प्रत्येक वर्ष शिक्षक दिवस दुईपटक मनाइन्छ– वैशाख ३० र चैत २९ गते । शिक्षकमा राजनीतिक ध्रुवीकरणसँगै दिवसमा पनि ध्रुवीकरण । प्रायः हरेक ठुला राजनीतिक दलपिच्छे उनीहरुका भातृ संगठनका रुपमा शिक्षक संगठन पनि छन् । सबै शिक्षक संगठनले शिक्षक दिवस मनाउँदैनन् । मनाउने भएका भए आआफ्ना सन्दर्भका दिनलाई घोषणा गर्दथे । प्रजातान्त्रिक विचार पक्षधर अझ ठोकुवा गरेर भन्नुपर्दा नेपाली काँग्रेस निकट नेपाल शिक्षक सङ्घले वैशाख ३० गतेलाई शिक्षक दिवसका रुपमा मनाउने गर्दछ । बामपन्थी धारका शिक्षक संगठनले चैत २९ गतेलाई शिक्षक दिवसका रुपमा मनाउने गरेको छ । सबै बामपन्थी धारका शिक्षकहरुले पनि चैत २९ गतेलाई स्वीकारेका छैनन् ।आज अर्थात् चैत २९ गते एक धारका शिक्षकहरुले विहानदेखि शिक्षक दिवसको शुभकामना बाँडे । आदान प्रदान गरे । खुशीयाली मनाए । अन्य धारका शिक्षकहरु मौन देखिए । यसबाट प्रष्ट छ– सबै शिक्षकको साझा दिवसका रुपमा यो भएकै छैन । एउटै पेशामा आवद्धहरुले फरक फरक दिनलाई दिवसका रुपमा मनाउने वा कुनै दिनलाई पनि नमनाउने भन्ने सुन्दा पनि कताकर्ता खल्लो अनुभव हुने रहेछ । सबै शिक्षकको मुटु, मन र मष्तिष्क एउटै हुन किन नसक्ने ? आआफ्ना राजनीतिक आस्था वा एजेन्डा होलान्, तर पेशा त एउटै हो । भावना पनि एउटै हुनुपर्दछ । त्यो भावनालाई शिक्षक दिवसले जोड्न सक्नुपर्दछ । त्यसै बिन्दुमा रहेर केही ऐतिहासिक पक्षलाई केलाउन चाहे ।
राणा शासनको अन्त्य भए लगत्तै विभिन्न पेशामा आवद्धहरु धमाधम गोलवद्ध हुन थाले । संस्था गठन गर्न थाले । पेशा पेशाका संस्था गठन भए । प्रजातन्त्र स्थापना भएको १२ औँ दिनमा त शिक्षकहरुले एउटा बैठक डाकिहाले । त्यसबेला शिक्षक त्यति अग्रसर र सक्रिय थिए ।
२००७ साल फागुन १९ गते जुद्ध पब्लिक हाइस्कुल क्षेत्रपाटीमा शिक्षक सङ्घ स्थापना गर्न उपत्यकाका तीन वटै सहरका १७ विद्यालय (अङ्ग्रेजी स्कुल तथा पाठशाला)का शिक्षकहरुको सभाको आयोजना गरिएको थियो । बैठक ४० मिनेटसम्म बस्यो । ललितपुरका शिक्षक नेत्रनाथ शर्मा बीएको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले मस्यौदा समिति गठन ग¥यो । समितिलाई दुई हप्ताभित्र मस्यौदा तयार गर्न जिम्मेवारी दिइयो । शिक्षकहरुले आपसमा एकता राख्ने, चलिआएको शिक्षा प्रणालीमा सुधार गर्ने, छात्रछात्राहरुको चरित्र सुधारमा जोड दिने, दुई सय वर्षदेखि चलिआएको कारिन्दा बनाउने शिक्षा प्रणालीमा सुधार गरी देशकाल सुहाउँदो शिक्षा दिने विषयमा चर्चा भएको थियो त्यो बैठकमा ।