढ्दै आएका  छन् । उनीहरु हाम्रै उत्पादन हुन् ।

शिक्षक उत्पादन कसरी गर्नुहुन्छ नि ?

हाम्रो लक्ष्य भनेको अबको एक दशकभित्र देशैभर यो अवधारणको विद्यालय सञ्चालन गर्ने हो । यसका लागि हामीलाई करिब ६० हजार दक्ष शिक्षकको आवश्यकता पर्छ । त्यसैले अबको एक डेड दशकमा हामी सोही संख्यामा शिक्षक उत्पादन गर्छौं र गरिखाने विद्यार्थी उत्पादन गर्न गाउँगाउँ पठाउँछौं । हामीलाई नेपाल सरकारलाई जस्तो लाखौं संख्यामा शिक्षक चाहिँदैन । मैले अघि नै भनि सके हाम्रा शिक्षक नै विद्यार्थी र विद्यार्थी नै शिक्षक हुन् ।

शिक्षकलाई पारिश्रमिक नि ?

आफैं कमाउने र पढ्ने हो । हामी खेत बारीको काम गर्छौं । पशु पालन गर्छौं । सिकर्मी डकर्मी उत्पादन गर्छौं र त्यसैको आम्दानीबाट हामी शिक्षकलाई अब बोनस दिने सोचमा छौं । स्नातक गरेको विद्यार्थीलाई वार्षिक १०-१२ लाख दिने र कक्षा १० पास गरेकालाई एक लाख दिने योजना बनाउँदै छौं । आम्दानीको स्रोत बढेपछि यो योजना कार्यान्वयन पनि गर्छौं । हाम्रो लक्ष्य भनेको हाम्रो विद्यालयमा प्रवेश गरेका बालबालिकालाई आमबाबुसंग आर्थिक सहयोग माग्नु नपरोस् भन्ने हो ।

अहिले निःशुल्क पढाउँदै आउनु भएको छ त ?

होइन शुल्क लिन्छौं । हाम्रो सिकाइ खर्च मासिक रु. १५ हजारभन्दा माथि छ । हामीले हालसम्म खानबस्नलाई मासिक रू ५००० र लुगा, जुता, स्टेसनरी, साबुन, पेस्ट, बुरूस, अन्य औजारको लागि महिनाको थप रू १००० देखि २००० लिने गरेका छौं। कक्षा ९ देखि ११ कक्षा माथिका विद्यार्थीलाई खानबस्न निःशुल्क गर्दै आएका छौं । आमाबाबु नभएका र अभिभावक पनि नभएकालाई पूर्ण छात्रावृति दिन्छौं भने आमामात्र भएका र आर्थिकअवस्था कमजोर भएका विद्यार्थीलाई ५० प्रतिसत छुट दिँदै आएका छौं । त्यस्तै गरी विद्यार्थीले लुगा,जुत्ता, स्टेसनरी, साबुन, पेस्ट,बुरूस, चक्कु, औजार र स्मार्ट फोन वा ल्यापटप आफैं व्यवस्थापन गर्नुपर्छ । सबैर्ले कम्पुटर र इन्टरनेट अनिवार्य चलाउनै पर्छ ।

विद्यार्थी संख्या कति छ नि ?

हाल हामीसंग विद्यालय तहमा ११० जति र कलेज तहमा ३० गरी ४० जिल्लाका १५० विद्यार्थी छन् । हामी २४ घन्टा संगै हाँस्दै खेल्दै सिक्दै सिकाउँदै एउटै परिवार भएर बसेका छौं ।

कुन कुन विधामा शिक्षण गराउँदै आउनु भएको छ ?

मेरो वैकल्पिक शिक्षा नीतिमा १२ विधामा आधारित छ । पहिलो विधा बोली हो । चार भाषा (नेपाली, अंग्रेजी, हिन्दी र चिनियाँ ) सहित हामीसंग १० वर्ष बस्ने विद्यार्थीले १०० सिप सिकेको हुन्छ । हाम्रो सिकाइमा पहिलो विधा नै भाषा हो । दोस्रो विज्ञान विधा हो । यसमा भौतिक, रसायनिक, वनस्पति र जीवविज्ञान पर्छन् । तेस्रोलाई खाद्यविधा, चौथो आवास विधा, पाँचौं बस्त्रविधा, छैठौं स्वास्थ्य तथा यौनविधा, सातौं प्रविधि विधा, आठौं धन तथा समाज विधा, नवौ मनोरञ्जन विधा, दश सिर्जन विधा, एघार मध्यमार्ग विधा र बाह्र मनोयोग विधा छन् । १२ विधालाई नै विद्यालयले शिक्षण सिकाई क्रियाकलापमा समेट्न गरेको छ । हाम्रो संस्थामा हाल भएको प्राय सबै घरहरू विद्यार्थीले सिक्दै बनाएका हुन । हामी प्रविधि शिक्षा जसमा चरणबद्ध भएका औधोगिक क्रान्तिका आविष्कारहरू जस्तै इन्जिन, विद्युत, कम्पुटर, इन्टरनेट, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता विषय र यौनशिक्षा पढाउँछौं । हामी सबै विद्यार्थी निरोगी होस। नेपालमा बिरामी र अस्पताल कमहोस भन्ने चाहान्छौं।

बालबालिकाको सामजिक सुरक्षा नि ?

