बालबालिका अनलाइन सिकाइका नाममा धेरै समय मोबाइल र ल्याबटपमा झुम्मिरहन नहुने

कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा बालबालिकाहरु लामो समय मोबाइल र ल्याबटपमा झुम्मिरहन नहुने विज्ञले सुझाव दिएका छन् ।

लामो समयसम्म प्रविधिमा झुम्मिरहदा उनीहरुमा मनोसामाजिक असरदेखा पर्ने हुँदा यसको प्रयोगमा अभिभावकले सावधानी अपनाउनु पर्ने सुझाव विज्ञको छ ।

वर्तमान विषम पस्थितिमा बालबालिकाको मनोसामाजिक पक्ष अध्ययन गरी वैकल्पिक सिकाइको निरन्तरता दिन अभिभावकले सचेतता अपनाउनु पर्ने शिक्षाविद् प्राडा वासुदेव काफ्लेले बताए । ‘बालबालिकालाई उनीहरुकै सहभागितामा सिकाइ निरन्तरता दिनुपर्छ, कहिलेसम्म यस्तो अवस्था रहन्छ भन्न सकिने अवस्था नरहेकाले अभिभावकले सिकाइमा विशेष ख्याल गर्नुपर्छ’ उनले सुझाए ।

बालबालिकाहरुले लामो समयसम्म प्रविविधको प्रयोग गरी रहँदा एक्लोपना, झर्किने, रिसाउने र डिप्रेसनको सिकार हुने मनोविदहरु बताउँछन् । प्रविधिको अतिप्रयोगले बालबालिकाको मस्तिस्कमा नकारात्मक प्रभाव पर्न गई विभिन्न खालका अपराधिक क्रियाकलाप समेत बढ्ने गरेको देखिएको छ । मनोविज्ञ डा गङ्गा पाठकले लामो समय मोबाइल र ल्यापटमा झुम्मिरहँदा बालबालिकाले एक्लोपन महसुस गर्ने, झर्किने खालको समस्या उत्पन्न हुन सक्ने हुँदा बालबालिकाको भावना बुझेर अभिभावकले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

बालबालिकालाई घरैम सुरक्षित सिकाइ वातावरण तयार गर्न खानपान तथा सही सिकाइ वतावरण मिलाउने जिम्मा अभिभावक हो । ‘वर्तमान अवस्थामा बालबालिकाको आहारविहारमा विशेष ख्याल राख्नुपर्छ ।’ जनस्वास्थ्यविज्ञ डा अरुणा उप्रेती भन्छिन्,‘ विशेषगरी स्वास्थ्य सुरक्षामा ध्यान दिँदै जो जस्तो अवस्थामा छ सोही अवस्थाको सदुपयोग गरी सिकाइलाई निरन्तरता दिनुपर्छ ।’