लामो समयदेखि विद्यालय बन्द छ । कहिले खुल्छ हाम्रो स्कुल ? हाम्रो एसईई परीक्षा कहिले हुन्छ ? हाम्रो बोर्ड परीक्षा कहिले हुन्छ ? भन्ने प्रश्नको उत्तरले विद्यार्थीको चित्त बुझाउन सकिएको छैन । उनीहरू शिक्षकले सबै जान्दछन् भनेर यस्ता प्रश्नहरू सोधिरहन्छन् । तर शिक्षकको उत्तरले उनीहरूको चित्त बुझ्दैन । उनीहरू समाचार पनि कहिलेकाहीँ हेर्छन् / सुन्छन् तर कहिले सिधै बुझ्छन् कहिले घुमाउरो बुझ्छन् । एउटाले अब एसईई परीक्षा नलिई विगतको परीक्षाका आधारमा सर्टिफाइड गरौँ भन्ने विचार पोख्दा उनीहरू अब परीक्षा नै हुँदैन भन्ने बुझ्छन् । उनीहरूलाई बुझाउन हम्मे हम्मे परिरहेको अवस्था छ । एसईई, ११ र १२ का विद्यार्थीहरू लकडाउनको सुरु सुरुमा केही समयपछि नै खुल्छ र जाँच हुन्छ भन्ने सोचेर परीक्षाको तयारीमै थिए तर अहिले परिस्थितिसँगै उनीहरूको सोच पनि परिवर्तन भइसकेको छ ।
विद्यार्थीहरू दुईथरी हुन्छन् एकथरी स्कुलभन्दा घर रमाइलो मान्छन् अर्कोथरी घरभन्दा स्कुल रमाइलो । स्कुल जान मन नपराउनेहरू पनि स्कुल जान नपाएर आत्तिएका छन् अहिले । मानिस शून्यमा रहन सक्दैन । साना नानीबाबुहरू त झन् केही नगरी बस्नै सक्दैनन् । उनीहरूलाई समय उपयोग गर्न धेरै चिजको आवश्यकता पर्दछ । लामो समयको बन्दाबन्दी समयको सदुपयोग गर्न जान्नेलाई इतिहासकै दुर्लभ अवसर हो भने नजान्नेलाई तनाव । अरु समय पनि बालबालिका अभिभावककै साथमा ज्यादा हुन्छन् अहिले त जतिबेला नि सँगै छन् । अभिभावकले बालबालिकासँग सम्मानजनक व्यवहार गर्नु आवश्यक छ जुन हाम्रोमा कम छ । यो समयमा उनीहरूलाई बाँच्ने उपयुक्त तरिका सिकाउनु आवश्यक छ ।
जीवन किताबका पानामा पढेका कुराले मात्र चल्दैन । कतिपय नानीबाबु पढाइमा अब्बल तर घरव्यवहारमा गाँजर पनि आमाले पखाल्दिनुपर्ने खालका हामीले देखेका छौँ । वास्तविक जिन्दगी किताब बाहिरै हुन्छ त्यसैले यो बेलामा व्यावहारिक सिपको सिकाइ सिकाउनुपर्छ । आखिर समय बिताउन केही न केही त गर्नै पर्छ । सकेसम्म समयको सदुपयोग गर्नेतर्फ सचेत अभिभावकले सोच्नैपर्छ । हामीले बाबुनानीलाई विनम्र, सहयोगी, सामाजिक एवम् संस्कृत बनाउन हाम्रै भूमिका महत्वपूर्ण हुन्छ । बालमनोविज्ञान अर्थात् बालबालिकाका मन, विचार, भावना, चाहना बुझेर व्यवहार गर्न सके उनीहरूले बाटो बिराउँदैनन् ।
तपाईं कसरी बोल्नुहुन्छ आफ्नो बाबुनानीसँग ? यो मुख्य प्रश्न हो । तपाईं खुलेर बोल्नुहुन्छ कि सोधेका कुरा राम्ररी भनिदिनुहुन्छ कि झर्किनुहुन्छ ? मानौँ बच्चाले कुनै काम बिगार्यो जस्तै दूध पोख्यो तपाईंले के गर्नुहुन्छ ? झट्ट आवेशमा आएर झापड लगाइदिनुहुन्छ कि ल ल भयो आऊ यो खाऊ भन्नुहुन्छ ? यस्तै ससाना हाम्रा व्यवहारबाट नै जीवनमा बालबालिकाले धेरै सिक्छन् नकि किताबका पानाबाट । धेरै फुर्सद भएको र विद्यालय जान पनि नपाएको वर्तमान परिस्थितिमा खेल्ने साथी नपाएर पनि उनीहरू आत्तिएका हुन सक्छन् । तपाईं आफैं छोराछोरीको साथी बनेर खेल्न किन सक्नुहुन्न ? खेल्नुस् त आज बच्चा कति रमाइलो मान्छ । आजभोलि अनलाइन गेमहरूको प्रचलन विकृतिको रूपमा फैलिएको देखिन्छ यसतर्फ हामी सचेत हुनु जरुरी छ । ब्याडमिन्टन खेल्दा प्राप्त हुने शारीरिक र मानसिक स्फुर्ती यस्तो गेमले दिन सक्दैन उल्टै गम्भीर मनोबैज्ञानिक समस्या निम्त्याएका प्रमाणहरू बेला बखत समाचारमा बज्ने गरेको छ ।
