CMAT

महाशिलामा बालीविज्ञानको कक्षा शुरु

पर्वत १२ मङ्सिर (रासस) ः प्राविधिक शिक्षा पढ्नका लागि वर्षेनी लाखांैँ रुपियाँ खर्चेर शहर बजार जान बाध्य यहाँको एक विकट गाउँमा बाली विज्ञान विषयको कक्षा शुरु भएको छ । 

महाशिला गाउँपालिकामा पहिलो पटक प्राविधिक धारतर्फको बालीविज्ञान विषयको पढाइ शुरु भएको हो । महाशिला–५ स्थित महेन्द्रज्योति माविमा बालीविज्ञान विषयमा सञ्चालित कक्षाको हालै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले सम्बन्धन दिएपछि यसै शैक्षिक सत्रदेखि पहिलो चरणको कक्षा सञ्चालन गरेको हो । विद्यालयले प्राविधिक एसइइ तहको १८ महीने बालीविज्ञान विषयको कार्यक्रम सञ्चालन गर्ने स्वीकृतिका लागि आवेदन दिएकामा परिषद्को गत भदौ २० गतेको बैठकले शैक्षिक सत्र २०७५÷७६ देखि सम्बन्धन दिने निर्णय गरेको थियो । 

उक्त सम्बन्धन प्राप्त गरेसँगै विद्यालयमा अहिले ४० विद्यार्थी बालीविज्ञान विषयमा भर्ना भइसकेका छन् । हरेक वर्ष ४० जनाको दरले विद्यार्थीलाई भर्ना लिएर पढाइने विद्यालयका प्रधानाध्यापक गोपाल अधिकारीले जानकारी दिनुभयो । 

परिषद्ले शुरुमा दुई वर्षका लागि अस्थायी सम्बन्धन दिएको हो । महाशिलामा जिल्लामै पहिलो पटक बालीविज्ञान विषयमा पढाइ शुरु भएपछि समग्र जिल्लाका साथै छिमेकी जिल्ला स्याङ्जा, बागलुङ र गुल्मीसम्मका विद्यार्थी पनि अध्ययनका लागि भर्ना भएको महाशिला – ५ का अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । 

उहाँका अनुसार सो मावि गाउँपालिकाकै केन्द्रविन्दुमा पर्ने भएकाले सोही विद्यालयमा बालीविज्ञानको कक्षा सञ्चालन गरिएको हो । पढाइ शुरु यस विद्यालयमा भए पनि अन्तिम परीक्षा भने परीक्षा नियन्त्रण कार्यालयबाट नै सञ्चालन गरिने प्रअ अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बालीविज्ञान विषयमा अध्ययन गर्नका लागि एसइइ परीक्षामा जुनसुकै श्रेणीमा उत्तीर्ण भए पनि भर्ना भएर पढ्न पाउनेछन् । परम्परागत विषयमा मात्रै पढाइ हुँदा वर्षेनी गाउँमा बेरोजगार युवाको सङ्ख्या बढ्दै जान थालेपछि कृषि प्राविधिकको पढाइका लागि माग गरिएको हो । उक्त विद्यालयमा बालीविज्ञान कक्षा सञ्चालनका लागि गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । 

राम्रो लब्धाङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी उच्च शिक्षाका लागि शहर बजारमा जाने भए पनि आर्थिक रुपमा कमजोर र एसइइमा पनि कम श्रेणी प्राप्त गरेकाको बालीविज्ञान विषयको पढाइमा आकर्षण बढेको वडाध्यक्ष उच्चैको भनाइ छ । अहिलेसम्म यस क्षेत्रका विद्यार्थी कृषितर्फको बालीविज्ञान विषय अध्ययन गर्नका लागि मुस्ताङ, कास्की वा काठमाडौँ जाने गरेका थिए । 

Thuprai - Books and E-books