Edusanjal

निरन्तर उकालो चढ्दै छ पोखराको अमरसिंह मावि

 

विद्यार्थीको रुचिलाई ख्यालमा राखेर बालमैत्री वातावरणमा शिक्षण गरिरहेका छौँ । शिक्षण प्रविधिमैत्री बनाइदा सिकाइ अब्बल हुन्छ भन्ने कुराको पुष्टि हाम्रो शिक्षण अभ्यासले गरेको छ ।

तल्लो कक्षादेखि अंग्रेजी माध्यम । विद्यालय व्यवस्थापनमा अभिभावकको प्रत्यक्ष चासो । शिक्षणमा नवीतम् विधि । पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयका विशेषता हुन् यी ।

इसीडीदेखि कक्षा १२ सम्म अध्यापन हुने यो विद्यालयले निरन्तर उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयमा अहिले २६ सय विद्यार्थी छन् । भर्नाका समयमा विद्यार्थीको चाप थेगिनसक्नु हुन्छ । नेता तथा आसेपासेको दबाब आउछ । नयाँ शैक्षिक सत्रमा विद्यालयले प्रवेश परीक्षा लिएर मात्र नयाँ विद्यार्थी भर्ना गर्ने गरेको छ । ‘पहिले माथिल्लो कक्षामा मिहिनेत गरेर नतिजा राम्रो ल्याउने भन्ने हुन्थ्यो । हामीले तल्लो तहदेखि नै बालबालिको शिक्षाका लागि उचित व्यवस्थापन गर्न थालेका छौं,’ प्रधानाध्यापक तेजश्वी बरालले भने, ‘विद्यार्थीको क्षमता र आवश्यकताअनुरुप अतिरिक्त कक्षा व्यवस्था गरेका छौं ।’

यो विद्यालयको वातावरण विद्यार्थी मैत्री बनाइएको छ । फर्निचर तथा कक्षा व्यवस्थापन आधुनिक विधिबाट गरिएको छ । बालबालिकालाई सम्मान गरेर बोलाउने, सिक्न प्रेरित गर्ने अभ्यास छ  । विद्यार्थीको उत्तरपुस्तिका राम्रोसँग मूल्याङ्कन गर्ने , नबुझेका विषय शिक्षक– विद्यार्थी तथा विद्यार्थी–विद्यार्थीमा छलफल गराउने गरिन्छ ।

अहिलेको आवश्यकता र चाहनालाई बुझेर विद्यालयले सबै कक्षाको माध्यमभाषा अंग्रेजी बनाएको छ । ‘गत सालसम्म एउटा सेक्सनमा अंग्रेजी र एउटामा नेपाली माध्यममा पढाउँदै आएका थियौं तर अभिभावकको माग र विद्यार्थीको रुचीलाई ख्याल गर्दै यो वर्ष देखि सबै कक्षाको माध्यम भाषा अंग्रेजी बनाइएको छ,’ प्रधानाध्यापक बरालले भने, ‘माध्यम भाषा परिवर्तन सँगै निजी विद्यालयका ५ सयभन्दा बढी विद्यार्थी यस वर्ष भर्ना भए ।’ उनले थपे, ‘हामीलाई विद्यार्थीको अभाव छैन, बरु ठाउँको अभाव छ ।’

विद्यालयले विद्यार्थी केन्द्रित शिक्षण विधि प्रयोग गर्ने गरेको छ । शिक्षकले वार्षिक, त्रैमासिक तथा दैनिक योजना बनाएर शिक्षण गर्छन् । विषय र पाठ्यवस्तुले मागेका शैक्षिक सामग्री प्रयोग गरिन्छ । ‘विद्यालयमा अनुभवी तथा दक्ष शिक्षक मात्र हुनुहुन्छ । शिक्षक सेवाबाट आएका नयाँ शिक्षकलाई पनि कक्षा अवालोकन गरेर मात्र पढाउन दिन्छौं,’ प्रधानाध्यापक बरालले भने । उनका अनुसार हरेक विषय शिक्षकलाई विद्यालयले नै व्यावहारिक तालिम प्रदान गर्ने गरेको छ । ‘विद्यार्थीको भावना बुझेर बालमैत्री वातावरणमा शिक्षण गरिरहेका छौँ । शिक्षकले विद्यालयका लागि पूरै समय दिनुभएको छ,’ उनले भने ।

हरेक कक्षा कोठालाई प्रविधि मैत्री बनाइएको छ । गुगलबाट खोजेर नयाँ नयाँ विषय वस्तुको जानकारी विद्यार्थीलाई दिने गरिएको छ । प्राधानाध्यापक बरालले भन्छन्, ‘प्रविधिमैत्री बनाइदा सिकाइ अब्बल हुन्छ भन्ने कुराको पुष्टि हाम्रो शिक्षण अभ्यासले गरेको छ ।’

