After SEE Portal

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

Bridge Course

जटिल मानिने मुटुरोगको उपचार गर्न राजधानी काठमाडौँ नै जानुपर्छ भन्ने मान्यतालाई यहाँको चितवन मेडिकल कलेजले तोडेको छ । मुटुरोगको जटिल उपचारसमेत यहाँ हुन थालेपछि कलेज यो क्षेत्रमा कलेज अग्रणी बनेको हो ।

मेडिकल कलेजले मुटुरोगको उपचारमा सङ्ख्यालाई आधार मान्दा काठमाडौँको शहीद गङ्गालाल हृदयरोग केन्द्रपछि दोस्रो स्थान आफू रहेको दाबी गरेको छ । कलेजमा दैनिक मुटु उपचारका लागि ६० देखि ८० बिरामी आउने गरेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार कलेजमा हालसम्म कोरोनरी एनजिओग्राम एक हजार ८५२ को, कोरोनरी एनजिओप्लास्टी एक हजार ३२ को, पेसमेकर १५३ को, पिटिएमसि १६० को र अस्थायी पेसमेकर १३९ जनाको गरिइसकिएको छ । विगत सात वर्षयता अस्पतालले यी सेवाहरु उपलब्ध गराउँदै आएको देवकोटाले जानकारी दिनुभयो ।

अस्पतालको मुटुरोग विभागका प्रा डा सुधीर रेग्मीका अनुसार यहाँ शल्यक्रियाबाहेक मुटुसम्बन्धी रोगका सम्पूर्ण उपचार गरिन्छ । हाल शल्यक्रियाको तयारी थालिएको छ । शुरुआती चरणमा शल्यक्रिया गरिएको भए पनि बीचको समयमा रोकिएको शल्यक्रिया पुनः शुरु गर्न लागिएको हो । रेग्मीको भनाइमा नेपालमै मुटुसम्बन्धी विज्ञ समूहले उपचार गर्ने महत्वपूर्ण गन्तव्यको रूपमा यस कलेज बनेको छ ।

अस्पतालमा इसिजी, इको, एबिपिएम, हल्टरलगायतका उपकरणको सहयोगमा समेत उपचार गर्ने गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले मुटुको उपचारमा गङ्गालालपछि सबैभन्दा धेरै बिरामी आफूहरुले उपचार गरेको दाबी गर्नुभयो । विगत सात वर्षयता राजधानी काठमाडौँसहित देशैभरका बिरामीको मुटु उपचारमा आफ्नो कलेज प्रमुख गन्तव्य बन्न पुगेको उहाँको भनाइ छ । न्यौपानेले भन्नुभयो, “हामी केही महिनाभित्रमै कार्डिएक सर्जरी पुनः थाल्छौँ ।” यो शल्यक्रिया सेवा शुरु भएसँगै मुटुको भल्ब प्रत्यारोपणसमेत गर्न सकिने छ । न्यौपानेका अनुसार सरकारले विपन्न वर्गलाई उपलब्ध गराउने रु एक लाख सुविधाका लागि आवश्यक व्यवस्थापन कलेजले गर्दै आइरहेको छ । पचहत्तर वर्षमाथिका र १४ वर्षमुनिका बिरामीका लागि सरकारले दिने सुविधा यस कलेजका बिरामीका लागि पनि उपलब्ध गराउन कलेज लागिपरेको छ ।

कलेजमा मुटुरोग उपचारका लागि छुट्टै २० शय्याको मुटु सघन उपचारकक्ष र अर्काे २० शय्याको मुटुका बिरामीको साधारण कक्ष रहेको छ । न्यौपानेले मुटुरोगको उपचार खर्चिलो हुने भएकाले सरकारले सहयोग गर्न सकेमा बिरामी लाभान्वित हुने बताउनुभयो । कलेजले यहाँ सेवा शुरु नगर्दा धेरै बिरामीको उपचारको अभावमा मृत्युसमेत हुने गरेको थियो ।

A Levels MA
Thuprai - Books and E-books