Bachelors Portal

चेपुवामा पुस्तक पसल, मारमा विद्यार्थी

काठमाडौंको भोटाहिटीस्थित शिक्षा परीक्षा सामग्री केन्द्रले विगत २५ वर्ष अगाडिदेखि पुस्तक पसल गर्दै आएका विष्णु चालिसेलाई यो वर्ष पसल नै बन्द गरेर घरैंमा बसैं जस्तो लागेको छ । ससाना नानी बाबुहरुको बुक कुन किन्नु भन्ने प्रश्नले आक्रान्त बनाउने गरेको छ । हरेक दिन उनको पसलमा ‘सर हामीलाई कक्षा ११ बुक चाहिएको छ कुन किन्नु’ भन्दै दुई दर्जन बालबालिका आउँछन् । उनी पेसाले शिक्षक पनि हुन् । त्यसैले झुक्याएर बुक बेच्न मन लाग्दैन रे । ‘एक शैक्षिक सत्रको आधाभन्दा बढी समय बितिसक्दा पनि बालबालिकाले के पढ्ने ? भन्ने थाहा पाएका छैनन् ।’ उनी भन्छन्, ‘एकातिर कोरोना अर्कोतिर विभिन्न समूहको अवरोध र नानी बाबुहरुको भविष्य देखेर आजभोलि म विथोलिन थालेको छु ।’

नेपालमा शिक्षकले त पाठ्यक्रम हेरेर पढाउँदैनन् । बुक समयमा नै पुगेन भनेर ठुलाठुला समाचार बन्ने गरेको तर शिक्षा पद्धति र सिकाइ पद्धतिमा नवीनत् पद्धतिको खोजी नभइ आफ्ना कुरा मनाउन गरिने नेपाली प्रवृत्ति देख्दा दिक्क लाग्ने गरेको उनी बताउँछन् । ‘आफ्ना कुरा जसरी नि लागु गर्नै पर्ने प्रवृत्तिले गर्दा बालबालिकाको भविष्य अन्धकारतिर धकेलिने भो ।’ उनी भन्छन्, ‘बालबालिकालाई अनिर्णयको बन्दी बनाउनु भन्दा चाँडै निर्णय निकाले बालबालिकाको केही गरौं, गरौं भन्ने उर्वर समय हीनता बोधमा बित्ने थिएन होला ।’

भोटाहिटीका अधिकांश पसललेको व्याथा यस्तै छ । बालबालिकाहरु बुक किन्न आउँछन् । दिन तोक्दै उनीहरुलाई पसलेले रित्तै हात फर्काउने गरेका छन् ।

नयाँ बानेश्वरस्थित सिद्धार्थ बुक्स् एण्ड स्टेसनरी पसलमा पनि कक्षा ११ का बालबालिकाको भीड लाग्ने गरेको छ । कतिपय बालबालिकालाई कुनै कुनै विद्यालयले पुरानै पाठ्यकम अनुसारका पाठ्यपुस्क किन्न लगाए पनि अधिकांश विद्यालय आफैं अन्योलमा रहेका छन् ।

भिएस निकेतन कलेजको छेवैमा रहेको अर्को पुस्तक पसलको अवस्था पनि उस्तै छ । दैनिक बालबालिका हाम्रो कुन पुस्तक लागु हुने भो भनेर सोद्न आउने गरेको ती व्यापारीले बताए । ‘हाम्रो पसलमा साइन्स र म्यानेजमेन्ट, मानविकी र शिक्षा समूहका नयाँ पुराना सबै पाठ्यपुस्तक छन् तर हामीले अहिले नेपाली र अङ्ग्रेजी मात्र दिएर पठाउँछौं ।’ ती व्यापारीले भने, ‘कोहीकोही अभिभावक जिद्धि गरेर नयाँ बुक लानुहुन्छ कोही कोही पुराना हामी चेपुवामा पर्यौ केही गरी नयाँ पाठ्यक्रम लागु भए पुरानो बुक किनेका अभिभावकले के गर्नु ? हामीले घाटा सहेर फिर्ता लिई दिनुकी ? सबैतिर अनयोल मात्र छ ।’

यो वर्ष एसईईमा सामोल भएका४ लाख ८२ हजार २१९ छात्रछात्रा सहित करिब ५ लाख बालबालिका यस्तै समस्याले पिल्सिइ रहेका छन् । सहरी क्षेत्रका बालबालिका पनि इन्टनेटमा समस्या, बत्ति झ्याप्पझ्याप्प जाने समस्याका कारण पढ्न नपाएको, कोरोनाको कहरका कारण विद्यालयमा गएर सुरक्षित तरिकाले पढ्ने वातावरण नभएको अभिभावकको गुनासो छ ।

ललितपुरको महालक्ष्मिनगरपालिका ४ का निशा कार्कीकी छोरी लिटिलएन्जलमा कक्षा ११ मा भर्ना भएकिछिन् तर उनले पनि अहिले सम्म नेपाली र अङ्ग्रेजी बाहेक अन्य पाठ्यपुस्तक किन्न सकेकी छैनन् । उनले छिमेकीको गत वर्षको बुक मागेर पढ्न लगाउने गरेको बताउँछिन् ।

