गुणस्तरीय शिक्षाको खोजीमा सहरबजार छिरेका विद्यार्थी धमाधम गाउँ फर्कन लागेका छन् । गाउँमा नै आफूले रोजेको विषय सुविधासम्पन्न भवन सहित विद्यालय निर्माण गरिदिएपछि सहरका विद्यार्थी गाउँ फर्किएका हुन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–६ घारका नबराज बरुवालले स्थानीय प्रभा माविमा कक्षा नौमा भर्ना भएका छन् । अहिले उनी इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै छन् । बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा मख्ख छन् । ‘आफैँ स्वरोजगार बन्ने सिपसहितको व्यवहारिक शिक्षा पढ्न यहाँ आएको हुँ’, बरुवाल भन्छन्, ‘गाउँमा भएर के भो र ? सहरको विद्यालयकै जस्तो सेवा सुविधा छ ।’ उनी पोखरास्थित शीतलादेवी माविमा कक्षा आठसम्म पढेर गाउँ फर्किएका हुन् ।
बरुवालले जस्तै चितवनको भानु माविबाट कक्षा ६ उत्तीर्ण गरेका महर पुन कक्षा सात पढ्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित प्रभा माविमा पुगेका छन् । उनी पनि सहरको विद्यालय छाडेर गाउँमा पढ्न पुगेका हुन् ।
बरुवाल र पुन जस्तै सहर बजारका विद्यालय छाडेर ग्रामीण क्षेत्रको प्रभा माविमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोखरेलका अनुसार ३०० मध्ये १०० विद्यार्थी अन्यत्रबाटै आएका छन् । ‘विद्यार्थी र बालमैत्री शिक्षण विधि, प्रविधिको प्रयोग, अङ्ग्रेजी माध्यम, प्रयोगात्मक शैलीमा र प्राविधिक विषयको पठनपाठन गराउन थालेपछि विद्यार्थीको चाप बढेको छ’, उनले भने, ‘तीन वर्षअघि १३५ विद्यार्थी थिए, अहिले ३०० जना छन् ।”
बेनी, पोखरा, चितवन, काठमाडौँ, बागलुङ, कुश्मालगायत सहरी क्षेत्रका निजी र सामुदायिक विद्यालयका विद्यार्थी प्रभा माविमा पढ्न आउने गरेका छन् । प्रभा माविमा साधारणतर्फ बाल कक्षादेखि १२ र प्राविधिकतर्फ कक्षा नौदेखि १२ सम्म इलेक्ट्रिकल इञ्जिनियरीङ विषयको पढाइ हुन्छ ।
यहाँ कक्षा ६ सम्म अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइन्छ । विज्ञान र कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएको उक्त विद्यालयको आधारभूत तहको कक्षामा शैक्षिक सामग्री प्रदर्शनी र नाचगान गरी पढाउने सिर्जनात्मक शैली अपनाइएको प्रधानाध्यापक भगवानबहादुर कार्कीले बताए । “परीक्षा प्रणालीलाई परिवर्तन, अतिरिक्त क्रियाकलापमा जोड र अभिभावकसँग नियमित अन्तरक्रिया गर्न थालेपछि सिकाइ उपलब्धिमा सुधार आएको छ”, उनले भने, ‘पछिल्लो शैक्षिक सत्रको औसत सिकाइ उपलब्धि ६२ प्रतिशत छ ।’
दश जलविद्युत् आयोजना सञ्चालन भएको नारच्याङमा गाउँमै रोजगारीको अवसर भएकाले स्वरोजगारमूलक इलेक्ट्रिकल विषयको अध्ययनमा विद्यार्थीको आकर्षण बढेको छ । अठ्ठाइसमध्ये अधिकांश शिक्षक कर्मचारी स्नातकोत्तर उत्तीर्ण छन् । विद्यार्थीको चापसँगै विद्यालयमा नयाँ कक्षाकोठा, छात्रावास र चमेनागृह भवन निर्माण गरिएको छ ।
गाउँपालिका, प्रदेश र सङ्घीय सरकारका निकाय, नारच्याङमा निर्माणाधीन जलविद्युत् आयोजना, पूर्वविद्यार्थी र समुदायले विद्यालयको पूर्वाधार निर्माणमा सघाएका व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले बताए।
राससका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले चार÷चार कोठे दुई र दुई कोठे भवन निर्माण गरिदिएपछि विद्यालय आधुनिक तथा सुविधा सम्पन्न भवन छ । यसअघि चार कोठा थप गर्न रु .३५ लाख र चमेनागृह बनाउन रु १५ लाख सहयोग गरेको नीलगिरिखोला जलविद्युत् आयोजनाको रु. एक करोड सहयोगमा शिक्षक र विद्यार्थीका लागि छात्रावास निर्माणाधीन छ ।
हालै निर्माण भएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले प्रभा माविका तीन निजी स्रोतका शिक्षकका लागि सात वर्षको तलबभत्ता उपलब्ध गराएको छ । व्यवस्थित खेलमैदान र घेराबार भएको उक्त विद्यालयमा पठनपाठनका लागि इन्टरनेटको प्रयोग गरिँदै आएको छ ।
शैक्षिक, भौतिक र शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्ने हो सामुदायिक विद्यालयले पनि विद्यार्थी र अभिभावकको मन जित्न सक्ने सन्देश प्रभा माविले दिएको अन्नपूर्ण गाउँपालिकाका शिक्षा शाखा अधिकृत गणेशबहादुर कटुवालले बताए । ‘जिल्लाका अन्य विद्यालयले पनि प्रभा माविको सिको गर्नु जरुरी छ’, उनले भने, ‘अब परम्परागत ढङ्गले मात्रै पठनपाठन गरेर उपलब्धि हासिल हुन सक्दैन, समय र प्रविधिसँगै दौडिनु पर्छ, अनि सफलता र उद्देश्य पूरा हुन्छ ।’