After SEE Portal

कञ्चनपुर साक्षर जिल्ला घोषणाका लागि प्रतिबद्धता

Bridge Course

भीमदत्तनगर, २९ माघ (रासस) : कञ्चनपुरका स्थानीय तहका प्रमुखले जिल्लालाई साक्षर घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

जिल्ला तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको ‘साक्षर नेपाल वर्ष, २०७६ सम्बन्धी सरोकारवाला अभिमुखीकरण’ कार्यक्रममा यहाँका स्थानीय तहका प्रमुखले वडा हँुदै नगर तथा गाउँपालिकालाई साक्षर घोषणाका लागि काम अघि बढेको जानकारीसमेत गराएका छन् । 

२०७६ सालभित्रै मुलुकलाई साक्षर घोषणा गर्ने लक्ष्यअनुरुप कञ्चनपुरलाई पनि चाँडै साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ । कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले नगरपालिकाका सबै वडामा निरक्षरको लगत सङ्कलन भइरहेको जानकारी दिनुभयो । “यो त संवैधानिक अधिकार पनि हो ।” ऐरले भन्नुभयो, “निरक्षरता हटाउने विषयमा स्थानीय तहसित सङ्घ र प्रदेश सरकारले पनि सहकार्य गर्न जरुरी छ ।” उहाँले जिल्लालाई साक्षर घोषणा गर्ने यहाँका स्थानीय निकाय र सरोकारवालाको संयुक्त टिम बनाएर पनि लाग्न सकिने बताउनुभयो । 

पुर्नवास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले पनि साक्षरताका लागि आफूहरु पहलरत रहेको बताउनुभयो । “स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार हामीले पनि वडास्तरसम्म साक्षरताका लागि काम गरिरहेका छौँ ।” उहाँले भन्नुभयो, “साक्षरता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यक मैले देखेको छु ।” 

जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा अभियान सबै स्थानीय तह लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी लक्ष्यअनुसार जिल्लालाई साक्षर घोषणाका लागि जिल्ला समन्वय समिति पनि आवश्यक पहल गरिरहेको बताउनुभयो । 

साक्षर नेपाल वर्ष, २०७६ को अवधारणाबारे जानकारी दिँदै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गिहनाथ गौतमले साक्षरताको विद्यमान अवस्था, समस्या, औचित्य, उद्देश्य र परिकल्पनाबारे जानकारी दिनुभयो ।१५ देखि ६० वर्षसम्म उमेर समूहका नागरिकलाई साक्षर बनाउन यसअघि २०६५ र ०६९ सालमा समेत अभ्यास गरिहेको उहाँले बताउनुभयो । मुलुकका ४७ जिल्ला साक्षर घोषणा गरिएको बताउँदै निर्देशक गौतमले १२ जिल्ला तत्काल साक्षर घोषणा गर्न सकिने चरणमा पुगेको जानकारी दिनुभयो । 

साक्षरताका लागि नयाँ संरचनाअनुसार प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइएको छ । कञ्चनपुरको साक्षरताको अवस्थाबारे जानकारी दिँदै जिल्ला विकास तथा समन्वय एकाइका प्रमुख दुर्गादत्त विष्टले कञ्चनपुरका साढे चार लाख जनसङ्ख्यामध्ये छ हजार नागरिक निरक्षर रहेको बताउनुभयो । नौ वटा स्थानीय तह रहेको कञ्चनपुरमा सामुदायिक र संस्थागत गरी ५०८ विद्यालय र ५५१ बालविकास केन्द्र रहेका छन् । प्रमुख विष्टले आगामी जेठ महीनाभित्रै जिल्लालाई साक्षर घोषणा गर्ने यसअघि नै स्थानीय तहबाट प्रतिबद्धता आइसकेको बताउनुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको शिक्षा तथा विकास निर्देशनालयका निर्देशक चन्द्रकान्त भुसाल, प्रदेशको सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखाका प्रमुख झंकर विष्ट, यहाँका विभिन्न नगरपालिका तथा गाउँपालिकाका अध्यक्ष, सामुदायिक अध्ययन केन्द्रका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । 

A Levels MA
Thuprai - Books and E-books