Edusanjal +2 scholarship

सामाजिक अध्ययन विषयमा विवादास्पद मुद्दा

Thuprai - Books and E-books

१) परिचय

विवादास्पद मुद्दा भन्नाले बहस र विवादका विषय बुझिन्छ । बहसको विषय र विवादास्पद मुद्दाको कुनै ठोस समाधान र उत्तर हुँदैन । तिनको समाधानका लागि विकल्प खोजिन्छन् । त्यस्ता विकल्पको खोजी गर्ने क्रममा मानिसले अनेक तर्क र वितर्क गर्छन् । कसैले एउटा तर्कलाई ठिक र सुल्टो मान्छन् भने कसैले त्यसलाई गलत र उल्टा । यसले पनि विवादास्पद मुद्दा बन्छ । विवादास्पद मुद्दाको सङ्ख्या र हदको मात्रा समुदायको शैक्षिकस्तर, दर्शन, सभ्यता, संस्कृति, परम्परा, मूल्य र मान्यता, रहनसहन, जीवनशैली तथा वातावरणमा निर्भर गर्दछ । त्यसैले विवादास्पद मुद्दा सामाजिक अध्ययन विषयका मात्र होइन खासमा भाषा, गणित, विज्ञान, नैतिक शिक्षा, व्यावसायिक शिक्षा, खेलकुद आदिमा पनि आउन सक्छन् । कुनै विषयका विधागत नियम, मान्यता, फाइदा, बेफाइदा, अपवाद आदि पक्ष विवादास्पद मुद्दाका क्षेत्र हुन् । यहाँ सामाजिक अध्ययन विषयमा केन्द्रित गरिएको छ ।

२) सामाजिक अध्ययन विषयमा विवादास्पद मुद्दा

सामाजिक अध्ययन विद्यालय शिक्षाको एक अनिवार्य विषय हो । सामाजिक अध्ययनलाई मानिस र ऊसँग वातावरणको सम्बन्धको अध्ययन भनिन्छ । विवादास्पद मुद्दा त्यस्तो सम्बन्ध अध्ययन गर्ने क्रममा फेला पर्ने एउटा विषयवस्तु हो । त्यस्ता विषयवस्तु प्राय: जसो सामान्य ज्ञान र बुझाइमा आधारित हुन्छन् । कुनै व्याख्यात्मक, कुनै बुँदागत र कुनै तथ्यका रूपमा आउँछन् । सामाजिक क्रियाकलाप, धर्म, संस्कृति र रहनसहनका विषयहरू आउँछन् । इतिहास, भूगोल, अर्थशास्त्रका विषय तथ्यका रूपमा आउँछन् । तर ती विषय र तथ्यलाई कसैले स्वीकार्छन्, कसैले शंका गर्छन् वा कसैले विमति जनाउँछन् । फलस्वरुप कक्षाकोठामा ती विषय विवादास्पद मुद्दाका रूपमा देखा पर्दछन् । त्यस्ता विषय कहिले काहिँ समुदायमा समेत समकालीन मुद्दाका रूपमा देखापर्न सक्छन् । शिक्षकको काम चाहिँ त्यस्ता मुद्दालाई समेटदै पठनपाठनलाई निरन्तरता दिनु हो ।

३) विवादास्पद मुद्दा देखापर्ने अवस्था

सामाजिक अध्ययन विषयको शिक्षण गर्ने क्रममा मूलत: दुई अवस्थामा मुद्दा देखापर्दछन् :

क) विषयवस्तुमा :