विद्यालयले अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्ने गरेको छ  । त्यसले विद्यार्थीको समग्र विकासमा सहयोग पुगेको विद्यालयको दाबी छ । राम्रा मानिएका केही निजी विद्यालय भ्रमण गरेर त्यहाँका राम्रो अभ्यासलाई प्रयोगमा ल्याइएको छ । ‘राम्रा अभ्यासको अनुकरण र शिक्षण विधिमा परिवर्तन गरेकै कारण नर्सरी देखी १२ कक्षासम्म हाम्रो सिकाइ उपलब्धी राम्रो छ’ बरालले भने ।

विद्यालयमा ६० जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाइई ब्रेल लिपिमा पढाइन्छ । ब्रेल किबोर्ड भएकै कम्प्युटर व्यवस्थापन गरिएको छ । कक्षा ४ भन्दा माथिका कक्षा छुट्टै व्यवस्थापन गरिएको छ । पूर्व विद्यार्थी, स्थानीय अभिभावक, स्थानीय सरकार तथा विभिन्न गैरसरकारी संस्थाको सहयोगमा अन्धा विद्यार्थीलाई आवासको व्यास्था गरिएको छ । विद्यालयमा सुबिधा सम्पन्न कम्प्युटर ल्याब छ । ल्याबमा ७० वटा कम्प्युटर छन् । विज्ञानका विषयगत ल्याब छन् ।

विाद्यालयले शैक्षिक सत्रको सुरुमा हरेक विषयगत शिक्षकलाई शिक्षण तालिम व्यवस्था गर्ने गरेको छ । तालिममा प्रदान गरिएको सिप कक्षामा प्रयोग भयो कि भएन भनेर प्रधानाध्यापक र स्रोत व्यक्तिले साप्ताहिक रुपमा शिक्षकको कक्षा अवालेकन गर्ने गरेका छन् । शिक्षकले कमजोरी गरेका विषयमा विज्ञ तथा अग्रज शिक्षकहरुले पृष्ठपोषण दिने गरेका छन् ।

विद्यालयले विद्यार्थीको प्रगति प्रतिवेदन अभिभावकलाई नै प्रदान गर्ने गरेको छ । अभिभावकले पनि आप्mना छोराछोरीका हरेक गतिविधिलाई चासोका साथ बुझ्ने र सुधारका लागि शिक्षकबाट पृष्टपोषण लिने गरेका छन् । विद्यालयले विद्यार्थीका हरेक गतिविधिलाई अभिभावकसम्म पुर्‍याउने गरेको छ । यसका लागि शिक्षक विद्यार्थी भेला, छलफल तथा अन्तरक्रिया हुने गरेको छ । यो विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन, विज्ञान, शिक्षा र मानविकीका विभिन्न विषयमा पठनपाठन हुँदै आएको छ ।

भूतपूर्व गोर्खा शैनिकका छोराछोरीलाई शिक्षा प्रदान गर्न निजी क्षेत्रबाट २०१३ सालमा स्थापना भएको यो विद्यालय २०२४ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । विद्यालय हस्तान्तरण भएका समयमा २ सय ७ रोपनी जग्गा थियो । अहिले विद्यालयको स्वामित्वमा १ सय ७५ रोपनी मात्र जग्गा छ । सोही जग्गामा विद्यालयका ६ वटा भवन छन् । विद्यालयकै जग्गा स्थानीय ४० जनाले सटर निर्माण गरी पसल गर्दै आएका छन् । सो बापत व्यापारीले विद्यालयलाई मासिक २ लाख भाडा रकम प्रदान गर्ने गरेको प्रधानाध्यापक बरालले बताए ।

यो विद्यालयले यो वर्षको कक्षा ११–१२ को राष्ट्रिय स्तरको उत्कृष्ट विद्यालय अवाड हात पार्न सफल भएको छ । सामुदायिक विद्यालयका तर्फबाट यो विद्यालय निरन्तर दुईपटक उत्कृष्ट बनेको हो । शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुककै उत्कृष्ट विद्यालयका रुपमा यो विद्यालयलाई दोस्रो पटक यो अवाडले सम्मान गरेको छ ।

विज्ञान विषयको नतिजालाई मात्र हेर्ने हो भने कक्षा १२ मा ३.८७ जीपीए ल्याएर यो विद्यालयकी छात्रा रिया थापाले उत्कृष्ट स्थान हात पारेकी छन् । व्यवस्थापनको नतिजा पनि अब्बल देखिएको छ । कक्षा १२ मा मात्र यो वर्ष १ सय ९० जना विद्यार्थीले परीक्षा दिएका थिए । यो विषयमा पनि ३.६२ जीपीएसम्म आएको छ ।

एसईईको नतिजा पनि अब्बल छ । यस पटकको एसईईमा एक जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् भने ३.९५ जीपीए ल्याउने विद्यार्थी ५ जना छन् । ३.६५ जीपीए ल्याउने विद्यार्थी ६० जना छन् । ‘उच्च नतिजाका आधारमा मन्त्रालयले यो वर्ष पनि उत्कृष्ट विद्यालय अवार्ड प्रदान गरेकामा खुसी लागेको छ,’ प्रधानाध्यापक बरालले भने, ‘विद्यालयको यही नतिजा कायम राख्न हामी निरन्तर कोशिस गरिरहने छौं ।’

pre school