उपत्यकाभित्रका तिनै शिक्षकहरुको प्रयासले नेपाल शिक्षक सङ्घ स्थापना भयो । २००८ साल वैशाख २८ गतेको गोरखापत्रमा ‘नेपाल शिक्षक सङ्घ खुल्यो’ भनेर सङ्घका तर्फबाट सार्वजनिक अपील नै प्रकाशित भयो । यो काँग्रेसको शिक्षक सङ्घ थिएन, नत बामपन्थीको शिक्षक सङ्घ थियो । साझा चौतारी थियो जहाँ सबै शिक्षक अट्न सक्थे । नेपाल शिक्षक सङ्घ मुलुकभरका शिक्षकहरुको संस्था भएको र ठाउँ ठाउँमा यसको शाखा रहने भनिएको थियो । यसका उद्देश्य थिए– क) शिक्षा मन्त्रालयबाट शिक्षासम्बन्धी नीति घोषण गराउन अनुरोध गर्ने, ख) शिक्षासम्बन्धी नियम बनाउन सरकारमा अनुरोध गर्ने, ग) प्रारम्भिक शिक्षा हरेक नागरिकलाई अनिवार्य र निःशुल्क गराउन प्रयास गर्ने, घ) विद्यार्थीको चरित्र निर्माणमा विशेष जोर गर्ने र प्रत्येक स्कुलमा पुस्तकालय, पत्रपत्रिका, वाचनालय आदिको प्रवन्ध गराउने, ङ) स्वास्थ्य जाँच्न स्वास्थ्य विज्ञानको ज्ञान गराउन समय समयमा चिकित्सकको प्रवन्ध गराउने, च) अनाथ असाह्य विद्यार्थीको निमित्त हरेक स्कुलमा अनाथ कोष रहने र हरेक स्कुलमा कमसेकम पाँच प्रतिशत विद्यार्थीलाई निःशुल्क पठाउन लगाउने, छ) शिक्षकको असुविधा हटाउन प्रयत्न गर्ने । सङ्घका मन्त्रीका नामबाट जारी सो अपीलमा स्कुल तथा पाठशालाका सबै शिक्षकहरुले सङ्घको सदस्य बनी देशको गौरब बढाउनुहोला भन्ने अनुरोध छ भनेर उल्लेख गरिएको थियो ।
कुनै काम विशेषले पहाड वा तराईको स्कुल वा पाठशालाका शिक्षकहरु काठमाडौँ आउनु भएमा एकपटक सङ्घको अफिस जुद्ध पब्लिक हाइस्कुल क्षेत्रपाटीमा ‘पाउ कष्ट’ गर्ने कृपा गर्नुहोला वा लेखापढी गरी बुझ्नु होला भनेर अर्काे सूचना पनि सार्वजनिक गरियो । यसबाट प्रजातन्त्र स्थापनापश्चात शिक्षकको सक्रियता प्रष्ट हुन्छ । २००८ साल जेठ २५ गते शान्ति निकुञ्ज स्कुलमा बैठक बसेको थियो । त्यस बैठकले जुद्धोदय पब्लिक स्कुलका हेडमास्टर शारदाप्रसाद उपाध्यायलाई सभापति बनाउने निर्णय ग¥यो । जुद्धोदय पब्लिक स्कुलका हेडमास्टर तीर्थराज सिंह सुवाल पक्राउ परेपछि १९९७ साल वैशाख ११ गतेदेखि शारदाप्रसादले प्रधानाध्यापकका रुपमा काम गर्दै आएका थिए ।
त्यो शिक्षक सङ्घ कुनै एउटा राजनीतिक धारका शिक्षकहरुको संस्था थिएन । त्यसको स्थापना दिवसको मितिका बारेमा खोजीनीति गरेमा पक्कै फेला पर्नेछ । त्यसका आधारमा शिक्षक दिवस मनाउन पनि सकियो । वा नेपाली शिक्षकले औपचारिक विद्यालयमा पहिलो नियुक्ति पाएको दिन पनि खोज्न सकियो । वा अन्य कुनै विशेष दिन पनि हुनसक्दछ । सबै शिक्षकको साझा शिक्षक दिवसको मिति घोषणा होस् । शिक्षक नेताहरुको ध्यान त्यसतर्फ केन्द्रीत होस् । छाती फराकिलो बनाउन नसक्ने हो भने आआफ्नै मितिमा शिक्षक दिवस मनाइरहन पाइयो, तर सबैको साझा हुनसक्दैन ।