विद्यालय तहको आन्तरिक मूल्याङ्कनको स्वरुप परिवर्तन गर्दै केन्द्र

पाठ्यक्रम विकास केन्द्रले कक्षा ६–१० को आन्तरिक मूल्याङ्कनको स्वरुप परिवर्तन गर्ने भएको छ ।

केन्द्रले विद्यालय तहको प्रयोगात्मक मूल्याङ्कनको स्वरुप परिवर्तन गर्ने तयारी थालेको हो ।

विद्यार्थीको दैनिक जीवनमा सिकेका सिपको आधारमा मूल्याङ्कन गर्नेगरी कार्यविधि तयार गर्ने भएको हो ।

केन्द्रले कार्यान्वयनमा ल्याएको मूल्याङ्कन पद्धतिमा सैद्धान्तिकमा ७५ र प्रयोगात्मकमा २५ प्रतिशत अङ्क छुट्याएर मूल्याङ्कन गर्दै आएको छ ।

प्रयोगात्मकको २५ अङ्कलाई विभाजन गरी बालबालिकाको दैनिक घरायसी सिपलाई १० अङ्कभन्दा माथि अङ्क प्रदान गर्ने गरी कार्यविधि तयार गरिरहेको केन्द्रले जनाएको छ ।

शिक्षालाई सिपसंग जोड्ने नीति अनुरुप कार्यविधि तयार भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आफ्नो, तथा घरको सरसफाइ, भान्सा तथा खेतबारीमा आर्जन गरेको सिपलाई समेत अबको मूल्याङ्कनमा जोडिने केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले बताए। महानिर्देशक श्रेष्ठले आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी कक्षा ६ देखि १० सम्मको आन्तरिक मूल्याङ्कन निर्देशिका परिमार्जन हुने भएको हो ।निर्देशिकामा नै मूल्याङ्कन गर्दा अभिभावकलाई संलग्न गराइ शिक्षकले क्रस चेक गरेर मूल्याङ्कन गर्ने व्यवस्था गरिने केन्द्रले जनाएको छ ।

 त्यसैगरी कक्षा ९ र १० मा गणित र विज्ञानमा समेत खुला प्रश्न सोद्ने तयारीमा केन्द्र रहेको छ । केन्द्रले यसका लागि विश्लेषणनत्मक एवम् तार्किक खालका प्रश्न सोद्ने तयारीमा रहेको बोर्ड उच्च स्रोतले जानकारी दियो ।

सामाजिकको विषय वस्तु घटाउने

कक्षा ४ देखि १२ लम्बीय सम्बन्ध रहेको सामाजिक विषयको विषय वस्तु समेत घटाउने तयारीमा बोर्ड रहेको छ ।

समसामयिक तथा इतिहासका अधिक विषयवस्तु समेटिएको हालको उक्त विषयको पाठ्यवस्तु खुम्च्याउनका लागि हरेक जिल्लाका दुईदुई जना प्रतिनिधिमुलक शिक्षकसंग केन्द्रल छलफल गरेको छ ।

छलफलमा शिक्षकले दिएको सुझावका आधारमा केन्द्रले पाठ्यवस्तु घटाउने गरी पाठ्यक्रम परिामर्जन गर्न तयारी गरिरहेको महानिर्देशक श्रेष्ठले बताए ।