After SEE Portal

कक्षा १२ को परीक्षा असोजमा

Bridge Course

गत चैत महिनामा स्थगित भएको गत वर्षको कक्षा १२ को परीक्षा आगामी असोजको दोस्रो साताभित्रै सञ्चालन गरिने भएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, “मन्त्रिपरिषद्ले भदौ १ गतेपछि परीक्षा सञ्चालन गर्न अनुमति प्रदान गरेको छ । त्यसैले स्थगित भएको कक्षा १२ को परीक्षा आगामी असोजको पहिलो वा बढीमा दोस्रो सातामा सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको छ ।”

कोभिड–१९ का कारण गत चैत २५ गते रापबोर्डले गत वर्षको कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको थियो । कक्षा १२ को परीक्षा गत वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो ।

कक्षा १२ का लागि देशभरि एक हजार १४७ परीक्षा केन्द्र कायम गरिएको थियो भने कक्षा १२ को परीक्षामा सम्मिलित हुन चार लाख ३२ हजार विद्यार्थी तयार भएका थिए । कक्षा ११ र १२ का गरी करिव नौ लाख ५६ हजार परीक्षार्थी थिए ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सामाजिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले परीक्षा केन्द्र थपिन सक्ने बताउँदै भने, “परीक्षा केन्द्र थप भएमा हाल रहेको प्रश्नपत्र अपुग हुनसक्ने भएकोले थप प्रश्नपत्र छाप्नुपर्ने हुनसक्छ ।”

उनले देशभरि १७२ वटा परीक्षा केन्द्रमा हाल क्वारेन्टिन रहेको र तिनलाई खाली गरेर मात्र परीक्षा सञ्चालन गर्न सकिने उल्लेख गर्दै परीक्षा केन्द्र कायम गरिएका विद्यालयबाट क्वारेन्टिन कहिलेसम्ममा खाली गर्न सकिन्छ भनेर प्रदेश कार्यालयहरुलाई स्थानीय तहसँग समन्वय गर्न भनिएको बताए । सबैभन्दा बढी बुटवलमा ३६ वटा परीक्षा केन्द्रमा क्वारेन्टिन छ ।

“परीक्षा केन्द्रको तयारी पूरा भएपछि कम्तीमा तीन हप्ताको समय दिइने छ” उनले भने, “कक्षा १२ को परीक्षा बढीमा असोजको दोस्रो सातासम्ममा सञ्चालन भइसक्नेछ ।”  

कक्षा ११ को परीक्षा विद्यालयले

यसैबीच बोर्डले कक्षा ११ को परीक्षाका सन्दर्भमा हिजो नयाँ कार्यविधिलाई स्वीकृत गरेको छ । स्वीकृत कार्यविधिअनुसार २०७६ सालको कक्षा ११ का विद्यार्थीले आगामी माघमा कक्षा १२ का लागि आवेदन फाराम भर्नुअघि विद्यालयले सञ्चालन गर्ने कक्षा ११ को परीक्षामा सम्मिलित भइसकेको हुनुपर्नेछ ।

“विद्यालयले नै कक्षा ११ को परीक्षा सञ्चालन गर्नेछ । उसैले नतिजा सार्वजनिक गर्नेछ” परीक्षा नियन्त्रक शर्माले थपे, “कक्षा ११ मा न्यूनतम डीप्लस ल्याउनेले मात्र कक्षा १२ को आवेदन फाराम भर्न पाउने छ ।” उनका अनुसार ग्रेड वृद्धिको परीक्षा पनि विद्यालयले नै सञ्चालन गर्न पाउनेछ ।

उनले कक्षा १२ को परीक्षामा आवेदन दिन कम्तीमा डीप्लस ल्याउनुपर्ने भएपछि यसबाट गुणस्तर नियन्त्रण हुने दावी गर्दै भने, “विद्यालयलाई नै परीक्षा सञ्चालनको अधिकार दिइए पनि विद्यालयले आफ्ना विद्यार्थीलाई न्यूनतम डीप्लस दिने छैन भन्नेमा विश्वस्त छौँ ।” 

एसईईको नतिजा छिटै

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २०७६ सालको एसईईको नतिजा यही साउनको १५ देखि २० गतेभित्र सार्वजनिक गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।

यो वर्ष विद्यालय आफैले आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई अङ्क प्रदान गरेका छन् र त्यसैलाई बोर्डले वेबसाइटमार्फत नतिजा सार्वजनिक गर्नेछ ।

 

A Levels MA
Thuprai - Books and E-books