तपाईँले पनि अफवाहको भरमा यौनको विषयलाई उठाउन खोज्नु भएको होला । तर यो सत्य होइन । हाम्रा बालकालिकालाई हिंसा जन्य कुनै कार्य हुँदैन र हुन दिइँदैन । म अलिक परक विचार भएको मान्छे । वैकल्पिक शिक्षा र यौन शिक्षाका विषयमा खुलेर कुरा गर्दा कसैकसैले मलाई यौनको कुरा खुलेर गर्ने फोहोरी फटाहा मान्छे भन्ने गरेका छन् । तर यो केवल आरोप मात्र हो । हो मान्छे यौन शिक्षा तथा व्यवहारिक शिक्षाका अभावमा चोर, डाका, फटाहा, गुण्डा, हत्यारा, बलत्कार जस्ता जघन्य अपराध र डिप्रसनको सिकार हुने गरेका छन् । आमाबुबा र समाजले सही शिक्षा दिन नसकेर यसै तर्फ आफ्ना बालबालिकालाई धकेल्ने गरेका छन् । सही शिक्षाले मानिसलाई सभ्य र सुसंस्कृत बनाउँछ हो म त्यो शिक्षा पाएको मान्छे त्यसैले यस्ता अपराध गर्दिन । अर्को आरोप हो बालबालिकालाइ काम लगाउँछ र श्रम शोषण गर्छ भन्छन् । बालबालिकालाइ पढाउने हो काम लाउन हुन्न भन्ने संस्कृतिको विकास भएको छ तर म भन्छु हातखुट्टा लिएर जन्मेका बालबालिकालाइ जन्मेदेखिनै हात खुट्टा चलाउन सिकाउनु पर्छ। हो हामी भन्छौं बालबालिकाको श्रम शोषण गर्नु अपराध हो भने बालबालिकालाइ श्रम सिकाउनु धर्म हो। हामी बालबालिकालाइ श्रम गरेर निरोगी, निडर,निश्पक्ष र योग्य बनाउन चाहान्छौं। अहिलेसम्म हामीले सिकाएको सबैजना यस्तै भएका छन। हाम्रो जोड नै व्यक्तिको लागि क्षमता शिक्षा, नेपालको लागि अर्थतन्त्र शिक्षा र विश्वको लागि वातावरण शिक्षा सिकाउन हो । हामी त्यसै गर्छौं । हाम्रो पाठ्यक्रम भनेको नेपाल सरकारकै हो । पढाउने विधि र सम्पूर्ण पद्धति चाहिँ फरक हो । यसलाई हामी वैकल्पिक शिक्षा भन्छौं ।

वैकल्पिक शिक्षाको अवधारणा नेपालमा भित्र्याउने प्रेरणा कसरी मिल्यो ?

म ९ वर्ष सम्म गाईगोरु बाख्रा चराउँदै रनवन डुलेको मान्छे । मैले औपचारिक शिक्षाको सुरुआत ९ वर्षपछि मात्र गरे । गाउँमा एसएलसी पास गरेपछि इन्जिनियर बन्ने सपना बोकेर काठमाडौं छिरे । काठमाडौंमा आएएस्सी पास गरेपछि भारतको राजस्थानस्थित उदयपुरबाट २०२८ सालमा विएस्सी उत्तीर्ण गरे । यो बिचमा मलाई रोजगारीको आवश्यकता खड्क्यो । कामको सिलसिलामा मनाङ, मुस्ताङ पुगे । संयुक्त राष्ट्रसंको आइएफओमा काम गरे । कामका सिलसिलमा पूर्वी तथा पश्चिम अफ्रिका, दक्षिण एसियालगायत विश्वका विभिन्न देशमा पुगे । मैले पैसा मात्र कमाउन चाहेको भए सायद विनोद चौधरी भन्दा धेरै कमाउन सक्थे तर मलाई यहाँको समाजले राज्यले केही गर्न घच्घच्यायो । संयुक्त राष्ट्रबाट रिटायर भएर फर्किएपछि नेपालका ग्रामीण समुदायमा सरकार खोजे, शिक्षामा खोजे र कृषिमा खोजे, भेटिन । मैले पुनः विद्यालयदेखि विश्वविद्यालय सम्मको अध्ययन गरे । मसंग अहिले ३ केजी त प्रमाणपत्र मात्र छन् । नेपालदेखि जापान हुँदै युरोपीयन विश्वविद्यालयबाट डिग्री लिए । १० वर्षको लामो अध्ययन पछि शिक्षा क्षेत्रमा सरकार भेटिन । एउटा एनजीको सहकार्यमा शिक्षा क्षेत्रमा काम गर्ने उद्देश्यले सहकार्य गरे तर एनजिओले आफ्नो स्वार्थका लागि मात्र काम गर्दो रहेछ भन्ने थाहा पाएँ र मैले  श्रीमती शुभद्रा र मेरो नाममा नाफा बाँड्न नपाइन खालेको कम्पनी खोले । नेपालकै पाठ्यक्रमलाई कार्यान्वयन गर्न सिकाइका क्षेत्र रोजें । सिकाइलाई विभिन्न विधामा विभक्त गरी अहिले शिक्षा प्रदान गरिरहेको छु । त्यसैले म भन्छु यो शिक्षा भित्र्याउने प्रेरणा मलाई नेपाल सरकारले दियो । किनकि उसका उत्पादन सामान्य बजारमा बिक्न नसक्ने छन् । हाम्रा जसरी पनि बाँच्न सक्ने छन् ।

Courses edusanjal
Select college / campus
Schools edusanjal