सन् २०१९ को डिसेम्बर अन्त्यतिर छिमेकी देश चीनबाट सुरु भएको कोभिड-१९ को महामारी अहिलेसम्म नियन्त्रण हुन सकेको छैन भने तत्कालै यसको नियन्त्रण हुने अवस्था पनि देखिएको छैन । पहिलो लहर, दोस्रो लहर र कतैकतै तेस्रो लहरका रूपमा समेत यसको प्रभाव देखापरेको अवस्थामा नेपालमा अहिले दोस्रो लहर अथवा दोस्रो भेरियन्टले ठुलो प्रभाव पार्न थालिरहेको छ । दिनप्रतिदिन मानिसको सङ्क्रमण दर बढिरहेको छ भने मृत्यु दर कताकता गुणोत्तर श्रेणीमा नै हो की जस्तै बढ्दै गएको अवस्था छ ।
एकातिर कोभिडको महामारी अगाडि बढिरहेको छ भने अर्कोतिर राजनैतिक सरगर्मी पनि तातिरहेको छ । राजनैतिक नेतृत्वहरुलाई कोभिड नियन्त्रणका बारेमा छलफल गर्ने समय छैन तर सरकार बनाउने र गिराउने खेलका लागि पर्याप्त समय छ । जनता तिनकै गतिविधि हेरेर चित्त बुझाउनेबाहेक अन्य विकल्प पनि केही छैन । एकातिर नेतृत्वको यो पराकाष्ठा रूप र अर्कोतिर कोभिड महामारीमा कसरी जोगिने भन्ने चिन्ता सबैको व्यक्तिगत समस्या र तनावको विषय बनेको छ ।
पहिले नै कोभिड नियन्त्रणमा हात उठाएको सरकार अहिले कामचलाउ भएको अवस्था छ । यो बेलामा जनता झन् तनावमा छन् । तत्काल अर्को कुनै सहमतीय सरकार बन्ने अवस्था पनि छैन र विभिन्न समीकरणबाट बन्ने सरकारले पनि जादुगर रूपमा काम गर्छ भन्ने न त अवस्था छ न त कसैलाई विश्वास छ । पार्टीहरू भित्रकै आन्तरिक कलह वा राजनैतिक दलहरूबीचको विवादलाइ केही समयको लागि बिट मारेर भए पनि कोभिड नियन्त्रणमा एकजुट भैदिए कति राम्रो हुन्थ्यो तर यिनका गतिविधि र स्वभावले त्यो संकेत गर्दैन । स्वभाविक अनुमान लगाउन सकिन्छ कि अहिले यिनीहरू भेट्दा त हाँसेर बोल्ने अवस्था छैन भने मिलेर कोभिड नियन्त्रण गर्छन र जनता राहत पाउँछन् । पत्याउनुहुन्छ ? अहँ, मलाई त विश्वास छैन ।
यही र यस्तै विषयको रमितेको रूपमा तपाईले जसरी दिनचर्या गर्नुभएको छ त्यसरी नै म पनि छु । म एउटा सामुदायिक विद्यालयको जिम्मेवार शिक्षक भएको हिसाबले मेरो परिवारको स्वास्थ्य चिन्ता सँगसँगै विद्यार्थीको चिन्ता पनि म माथि छ । बिहान उठ्नवित्तिकै मेरो नित्यकर्म संगै अनलाइन कक्षा सुरू हुन्छ । कतिपय मानिसहरूको दिमागमा अहिले पनि सामुदायिक विद्यालयका शिक्षकहरूले पढाउँछन् र भन्ने निकृष्ट सोच नभएको पनि हैन तर त्यसलाई जवाफ नदिइ म जस्तै हजारौँ शिक्षकहरू अहिले निरन्तर अनलाइन कक्षामा सहभागी हुनुहुन्छ र लगभग सबैले जिम्मेवारपूर्वक आ-आफ्ना कक्षामा आ-आफ्ना विषय अध्यापन गरेर सकिसक्नुभएको छ अथवा सक्दै हुनुहुन्छ ।
चैत्र वैशाखको महिना विद्यार्थीहरु एउटा कक्षा उत्तीर्ण गरी अर्को कक्षामा जाने, प्रथम, द्वितीय र तृतीय हुने, नयाँ नयाँ स्कुल भर्ना हुने, नयाँ साथीहरू बनाउने, साथीहरूबीच एक आपसमा खुशी साटासाट गर्ने बेला । यस बेलामा विद्यार्थीहरु एकातिर परीक्षा दिन पाउने कि नपाउने, कसरी सहभागी हुने, कसरी उत्तीर्ण हुने भन्ने अवस्थामा पिरोलिरहेका छन् भने अर्कोतिर कोरोनाबाट घरपरिवारसँगै म कसरी सुरक्षित हुने हो, कसरी बाँच्ने हो भन्ने समस्याले तड्पाइरहेको छ । भविष्यका कर्णधार मानिने बालबालिकाको कलिलो मस्तिष्कमा यस्ता तनाव देखिनु पक्कै पनि राम्रो होइन । त्यसैले यी र यस्ता समस्याहरू तुरून्त सम्बोधन गरेर यसको अधिकार शिक्षक तथा विद्यालयलाई दिनु नै उपयुक्त हुन्छ ।
यो अवस्थामा म यस्तो सोचिरहेको छुः
- राजनैतिक गतिरोध तत्काल अन्त्य गरी सहमतीय सर्वदलीय सरकार निर्माण होस् ।
- सहमतीय सरकार बनाइ कोरोना नियन्त्रणमा एकताबद्ध रहने वातावरण बनोस् ।
- पार्टीहरूबीचको भित्री तथा बाहिरी बैमनस्यता र अविश्वास हटोस् ।
- कोरोना नियन्त्रण सबैको साझा उद्देश्य बनोस् ।
- विद्यार्थीको परीक्षा स्थगित मात्र होइन प्रकृया पुर्याएर कक्षा चढाउने काममा सबैको ध्यान पुगोस् ।
- विद्यार्थीको परीक्षा र मूल्याङ्कनका सम्बन्धमा शिक्षकलाई सर्वाधिकार दिइयोस् ।
- शिक्षाका निकायले समयमै सही निर्णय दिउन् ।
- परीक्षाका नाममा विद्यार्थीहरूलाई लामो समयसम्म तनाव थप्ने काम बन्द होस् ।
- सरोकारवाला निकायहरूको अनिर्णयको बन्दी बन्ने अवस्था नरहोस् ।
- पहिला ज्यान अनि अरू ध्यान सबैको दिमागमा बसोस् ।
- सबै मिलेर कोभिड बिरूद्ध एकताबद्ध बनी यसलाई परास्त गर्न लागौँ ।