सामुदायिक विद्यालयले राष्ट्रप्रेम गर्न सिकाउँछ

 

पेसा कर्म धर्म हो । पैसा जीवन निर्वाहका लागि चाहिने अतिरिक्त स्रोत हो । सेवाभाव नै सन्तुष्टि हो । सानैदेखि उनको एउटै सपना थियो असल शिक्षक बन्ने । यो बाहेक उनले कहिल्यै अर्को सपना देखिनन् । विगत तीस वर्षदेखि शिक्षण पेसामा आवद्ध बिनिता रञ्जित पेसाले शिक्षक हुन् । तर उनी आर्थिक उपलब्धिभन्दा सानानानी बुबाको ओठको हासोमा आफ्नो खुसी खोज्छिन् । त्यसैमा सन्तुष्ट छिन् ।

उनी सानो छँदा उनका बुबाआमाको सपना उनलाई बैंकर बनाउने थियो रे । मध्यम परिवार । बाबुको थोरै कमाइले मात्र खर्च नधान्ने । पढाइ खर्च जुटाउन उनी एसएलसी पछि २०४४ सालमा स्वयं सेवक शिक्षकका रुपमा काम गर्न थालिन् । केही महिना निशुल्क पढाएपछि उनलाई दरबन्दीका शिक्षकका रुपमा काम गर्ने अवसर जुर्यो । ‘बुबाको बैंकर बनाउने सपना म शिक्षण पेसामा लागेसँगै तुहियो ।’ उनले भनिन्,‘म शिक्षणलाई आफ्नो प्रमुख धर्म मान्छु, विद्यार्थीको सफलतामा खुसी हुन्छु । उनीहरुको दुःखमा घण्टै अफिसमा बसेर रोएकी छु ।’ २०४८ सालमा शिक्षक बनेकी उनले चार वर्ष अघिदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी हुन् ।

मनमा निस्वार्थ भाव । नियतमा शुद्धता भयो भने जस्ता सुकै संघर्षका पहाड पनि पार गर्न सकिन्छ । बालुवाटार लम्टङ्गीनस्थित पञ्चकन्या आधारभूत विद्यालयमा बिहान ६ बजे पुग्यो भने पनि प्रधानाध्यापक बिनिता रञ्जित भेटिन्छिन् । विद्यालयलाई कसरी अझै राम्रो बनाउने ? विद्यार्थीलाई कसरी टिकाउने ? सबैको आकर्षणको केन्द्रआफ्नो विद्यालयलाई कसरी बनाउने ? जस्ता विषयमा शिक्षक, अभिभावक र अग्रणी शिक्षकहरु सँग परामर्श गर्छिन् । विश्वका उत्कृष्ट शैक्षिक गन्तव्य मानिएका देशले अवलम्बन गरेका शिक्षण पद्धतिको बारेमा इन्टरनेटमा खोज तथा अनुसान्धान गर्छिन् । विगत चार वर्षदेखि उनको दिनचर्या यसरी नै बित्ने गरेको छ ।

उनलाई घरमा भन्दा विद्यालयमा रमाइलो लाग्छ । त्यसमा पनि शिक्षणका नवीनतम् पद्धतिका बारेमा सहकर्मी शिक्षकसँग छलफल तथा परामर्श गर्दा उनलाई आफ्नो जीन्दगीको रंगीन सपना पूरा भएझैं लाग्छ । उनलाई आफ्नो विद्यालयमा अध्ययनरत २६२ विद्यार्थी नै आफ्ना छोराछोरी जस्तै लाग्छन् । आफ्ना विद्यार्थीले नैतिक तथा व्यवहारिक शिक्षा हासिल गरेको देख्दा उनलाई गर्भ लाग्छ । ‘हाम्रा विद्यार्थीले माथिल्लो तहमा गएर बि प्लस मात्र ल्याए भने पनि जीन्दगीको परीक्षामा उनीहरु अब्बल नै दरिएका छन् ।’ भन्छिन्, ‘यो सहरको कर्कशे वातावरणमा उनीहरु हराउँदैनन् । आफ्ना काम आफै गर्न सक्छन् त्यो गर्वको विषय हो ।’

उनले पढाउने पाठ्यक्रम पनि नेपाल सरकारकै हो । यही पाठ्यक्रमको जगमा टोकेर गरिखाने विद्यार्थी उत्पादन गर्ने अभियानमा उनी लागेकी छिन् । पेसा, व्यवासाय र प्रविधि शिक्षाको पाठ्यक्रमका आधारमै उनले आफ्नो विद्यालयमा चित्रकार, संगीतकार तथा कपडामा राम्रो बुट्टा भर्नसक्ने बुटिक उत्पादन गरेकी छिन् । ‘हाम्रो जोड भनेको गरिब तथा धनी विद्यार्थीले एकै ठाउँमा सिक्ने वातावरण तयार गरौं भन्ने हो ।’ उनले भनिन्, ‘विद्यालयमा सिक्न सक्ने वातावरण तयार गर्नलाई अथक परिश्रम गरिरहेको छु ।’