सामाजिक अध्ययन सामाजिक विज्ञान, प्राकृतिक विज्ञान र सूचना प्रविधिको संयोजन हो । सामाजिक अध्ययन विषयमा सामाजिक र प्राकृतिक दुवै विज्ञानका विषयवस्तुलाई फ्युज्ड, अन्तरविषयक तथा बहुविषयक तरिकाले सङ्गठन गरिएका हुन्छन् । फ्युज्ड ढाँचाको पाठ्यपुस्तकमा पाठहरू विषयगत सीमारेखा लोप भएर आउँछन् भने अन्तरविषयक ढाँचामा एउटा शीर्षकभित्र विभिन्न अनुच्छेदका रूपमा आउँछन् । बहुविषयक ढाँचामा विषयगत एकाइ वा गाभिएको विषयका स्वरूपमा आउँछन् । यस्ता विषयवस्तुको शिक्षण गर्ने क्रममा विषयवस्तुको तिथिमिति, प्रवर्तक, प्रयोगमा आएका स्रोतसाधन, कार्य प्रक्रिया र उपलब्धिसम्बन्धी विवाद आउन सक्छन् । हिजो स्वभाविक लाग्ने विषयवस्तु आज विवादास्पद मुद्दाका रूपमा आउन सक्छन् । बद्लिँदो राजनीतिक घटनाक्रम तथा इतिहासका बाङ्गो समयरेखाले विवादको अवस्था पैदा गर्छ । व्यवस्था परिवर्तन र सङ्क्रमणको समयमा पनि राजनीतिक तथा ऐतिहासिक विषयवस्तु विवादास्पद मुद्दाका रुपमा देखा पर्दछन् । पाठ्यपुस्तकमा दिइएका पाठ पनि कहिलेकाँहि विवादास्पद मुद्दाका रुपमा देखा पर्न सक्छन् । शिक्षकका लागि यस्ता कुरा चुनौतीका विषय हुन् ।

उदाहरणका लागि गाँजा खेतीलाई अनुमति दिने चर्चालाई अहिलेको एउटा समसामयिक र विवादास्पद मुद्दाका रूपमा लिन सकिन्छ । किनभने लागू पदार्थको दुर्व्यसनसम्बन्धी पाठपाठन गर्दा गाँजा खेतीलाई अनुमति दिने विषय ठिक कि बेठिक भनेर विद्यार्थीहरूले सोध्न सक्छन् । त्यस्तै वैदेशिक सहायतासम्बन्धी विषयको पठनपाठनमा एम.सी.सी. परियोजना आउनु ठिक हो कि बेठिक हो भनेर सोध्न सक्छन् । यस्तोमा शिक्षकले कसरी विद्यार्थीको जिज्ञासालाई समाधान गर्ने ? चुनाव आएको समयमा राजनीतिक दल, निर्वाचन आयोगका कार्य, मतदाता आदि विषयका बारेमा पनि विभिन्न खाले प्रश्न सोधिन सक्छन् । भाषा विषयमा हिज्जे र व्याकरणका कतिपय नियम पनि विवादास्पद छन् । विज्ञानका सिद्धान्त परिवर्तनशील हुन्छन् । शिक्षाका नवीनतम् चिन्तन र प्रवृत्तिको प्रयोगमा पनि विवाद आउन सक्छ । मानव मूल्य र मान्यताकै कारण पनि विवादास्पद मुद्दा जन्मिएका हुन्छन् ।

ख) शिक्षण सिकाइ प्रक्रियामा:

सामाजिक विज्ञानका विषयवस्तुको सिकाइ सहजीकरण गर्ने क्रममा कुन विधि छनौट गर्ने र कसरी प्रस्तुत गर्ने भन्ने विषय निर्क्यौल गर्न नसक्दा अन्योल पैदा हुन्छ । यस्ता अन्योलले सिकाइ सहजीकरणलाई ठोस निष्कर्षमा पुग्न बाधा गर्दछन् । परियोजना कार्य र शैक्षिक भ्रमण जस्ता कक्षाकोठा बाहिर सञ्चालन हुने शैक्षिक कार्यक्रममा यदाकदा गुनासा सुनिने गरेका छन् । यस्ता घटनाक्रमले गर्दा सिकाइ सहजीकरण विधिको प्रयोग नै विवादमा पर्ने गरेका छन् । दण्डरहित शिक्षा, धनात्मक अनुशासन विधि, समावेशी शिक्षा र बालमैत्री शिक्षण विधिको प्रयोग पनि शैक्षिक मुद्दाका विषयवस्तु नै हुन् । त्यसैले विषयवस्तुमा मात्र होइन, शिक्षण विधिको छनौट र जुक्तिको प्रयोगमा पनि विवादास्पद मुद्दा आउन सक्छन् ।

