गण्डकी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सुरु

बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित पोखरा महानगरपालिकाले स्थापना गरेको ‘गण्डकी बहुप्राविधिक शिक्षालय’को आफ्नै सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ ।

महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)को साझेदारीमा अहिले पोखरा–२९ को जनप्रकाश माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकामा सोही वडाको खल्याणमा आधुनिक भवन निर्माणका लागि शनिबार शिलान्यास गरी काम सुरु गरिएको हो ।

रु ११ करोड ४२ लाख लागतमा निर्माण हुने भवन आगामी विसं २०८० फागुन २९ गतेसम्म सम्पन्न गर्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिसँग ठेक्का सम्झौता भएको महानगरका इञ्जीनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार भवन ४० हजार ४९२ स्क्वायर फिटमा रहनेछ ।

सङ्घ सरकारको विशेष अनुदान र महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो । गत वर्षदेखि शिक्षालयले ‘डिप्लोमा इन अटोमोबाइल इञ्जीनियरिङ’ र ‘डिप्लोमा इन सिभिल इञ्जीनियरिङ’को तीनवर्षे कोर्षको पढाइ सञ्चालन गरेको हो । सिभिल इञ्जीनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरूमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् ।

इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्षअघि अटोमोबाइल विषय अध्यापन गरिए पनि हाल सोको पठनपाठन हुँदैन ।

विशेषगरी विपन्न, दलित, उत्पीडित समाजमा पछि परेका वर्गको क्षमता विकास, सीप तालिमको माध्यमद्वारा सशक्तीकरण गर्दै रोजगारमूलक स्वरोजगार र उद्यमशीलताको विकास गर्न शिक्षालयले भूमिका खेल्ने शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताउनुभयो ।

उहाँले आफ्नै भवन निर्माणपछि अध्ययन–अध्यापनसहित प्रशासनिक काम सहज हुने विश्वास व्यक्त गर्नुभयो । तीनवर्षे कोर्षका लागि हाल शिक्षालयमा ४८ जनाको कोटा निर्धारण गरी छात्रवृत्तिको व्यवस्थासहित अध्यापन भइरहेको छ । शिक्षालयमा १० कोटा पूर्ण छात्रवृत्ति, छवटा सहुलियत र ३२ कोटा खुलातर्फका रहेका छन् ।

यस वर्ष दुई प्राविधिक विषयको अध्यापन सुरू गरिए पनि शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिकतर्पmका डिप्लोमा इन जियोमेटिक इञ्जीनियरिङ, फरेस्टी, फार्मेसी विषयमा समेत कक्षा सञ्चालन गर्ने योजना रहेको शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी दिनुभयो । सांसद खगराज अधिकारीले भवन शिलान्यास गर्दै आर्थिक विकासका लागि गुणस्तरीय र प्राविधिक शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो ।

‘नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा विज्ञान र प्रविधि शिक्षालाई प्रवद्र्धन गर्ने, परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण एवं संरक्षण गर्ने, उपयुक्त प्रविधिको पहिचान गरी प्रविधि हस्तान्तरण गर्दै राष्ट्रको सर्वोपरी विकासमा सेवा पु¥याउने गरी नाष्टले काम गर्दै आएकामा प्रशंसा पनि गर्नुभयो ।

नाष्टको ४५औँ प्राज्ञसभाका अवसरमा सन्देश दिँदै नास्टका सहकुलपति पौडेलले प्रतिष्ठानले विज्ञान तथा प्रविधि नीति २०६४, विज्ञान, प्रविधि र नवप्रवर्तन नीति २०७५ र नीति कार्यान्वयन खाका २०७७ तर्जुमा गरी विज्ञान प्रविधि क्षेत्रको प्रवद्र्धनमा खेलेको भूमिका, सरकारलाई आवश्यक परेको बेलामा दिएको परामर्शका साथै विशेष प्रतिभाशाली नेपालीहरूको पहिचान गरी प्रोत्साहन र सहयोग गर्न पु¥याएको योगदान स्मरणयोग्य भएको पनि उल्लेख गर्नुभयो ।

“स्थानीय तह र प्रदेशसम्म पुनःर्सरचना गरी प्रतिष्ठानका क्रियाकलापलाई सक्रिय पार्ने र राष्ट्रको प्राथमिकताका क्षेत्रमा केन्द्रित भई काम गर्ने गरी स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको बोध गरेको छु”, उहाँले भन्नुभयो, “यसका साथसाथै संसारभर छरिएर रहेका नेपाली वैज्ञानिकहरूलाई आकर्षण गर्नका लागि संस्थागत विकास, वैज्ञानिक प्राविधिकहरूको वृत्ति विकास, प्रयोगशालाको क्षमतामा अभिवृद्धि गर्ने कार्य अपरिहार्य देखिन्छ ।”

Thuprai - Books and E-books