After SEE Portal

नियुक्तिनै भएनन् नगर शिक्षा अधिकृत

Bridge Course

मध्यपुर ठिमि नगरपालिकामा नगर शिक्षा अधिकृत नियुक्ती प्रकृया अन्योलमा परेको छ । अधिकृत छनौटका लागि आवश्यक कार्यविधि नबन्दा नगर शिक्षा अधिकृत नियुक्ती प्रकृया लम्बिएको हो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नियुक्त गर्ने भनिएको नगर शिक्षा अधिकृत छनौट अन्योलमा परेको हो ।शैक्षिकसत्र २०७६ को सुरुबाट नगर शिक्षा अधिकृतलाई काममा खटाउने भनिएको भएपनि अहिलेसम्म नगरपालिकाले अधिकृत छनौटको लिखित परीक्षा सञ्चालन गर्न सकेको छैन ।

 ६ जना अधिकृत नियुक्त गरी नगरभित्रका १८ वटा सामुदायिक विद्यालयको कक्षा अवलोकन, कक्षा व्यवस्थापन, नमुना कक्षा, विद्यालयमा शिक्षकको उपस्थिति तथा शिक्षकको कक्षा अवालोकन गरी सम्बन्धित शिक्षकलाई आवश्यक पृष्ठपोषण दिने भनिएको यो कार्यक्रम तत्काल लागुहुनु पर्ने स्थानीयको माग छ । नगर शिक्षा शाखाका अनुसार २१ जनाले अधिकृतको छनौट परीक्षाका लागि दरखास्त दिएका छन् ।

नगरपालिकाले अधिकृत छनौटका लागि विद्यालय निरीक्षककै पाठ्यक्रमलाई आधार बनाएको छ । छनौट भएका अधिकृतलाई मासिक ३५ हजार रुपैंया पारिश्रमिक प्रदान गरिने बताइएको छ । अधिकृतलाई सबै सामुदायिक विद्यालयको पठनपाठन सुधारमा खटाइने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बालकृष्ण गैरेले बताए ।

‘अधिकृत छनौट प्रक्रिया अब छिट्टै हुन्छ ।’ उनले भने, ‘सामुदायिक विद्यालय रुपान्तरणका लागि हामीले छनौट गरेका अधिकृतले सेतुको काम गर्नेछन् ।’नगरपालिकाद्वारा खटाइएका अधिकृतको पारिश्रमिक स्थानीय निजी विद्यालयले नगरपालिकालाई उपलब्ध गराउनेछन् । ‘नगर भित्रका ५२ वटै निजी विद्यालय यसका लागि तयार छन् ।’ नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य भनेको सामुदायिक र निजी विद्यालयलाई समानान्तर रुपमा अघि बढाउने हो ।’ 

उत्कृष्टताका आधारमा छात्रवृत्ति

नगरपालिकाको व्यवस्था अनुसार निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउँदै आएका छन् । त्यसमा ५ प्रतिशत विद्यालयले र ५ प्रतिशत नगरपालिकाको सिफारिसमा प्रदान गरिँदै आएको छ ।निजी विद्यालयमा अध्ययनरत ५ प्रतिशत विद्यार्थीले छात्रवृत्ति छनौट परीक्षामा सहभागी हुनुपर्नेे नगरपालीकाका प्रमुख श्रेष्ठले बताए । 

स्थानीय पाठ्यक्रममा ‘मध्यपुर ठिमिको परिचय’

मध्यपुर ठिमि नगरपालीकाले स्थानिय पाठ्यक्रम लागु गरेको छ । नगरपालीकाले भौगोलिक अवस्थिति, पर्यावरण, इतिहास, प्रचलित स्थानीय धर्म संस्कृति जात्रा, नेपाल भाषालगायतका विषय समेटी स्थानीय पाठ्यक्रम लागु गरेको हो । पालीकाले ‘मध्यपुर ठिमिको परिचय’ नामक श्रीर्षक दिएर स्थानीय पाठ्यक्रम बनाएको छ ।

कक्षा ६ मा यो पाठ्यक्रम लागु गरिएको छ । यस्तै, कक्षा १ र ७ मा आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागु गरिने तयारी नगरपालीकाको छ । ‘स्थानीय परम्परा, सीप, परम्परागत पेसासँग परिचित गराई जीविकोपार्जनमा सहजता प्रदान गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम कार्यान्वनमा ल्याएका हौं ।’ नगरपालीका प्रमुख श्रेष्ठ भन्छन्, ‘कक्षा ६ कै पाठ्यक्रमलाई परिष्कृत तथा परिमार्जित गरी कक्षा १ र ७ का लागि स्थानीय पाठ्यक्रम निर्माणको क्रममा छौं । ’ 

६ हजार रुपैंयाका भरमा बालविकास सहयोगी कार्यकर्ता

नगरभित्र १७ जना बालविकास सहयोगी कार्यकर्ता कार्यरत छन् ।  सबै बालविकास सहयोगी कार्यकर्ता सरकारले प्रदान गर्ने मासिक ६ हजार रुपैंया पारिश्रमिककै भरमा रहेका छन् ।

उनीहरुको पारिश्रमिक थप गर्नका लागि नगरपालिकाले वैकल्पिक व्यवस्था गर्न सकेको छैन । ‘संघीय सरकारको लज्जास्पद कार्य हो यो ।’ नगर प्रमुख श्रेष्ठ भन्छन्, ‘हामीले पनि पारिश्रमिक थप गरिहालेका भने छैनौं ।’ 

शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अद्यावधिक रहनुपर्ने शाखा प्रमुख गैरे बताउँछन् । विषयवस्तु प्रति गहिरो ज्ञान भएका शिक्षकले जुनसुकै भाषामा पढाए पनि विद्यार्थीले बुझ्ने शाखा प्रमुख गैरेले बताए । ‘ गुणस्तरीय शिक्षा भनेको पढौंपढौं लाग्ने कक्षा कोठा, तनावको व्यवस्थापन गर्न सक्ने र वालमनोविज्ञान बुझेको पेसाप्रति बफादार भएका शिक्षकको खाँचो छ ।’ उनले भने, ‘माध्यम भाषाको होइन ।’ राम्रो काम गर्ने शिक्षकलाई प्रोत्साहनको खाँचो छ । विषयगत उपलब्धिका आधारमा शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्थाको सुरुवात गर्नु पर्ने गर्नुपर्छ । ‘

उत्कृष्ट विद्यालय र शिक्षकलाई प्रमाणपत्र मात्र दिएर भए पनि प्रोत्साहन गर्नुपर्छ ।’ शाखा प्रमुख गैरेले भने, ‘नगर शिक्षा नियमावली नबन्दा काम गर्न केही समस्या भएकोे छ ।’ विद्यालयमा शिक्षक उपस्थितिलाई कडाइ गर्न सम्पूर्ण विद्यालयमा नगरले इहाजिरीको व्यवस्था गरेको छ ।

इहाजिरीमा उपस्थिति नदेखिएमा नगरले शिक्षकको तलब रोक्का गर्ने श्रेष्ठ बताउँछन् । 

A Levels MA
Thuprai - Books and E-books