घरमै रहनुहोस्, सुरक्षित र स्वस्थ रहनुहोस् । बाबुनानी र परिवारको खुशी बन्नुहोस् । बाबुनानीहरूलाई मनोरञ्जनात्मक वातावरण बनाउने प्रयास गर्नुहोस् । यो समयमा धेरै ठाउँमा साना बाबुनानीहरू पौडी खेल्ने क्रममा डुबेका समाचारहरू सुनिए । खोला खोला माछा खोज्दै हिड्ने, वन वन चरा मार्दै हिड्ने, खराब सङ्गतमा पर्ने, बदमासी गर्न उद्यत हुने समय पनि यही हो त्यसैले यस्तो समयमा अभिभावक सचेत हुन र बाल भावनाको कदर गर्दै उपयुक्त व्यवहार गर्नु आवश्यक हुन्छ ।
कसरी रमाउँछन् त बाबुनानीहरू घरमा ? के गर्नुपर्छ त अभिभावकले ? कसरी हो त बच्चालाई दयालु, मायालु अनि मिहिनेती बनाउने ? के मैले गर्ने व्यवहारले उनीहरूलाई नकारात्मक असर त परेको छैन ? यस्ता प्रश्न आफैँलाई सोध्नुस् र चिन्तन गर्नुस् अनि समाधान निस्किहाल्छ । बाबुनानीहरूको उमेर, रुचि, भावना, चाहनाको सम्मान गर्नुस् र मीठो बोल्नुस् । उनीहरूले भनेका कुरा र जिज्ञासाको बेवास्ता नगर्नुस् । तार्किक ढङ्गले सकिन्छ अनुकरणीय उदाहरण दिएर जिज्ञासा मेटाउनुहोस् । सकारात्मक सोच्ने, योग गर्ने, पानी पिउने, खाना खाने शैली (तरिका ) सिकाउनुहोस् । उनीहरूसँग खेल्नुहोस् , गफ गर्नुहोस् । परिवारका सबै सदस्य एकै ठाउँमा बसेर पुराना प्रेरणादायी कुरा गर्नुहोस्, विगतका जीवनशैली बताउनुहोस् , कथा भन्नुहोस्, बेलुका भजन कीर्तन गर्नुहोस्, नाच्नुहोस्, बाबुनानीहरूलाई यस्ता सबै क्रियाकलापमा सक्रिय बनाउनुहोस् ।
बालक कुटो लिएर डिल कोपर्न थाल्छ; तपाईं कुटो खोसेर राखिदिनुहुन्छ । बालक माटोमा खेल्न थाल्छ; तपाईं गाली गर्नुहुन्छ । बालक कार्टुन हेर्छ; तपाईं रिमोट खोस्नुहुन्छ । बालक विभिन्न सरसामान चलाउँछ; तपाईं बिग्रन्छ भन्दै खोस्नुहुन्छ । ऊ हिलोमा, पानीमा खेल्छ; तपाईं त्यसमा पनि अवरोध गर्नुहुन्छ, गाली गर्नुहुन्छ, पिट्नुहुन्छ । यति धेरै अवरोध नगर्नुहोस् ; उनीहरूले यी कामबाट केही न केही सिकिरहेका हुन्छन् । उनीहरूलाई स्वतन्त्रता पनि दिने गर्नुस् । तपाईंले हरेक काममा बाधा पुर्याउनु भनेको सिकाइमा पनि बाधा पुर्याउनु हो भन्ने बुझ्न जरुरी छ । कुनै पनि काम सिक्दा एक दुई गल्ती स्वाभाविक हुन्छन् । बरु सुक्ष्म निरीक्षण गर्नुहोस्, निगरानी राख्नुहोस् , सचेत हुनुहोस् ।
बाबुनानी हामीभन्दा बढी सिर्जनशील, जिज्ञासु र सिक्ने क्षमतायुक्त छन् । तपाईं, तपाईंको कार्यशैली, तपाईंले बाँचेको परिवेश अनि तपाईंको व्यवहार नै उनीहरूको खुला पुस्तक हो । त्यसैले उनीहरूका लागि सोच्नुहोस् , सँगै हाँस्नुहोस् , सँगै नाच्नुहोस् , खेल्नुहोस् , सम्मान गर्नुहोस् , स्वस्थकर जीवनशैली अपनाउनुहोस् आखिर तपाईं आफ्नै बाबुनानीको सुनौलो भोलिका लागि नै त सम्पूर्ण त्याग गरिरहनुभएको छ ।