पाठ्यक्रम विकास केन्द्रले गत भदौ १ गते नै ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ अनुसार सबै विद्यालयलाई पठनपाठन गराउने सूचना जारी गर्यो । त्यसलाई वेवास्ता गर्दै अधिकांश निजी विद्यालयले पुरानै पाठ्यक्रम अनुसार पठनपाठन गराउँदै आए पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत कार्तिक ३ गते सबै विद्यालयमा अनिवार्य पाठ्यक्रम प्रारुप, २०७६’ अनुसार नै पठनपाठन गराउन निर्देशन दियो ।

निजी विद्यालय तथा उच्च शिक्षालय सङ्घ (हिसान) लगायतले असहमित जनाए । गणित समर्थक हरुले पाठ्यक्रम प्रारुप, २०७६’ ले गणितलाई अनिवार्य विषयको सूचीबाट हटाएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेपछि पाठ्यक्रम कार्यन्वयनमा देखिएको अन्योलले अझ गति लियो ।

बालबालिकाहरु पहिलो त्रैमासिक परीक्षाको तयारी गरिरहँदा सम्म भगवता अर्याललगायतका समूहले दर्ता गराएको मुद्दाको पेसीसम्म हुन सकेको छैन । सर्वोच्चले असोजदेखि पेसीको तारिख मात्रै तौक्दै आएको छ । असोज ३० को पेसी सारेर कार्तिक २६, मंसिर ४, मंसिर २४ बाट फेरी पुस ६ गतेबाट १३ गतेलाई पेसी तारेख सारिएको छ । भोलि पनि निर्णय हुन नसके कक्षा ११ का विद्यार्थीका लागि कोभिड –१९ भन्दा घातक हुने विज्ञको तर्क छ ।

सर्वोच्चमा पटक पटक पेसी सार्नका लागि निवेदन दिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको पाठ्यक्रम विकास केन्द्रका एक अधिकृतले बताए । ‘कोरोना लगायतका करणले बालबालिकाले पढ्न पाएका छैनन् ।’ उनले भने, ‘कार्यान्वयनमा हलो अड्कियो , अब विद्यार्थीले पनि विकल्पको खोजी गर्नु पर्यो पढ्न पाउनुपर्छ भनेर मुद्दा हाल्नु पर्यो ।’

निजी विद्यालयले सामुदायिक विद्यालयमा नै गुणस्तरी शिक्षा प्रदान हुन थालेपछि आफ्नो व्यवसाय चौपट हुने डरले मुद्दामामलामा फसाएको सामुदायिक विद्यालयका शिक्षक तथा प्राध्यापकहरु बताउँछन् । पढाउन नसकिने, विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ जसरी कार्यान्ववयन हुनै पर्ने सामुदायिक विद्यालयका शिक्षकहरु बताउँछन् । ‘पाठ्यक्रम समयसापेक्ष परिवर्तन हुनुपर्छ, भएको छ ।’ विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल भन्न्छन्, ‘हामी सबै विषय पढाउन सक्षम छौं, सक्छौं सक्षम बनाउनका लागि हामीलाई मार्ग प्रदर्शन गर्ने निकाय छ, हामी छौं ।’

गणित विषयलाई प्रधान बनाएर कार्यान्वयनमा समस्या उब्जाएको भएपनि हामीले नयाँ पाठ्यक्रम अनुसार नै कक्षा ११ मा शिक्षण गराउँदै आएको रत्नराज्य माधयमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतम बताउँछन् । ‘२०७५ मा तयार गरिएको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ सोही वर्षदेखि कार्यान्वयन हुनुपर्ने हो तर अहिले पनि समस्या उब्जाइएको छ ।’ उनी भन्छन्, ‘नमिलेका विषयलाई थप परिमार्जन गरेर परिस्कृत गरेर भए पनि परिवर्तित पाठ्क्रम लागु गर्नै पर्छ, यसका लागि हामी तयार छौं ।’

पाठ्यक्रम प्रारुपले कक्षा ११ मा गणित विषयलाई अनिवार्यबाट हटाएर ऐच्छिकमा राखेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको यो पाठ्यक्रमले राज्य र निजी क्षेत्रका विद्यालय सञ्चालक बिच द्वन्द्व सिर्जना गरेको छ । यो विषय सर्वोच्चमा पुग्नै नहुने शिक्षाविद्को तर्क छ । एकातिर कोरोनाको त्रास अर्कातिर राज्य र केही सीमित मान्छेको द्वन्द्वका कारण आफ्ना छोराछोरीको शैक्षिक सत्र खेर जान नहुने अभिभावकको माग छ । विभिन्न समूहका मागका आधारमा विषय निर्धारण होइन, पाठ्यक्रमका विशेषज्ञ र विश्व अभ्यासका आधारमा विषय निर्धारण गरिनुपर्ने सामुदायिक विद्यालयका शिक्षकहरुको धारणा छ ।

Thuprai - Books and E-books