४) विवादास्पद मुद्दाका शिक्षण रणनीति

प्रवचन, परियोजना कार्य, समूह कार्य, छलफल, प्रदर्शन र  प्रश्नोत्तर सामाजिक अध्ययन विषयका प्रचलित शिक्षण विधि हुन् । यस विधिलाई आगमनात्मक र निगमनात्मक दुवै जुक्तिबाट प्रयोग गर्न सकिन्छ । जुक्तिअनुसार रणनीति तय गरिन्छ । शिक्षकले त्यस्ता जुक्ति र रणनीतिअनुसार शिक्षण क्रियाकलाप सञ्चालन गर्न सक्दछन् । विवादास्पद मुद्दा शिक्षण गर्ने केही जुक्ति र रणनीति यहाँ प्रस्ताव गरिएको छ ।

सर्वप्रथमत: शिक्षकले विद्यार्थीहरुमा समालोचनात्मक चिन्तनको विकास गराउनु आवश्यक हुन्छ । कुनै घटना विवरणलाई त्यसका सकारात्मक तथा सुधारात्मक दुवै दृष्टिकोणबाट हेर्ने र व्याख्या गर्ने गुण समालोचनात्मक चिन्तनले दिन्छ । समालोचनात्मक चिन्तनले नयाँ विषयवस्तुमा प्रवेश गर्न सहयोग गर्छ, ज्ञान निर्माण गराउँछ र सिकाइलाई सुदृढीकरण गर्दछ । यसका लागि शिक्षकले कक्षामा लोकतान्त्रिक वातावरणको सिर्जना गर्नुपर्दछ । सबै विचार र मतहरुलाई कदर गर्नु पर्दछ । छलफल विधि भनेर मात्र पुग्दैन । छलफल विधिभित्र पनि अनेक रणनीति छन् । तीमध्ये कुन रणनीतिको उपयोग गर्दा विवादास्पद मुद्दालाई निष्कर्षमा पुर्याउन सकिन्छ सोको यकिन गरेर सहजीकरण गर्नुपर्दछ । विवादास्पद मुद्दाको सम्बोधनका लागि आधिकारिक स्रोत र तथ्याङ्कको प्रयोग गर्नुपर्दछ । एकछिनलाई टार्ने हिसाबले कुनै निष्कर्ष दिइयो भने त्यसले शिक्षक विवादमा पर्न सक्छन् । विवास्पद मुद्दासम्बन्धी पाठ शिक्षण गर्दा सबै विद्यार्थीले सहजै बुझ्न सक्ने भाषा र उदाहरण प्रस्तुत गरी प्रभावकारी सञ्चार गर्नुपर्दछ । विवादास्पद पाठको शिक्षण गर्ने क्रममा विद्यार्थी-विद्यार्थी वा शिक्षक-विद्यार्थीबीचमा केही द्वन्द्व र संवेग पनि देखापर्न सक्छन् । शिक्षकले तिनको व्यवस्थापन गर्न सक्नु पर्दछ । फरक उत्तर र तर्कलाई शिक्षकले मैले सोचेको भन्दा अलग रूपमा अर्को विचार आएछ भन्ने ठानी त्यसलाई सकारात्मक रूपमा लिनु पर्दछ । उत्तरहरू गलत हुँदैनन् बरु अलग हुन सक्छन् भन्ने भनाइलाई आत्मसात गर्नुपर्दछ । विवादास्पद प्रश्न आएमा यसको उत्तर यही हो भनेर ढिपी कस्नु हुन्न, समाधानका विकल्प सङ्कलन गरी प्रस्तुत गर्नुपर्दछ ।

