A Levels MA

हुम्लाका स्थानीय तह विद्यालयमा नै पठनपाठन सञ्चालन गर्दै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका सामुदायिक विद्यालयमा आजदेखि पठनपाठन शुरु गरेको छन् । कोरोनाको संभावित जोखिमका कारण गत चैतदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा प्रभाव परेको अभिभावकको चर्को दबाबपछि विद्यालयमा नै पठनपाठन शुरु गरिएको छ । बुधबार शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय छलफलपछि पठनपाठन सुरु गरिएको हो ।

महामारीका कारण विद्यालय बन्द हुँदा विद्यार्थीले पढेको कुरा बिर्षन थालेको, लेख्ने बानी छुटेको र इन्टरनेटको पहुँच सबै गाउँमा विस्तार हुन नसकेका कारण पढाइ सञ्चालन गर्न अनुमति दिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा) ले बताए । ‘वडा नं ६ लिमीस्थित दुई विद्यालयमा साबिककै आधारमा नियमित पठनपाठनका लागि अनुमति दिएको र अन्यका लागि बुधबारमात्र कक्षा सञ्चालनका लागि अनुमति दिइएको छ ।’ अध्यक्ष लामाले भने, ‘याल्वाङाको महाबौद्ध माध्यामिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थी अन्तरपालिका र शिक्षक जिल्ला बाहिरका भएका कारण पीसीआर टेस्ट अनिवार्य गरिएको छ ।’

विद्यार्थीलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर कक्षा शुरु गरिएको उनले जानकारी दिए । कात्तिक ७ गते विद्यालय व्यवस्थापन समितिले १२ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महाबौद्ध माध्यामिक विद्यालयले कक्षा पाँचदेखि माथिका कक्षा १२ सम्म पठनपाठन गर्ने भएको छ । अन्य विद्यालय पनि एकदुई दिनमा सञ्चालनमा आउने भएका छन् ।

पालिकाभित्र १६ वटा सामुदायिक विद्यालय र एक धार्मिक (गुम्बा) विद्यालय छ । सो गाउँपालिकाभित्र १ हजार ६० जना विद्यार्थी अध्ययनरत छन् ।

यस्तै हुम्लाको तल्लो क्षेत्रका ताँजाकोट र अदानचुली गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा यही कात्तिक १६ गतेदेखि पठनपाठन सुरु गर्ने भएको छ ।

कात्तिक ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकअनुसार गाउँपालिका भरिका सबै सामुदायिक बिद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाका अध्यक्षक्ष दल फडेराले बताए ।

लामो समयदेखि विद्यालय बन्द रहेकाले अदानचुली गाउँपालिका भरीका सम्पूर्ण सामुदायिक विद्यालयलाई कात्तिक १६ गतेदेखि सञ्चालन गर्ने गाउँपालिकाले निर्देशन दिएको छ । पठनपाठन शुरु गर्न शिक्षक–कर्मचारीलाई आ–आफ्नो विद्यालयमा हाजीर हुन पत्राचार गरेको अध्यक्ष फडेराले बताए ।

सावधानी अपनाई गाउँपालिकाका सबै बिद्यालय सञ्चालन गरिने भएको छ । यस्तै जिल्लाको खार्पुनाथ, ताँजाकोट र सर्केगाड गाउँपालिकाले कात्तिकदेखि पढाइ सञ्चालन गर्ने तयारीमा जुटेको खार्पुनाथ गाउँपालिकाले जनाएको छ । हुम्लामा फागुनदेखि नयाँ शैक्षिकसत्र शुरु भएर मङ्सिरमा वार्षिक परीक्षा हुँदै आएको छ ।

अत्याधिक हिमपात र चिसोका कारणतीन महिना हिउँदे बिदा हुने भएकाले यहाँका स्थानीय तह पठनपाठन सञ्चालनको तयारीमा जुटेका हुन् ।

Thuprai - Books and E-books