महिलाद्वारा सञ्चालित विद्यालयमा बालबालिकाको बढ्दो आकर्षण

लमही, ११ मङ्सिर (रासस) ः महिला चुलोचौकोमै सीमित हुँदा हिंसा बढिरहेका बेला दाङको एक विद्यालयलाई शिक्षिकाले मात्रै सञ्चालन गरेकी छिन् । 

कुनै समय विद्यार्थी अभावमा बन्द भएको विद्यालयलाई महिलाकै सक्रियतामा पुनःसञ्चालनमा ल्याइएको थियो । महिला नेतृत्व तहमा पुगेर काम गर्न सक्दैनन्, भन्ने भ्रमलाई चिर्दै घोराही उपमहानगरपालिका–३ बेलुवामा रहेको रात्रि प्राथमिक विद्यालयलाई महिला शिक्षकले मात्रै सञ्चालनमा ल्याएका हुन् । 

महिलाले पनि अवसर पाएमा नेतृत्व तहमा रहेर पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने यो गतिलो उदाहरण बनेका छन् । विद्यार्थीको अभाव भएको भन्दै विसं २०७२ मा बन्द भएको उक्त विद्यालयलाई चार शिक्षिकाको सक्रियतामा पुनःसञ्चालनमा ल्याइएको हो । विद्यालय व्यवस्थापन समितिमा पनि सबै महिलामात्रै हुनुहुन्छ । विसं २०७३ देखि पुनःसञ्चालनमा आएको उक्त विद्यालयमा शुरुदेखि नै अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ । जसले गर्दा अहिले विद्यालयले नतिजा पनि सन्तोषजनक ल्याउँदै आएको छ ।

कक्षा ३ सम्म चलिरहेको उक्त विद्यालयमा तीन जना आधारभूत तहका शिक्षकको दरबन्दी छ भने एउटा दरबन्दी शिशु कक्षाको छ । जसमा प्रधानाध्यापक छमा सुवेदी हुनुहुन्छ भने शिक्षिकामा सुशीला पोखरेल, रीखा गाह र प्रवीणा चौधरी हुनुहुन्छ । 

विद्यार्थीको सङ्ख्या नपुगेपछि बन्द भएको उक्त विद्यालय सञ्चालनमा ल्याउन त्यहाँका अभिभावक, तत्कालीन जिल्ला शिक्षा कार्यालय र ती शिक्षिकाको पहलमा पुनःसञ्चालनमा ल्याइएको थियो । त्यस क्षेत्रको एकमात्र सरकारी विद्यालय बन्द भएपछि त्यहाँका बालबालिका शिक्षाबाट वञ्चित हुने भन्दै उक्त विद्यालयलाई सञ्चालनमा ल्याउन पहल थालको विद्यालयकी प्रअ छमा सुवेदीले बताउनुभयो । 

“त्यस क्षेत्रमा एकमात्र सरकारी विद्यालय छ, त्यही विद्यालय पनि बन्द भएपछि बालबालिकाको भविष्य अन्योलमा पर्ने देखिएपछि हामीले विद्यालय सञ्चालनमा ल्याउन पहल थालेका हौँ”, सुवेदीले भन्नुभयो । 

विद्यालय सञ्चालनमा ल्याउनका लागि सबै शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले शैक्षिकसत्र विसं २०७३ मा विद्यालय भर्ना अभियान सञ्चालन गरेका थिए । त्यतिबेला उक्त विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या धेरै भएपछि पुनःविद्यालय सञ्चालनमा ल्याइएको प्रअ सुवेदीले बताउनुभयो । अहिले विसं २०७५ मा आउँदा ५५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । 

विद्यालयका प्रधानाध्यापक सुवेदीले महिलाले पनि हरेक क्षेत्रमा उदाहरणीय काम गर्न सक्छन् भन्ने कुराको प्रमाणित गर्न पनि आफूहरु इमान्दारीपूर्वक लागेको बताउनुभयो । “महिलाले नेतृत्वमा पुगेर काम गर्न सक्दैनन्, भन्ने भ्रम थियो”, उहाँले भन्नुभयो, “हामीले यसलाई चिर्न सफल भएका छौँ ।” 

साथै महिला पनि हरेक काममा दक्ष हुने भन्दै अब चुलो र चौकोमै सीमित हुने दिन अन्त्य भए महिला हिंसा पनि अन्त्य हुने उहाँको भनाइ छ । महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न महिला नै विद्यालय सञ्चालन गर्न आँट गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो । 

थारू समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका बालबालिका निजी विद्यालयमा पढ्न सक्ने अवस्था नभएको भन्दै उक्त विद्यालयलाई पुनःसञ्चालनमा ल्याउन पहल थालिएको उहाँको भनाइ छ । 

“यहाँका सबै बालबालिका गरीब परिवारका छन्”, उहाँले भन्नुभयो, “उनीहरुको भविष्यका लागि पनि विद्यालय सञ्चालनमा ल्याएका हौँ ।” एकपटक बन्द हुने अवस्थामा रहेको उक्त विद्यालयलाई नमूना विद्यालय बनाएरै छोड्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । 

अहिले प्रत्येक अभिभावक, व्यवस्थापन समिति, शिक्षिकाले विद्यालय सञ्चालनका लागि मासिक रु १० जम्मा गर्दै आएको अध्यक्ष चौधरीले बताउनुभयो । अभिभावकले पनि सोही विद्यालयमा पढेका विद्यार्थी निजी विद्यालयमा पढेका विद्यार्थी कमजोर नभएको बताएका छन् । गाउँमै राम्रो विद्यालयका रुपमा उक्त विद्यालय सञ्चालन भएपछि अभिभावक पनि खुशी भएका छन् । अहिले विद्यालयमा कम्प्युटर, ल्याप्टप तथा मल्टिमिडियाको प्रयोग गरी अध्यापन गराउँदै आइएको छ । 

–दीपक बोहरा  

Thuprai - Books and E-books