After SEE Portal

बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच सहकार्य

Bridge Course

लुम्बिनी बौद्ध विश्वविद्यालय र प्रकृति संरक्षण कोषबीच आपसी सहकार्य सम्झौता भएको छ । सहमतिपत्रमा विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न बज्राचार्य र प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीच पाँच वर्षका लागि भएको सहमतिपत्रमा स्थलगत अनुसन्धान कार्यक्रम, संरक्षण र विकाससँग सम्बन्धित परम्परागत ज्ञान र प्रविधिको प्रवद्र्धन, सामुदायिक हितका लागि पर्यापर्यटनमा सहकार्य गर्ने उल्लेख छ । उक्त विश्वविद्यालयले देवदहस्थित वन क्षेत्रमा स्थानीयलाई आयआर्जन हुने गरी पर्यावरणीय क्षेत्रमा कार्य गर्नका लागि सहकार्य भएको जनाएको छ ।

विश्वविद्यालयले बुद्ध मावली सामुदायिक वन क्षेत्रको करिब ९२ विघा जमिन सरकारको निर्णयबाट प्राप्त गरेको छ । सो जङ्गल क्षेत्रमा तपोवन निर्माण गरी अध्ययन, अनुसन्धान र आयमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बज्राचार्यले बताए । उनले भने “बौद्ध संस्कृतिमा रहेर तपोवन निर्माण गर्ने योजना रहेको छ ।” उनका अनुसार यो तपोवन विद्यार्थीका लागि अनुसन्धान र आयआर्जन गर्ने स्थानका रूपमा रही नमूना वन क्षेत्र बन्नेछ ।

विश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्यले छ वर्ष लामो मेहेनतले देवदहमा जङ्गलसहितको जमिन प्राप्त गरेको स्मरण गर्दै त्यसलाई बहुउपयोग गर्ने योजना बनाइएको बताए ।

विश्वविद्यालयले देवदहमा हाल कृषि विज्ञान र विकास अध्ययन विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा संरक्षण कोषका सदस्यसचिव अधिकारीले विश्वविद्यालयसँग सहकार्य गरी अध्ययन, अनुसन्धानमा कोषले काम गर्न चाहिरहेको बताए ।

बौद्ध दर्शनमा रहेर पर्यावरणीय क्षेत्रमा कार्य गर्न सकिने र छिट्टै ठोस योजना बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विश्वविद्यालयका डीन उकेशराज भुजु, डा.माणिकरत्न शाक्य, अनुसन्धान निर्देशक प्रा.डा. गीतु गिरी, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, प्रकृति संरक्षण कोषका कार्यक्रम व्यवस्थापक डा.चिरञ्जीवीप्रसाद पोखरेललगायतले बुद्धले प्रकृति संरक्षणमा दिएका उपदेश र त्यसको प्रयोगात्मकताको विषयमा चर्चा गरेका थिए ।

A Levels MA