उनले व्यवस्थापनको जिम्मा लिएपछि विद्यालयको रंग फेरियो । भित्तामा माकुराको जालो होइन शैक्षिक सामग्रीले भरिए । शिक्षक तथा विद्यार्थीले स्थानीय सामग्रीको प्रयोगगरी निर्माण गरिएका शैक्षिक सामग्रीले कक्षाकोठा नै पढैंपढौं लाग्ने भएका छन् । विषयगत शैक्षिक सामग्रीले विद्यालयलाई म्युजियम जस्तै देखाएको छ । ‘समयको मागसँगै आफूलाई अपडेट गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासलाई अनुकरण गरी विद्यालय व्यवस्थापन गर्ने कोशिष गरिरहेकी छु ।’ उनले भनिन्,‘हाम्रो विद्यालयमा पनि स्रोत र साधन सीमित छ त्यसैले हामी आफै पैसा उठाएर पनि शैक्षिक सामग्री तयार गर्छौं ।’

२०७२ को विनाशकारी भूकम्पपछि अन्य सामुदायिक विद्यालयकै जस्तो पीडा यो विद्यालयले पनि खेप्यो । तीन सय भन्दा बढी विद्यार्थी भएको विद्यालयमा एकाएक विद्यार्थी सयभन्दा तल झरे । एकतिर प्रधानाध्यापकको नयाँ जिम्मेबारी अर्कातिर विद्यार्थी घट्नु । उनका सामु विद्यार्थी टिकाउने चुनौती देखा पर्‍यो । विद्यार्थी बढाउन उनले आफ्नै स्टाफसँग पैसा उठाएर नर्सरी र कक्षा एकमा निशुल्क दिवा खाजाको व्यवस्था गरिन् । यसका साथै सबै कक्षाकोठालाई प्रविधि मैत्री बनाउन पहल गरिन् । ‘हरेक कक्षाकोठालाई प्रविधिमैत्री बनाए ।’ उनले भनिन्, ‘यसका लागि शिक्षक, अभिभावक र दातासँग सहयोग लिए ।’

मानविकीमा स्नातक गरेकी उनलाई शिक्षण विधि छनौट, मूल्यांकन र कक्षाकोठा व्यवस्थापन गर्न सैद्धान्तिक ज्ञानको जरुरत पर्‍यो । उनले एक वर्षे विएड गरिन् । ‘बीएड गरेपछि मात्र मलाई सिकाइ र शिक्षण पद्धतिको गहिराइमा पुग्न सहयोग मिल्यो त्यसैले एमएड गरे ।’ उनले थपिन्, ‘शिक्षामा २०६३ मा स्नातकोत्तर गरेपछि मात्र मैले बच्चालाई सही मानेमा पढाउन जाने, अहिले कुनै निजी विद्यालयभन्दा व्यवस्थापकीय तथा शैक्षिक दृष्टिले हाम्रो विद्यालय कम छैन् ।’

हरेक शैक्षिक सत्रको अन्त्यमा शिक्षकलाई विद्यालयले शैक्षिक भ्रमणमा लाने गरेको छ । शैक्षिक भ्रमणका लागि राष्ट्रकै उत्कृष्ट मानिएका सामुदायिक र संस्थागत विद्यालय छनोटमा पर्ने गरेका छन् । ती विद्यालयका असल अभ्यासको अध्ययन गरी विद्यालयले पनि सोही अनुसारको कार्यहरु गर्ने गरेको छ । हरेक कक्षामा सम्पूर्ण अभ्यास तथा मूल्यांकन गर्ने गरिएको छ । यसका अतिरिक्त कक्षा ६ देखि नै ऐच्छिक गणितका पठनपाठन गर्ने गराउने गरिएको छ । ‘ऐच्छिक गणितमा विद्यार्थी अभ्यस्त हुन् भन्ने उद्देश्यले कक्षा ६ देखि नै यसको व्यवस्था गरिएको हो’ उनले सुनाइन् ।

हरेक कक्षामा बालकेन्द्रीत शिक्षण सिकाइलाई उनले जोड दिने गरेकी छिन् । कक्षामा शिक्षकहरुलाई सहजकर्ताको रुपमा मात्र प्रस्तुत हुन उनी आग्रह गर्छिन् । जीवन्त सिकाइका लागि उनी शिक्षक विद्यार्थी परियोजना कार्य, क्षेत्रभ्रमण, खेलविधि मार्फत शिक्षण गर्न गराउन सल्लाह दिन्छिन् । प्रधानाध्यापक पहिले मोडल बन्नुपर्छ । उसले सही नेतृत्व गर्न सके मात्रै विद्यालय राम्रो बन्दै जान्छ । प्रधानध्यापक भनेको अभिभावक, विद्यार्थी, शिक्षक, दाता, स्रोतकेन्द्र, विद्यालय व्यवस्थापन समिति, अभिभावकसंघको समन्वयकर्ता हो । ‘सही समन्वय हुन सकेमा सामुदायिक विद्यालयको विकल्प हुँदैन ।’ उनले भनिन्, ‘हाम्रा उत्पादन भनेका राष्ट्रका लागि हो त्यसैले सबैमा राष्ट्रभक्तिको शिक्षा प्रदान गर्नुपर्छ ।’

विद्यालय यहाँसम्म ल्याउनमा शिक्षकहरूको टिम वर्कलाई उनी श्रेय दिन्छिन् । ‘शिक्षकहरूको  मिहिनेत र लगनले  विद्यालय यहाँ सम्म पुगेको हो ।’ उनले भनिन्, ‘सामूहिक एकता नै परिवर्तनको वहाक हो ।’