५) शैक्षणिक सामग्री

विवादास्पद विषयवस्तुको शिक्षण गर्नका लागि पाठ्यपुस्तक मात्रै पनि पर्याप्त हुन्छन् भन्न सकिन्न । पाठ्यपुस्तकका पाठहरु समसामयिक रूपमा परिमार्जित भएका नहुन सक्दछन् । विश्वको घटनाक्रमको गति र नयाँनयाँ ज्ञानको विष्फोटनले गर्दा विवादास्पद मुद्दाको जन्म हुनसक्छ । ज्ञानमा आधारित विवादास्पद विषयवस्तुका बारेमा छलफल गराउन आधिकारिक अध्यययन सामग्री र सन्दर्भ सामग्रीको सहयोग लिनुपर्दछ । आधिकारिक फोटो, शिलालेख, भिडियो, फिल्म, पत्रपत्रिका, रेडियो र टेलिभिजनका समाचारका अंश तथा समकालिन लेख रचना र चित्र विवादास्पद विषयको शिक्षणका लागि प्रयोग गर्ने सामग्री हुन् । यसका साथै सम्बन्धित विषयका विज्ञ र अनुभवी व्यक्तिलाई स्रोतव्यक्तिका रूपमा कक्षामा आमन्त्रण गर्न सकिन्छ ।

६) मूल्याङ्कन विधि

विवादास्पद विषयवस्तुको मूल्याङ्कन गर्नुपरेमा विचार लेख्न मिल्ने खुला प्रश्न दिनु उपयुक्त हुन्छ । यस्ता पाठको मूल्याङ्कनका लागि ठिक बेठिक र खाली ठाउँ भर्ने र जोडा मिलाउने जस्ता प्रश्न भरसक नसोधेकै राम्रो । विवादास्पद पाठको मूल्याङ्कनका लागि वस्तुगत प्रश्न, त्यसको सही उत्तर र अङ्कनमा वैधता एवं विश्वसनियता कायम गर्न कठिन हुन्छ । यसैगरी यस्ता पाठको शिक्षण गर्दा कारण दिने प्रश्नहरू कम गर्नु पर्दछ । विवादास्पद विषयवस्तुका कारण पनि विवादास्पद नै हुन सक्छन् । यस्ता पाठहरुको मूल्याङ्कन गर्नुपर्दा विचार विश्लेषण, संश्लेषण, मूल्याङ्कन र सिर्जना तहका प्रश्न प्रयोग गर्न सकिन्छ ।

७) सारांश

सामाजिक अध्ययन विषयको शिक्षणमा विवादास्पद मुद्दा विभिन्न किसिमले आउँछन् । कुनै कालक्रमले आउँछन् त कुनै विषयवस्तुको प्रस्तुति फरक पर्नाले आउँछन् । तिनको व्यवस्थापन गर्दै शिक्षण गर्नु सामाजिक अध्ययन विषयका शिक्षकको कर्तव्य हो । यस्ता पाठको सिकाइ सहजीकरण गर्न जानुअगावै शिक्षकले त्यस्ता पाठ, पाठमा रहेका विवादास्पद विषयवस्तु, त्यससम्बन्धमा समाचार र सामाजिक सञ्जालमा आएका समाचार तथा कमेन्टसमेत हेरी पूर्वतयारी गर्नुपर्ने हुन्छ । विषयवस्तुको प्रकृति हेरी उपयुक्त शिक्षण विधि तथा शिक्षण रणनीति अपनाउनुपर्ने हुनसक्छ । यस्तो अभ्यासले शिक्षण सिकाइलाई अन्तर्क्रियात्मक र रोचक बनाउँछ । यसबाट विद्यार्थीमा नरम सीप र जीवनोपयोगी सीपको समेत विकास गर्न सकिन्छ । त्यसैले विवादास्पद मुद्दाको शिक्षण गर्नु भनेको पेसागत शिक्षकका लागि चुनौती मोल्नुमात्र होइन पेसागत क्षमता विकास गर्ने अवसर पाउनु पनि हो । समाप्त ।