त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय :पुस्तक व्यवस्थापनमा समस्या


काठमाडौँ, २९ साउन (रासस):  त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पुस्तकालयको मर्मत तथा पुनःनिर्माणमा ढिलाइ हुँदा पुस्तक व्यवस्थापनमा समस्या देखिएको छ । 

विसं २०७२ को भूकम्पले पुस्तकालय भवन क्षतिग्रस्त भएको थियो । पुस्तकालय पुनःनिर्माण समयमै नहुँदा किताब, पत्रपत्रिका तथा पुराना संगृहीत पाठ्य सामग्री अव्यवस्थित छन् । भूकम्पका कारण केही महिना पुस्तकालय बन्द भएको थियो । छानाबाट पानी चुहिने तथा मुसा, कीराले किताब काट्ने समस्या बढ्दै गएको छ । 

विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय परिसरको कीर्तिपुरको केन्द्रीय पुस्तकालयमा करीब चार लाख पुस्तक सङ्ग्रह गरिएको पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । साहित्य, भाषा, संस्कृति, इतिहास, दर्शन, विज्ञानका पुस्तक, अन्तराष्ट्रिय जर्नल, पत्रपत्रिकालगायत सङ्कलन गरिएको छ । 

पुस्तकालयलाई विभिन्न मुलुकले अन्तर्राष्ट्रिय पुस्तक उपहारस्वरुप प्रदान गर्ने क्रम जारी छ । चिनियाँ दूतावासले हालै ६६४ थान पुस्तक उपहार प्रदान गरेको छ । चिनियाँ लेखकले लेखेका अन्तर्राष्ट्रिय महत्वका पुस्तक, नेपालीमा अनुवाद भएका किताब, चीनको तिब्बतः विगत र वर्तमान, तिब्बत चीनको सामाजिक इतिहास अभिलेख एवं चित्रसहित, सी चिनफिङ ‘चीनको शासन व्यवस्था’लगायत पुस्तक पुस्तकालयलाई प्रदान गरिएको छ । यसअघि दक्षिण कोरियाले २६६ थान पुस्तक प्रदान गरेको छ । 

आन्तरिक पुस्तक व्यवस्थापनमा चुनौती भइरहेका बेला विभिन्न देश तथा संस्थाबाट आएका पुस्तक र कृति व्यवस्थापनमा समस्या भएको प्रमुख अधिकारीले बताउनुभयो । सुन्दर, शान्त वातावरणको त्यस क्षेत्रमा पाठ्य सामग्री, विविध सन्दर्भ सामग्री काठ र फलामका दराजमा राखिएको छ । प्राचीन महत्वका करीब ५०० पुस्तक, हस्तलिखित ग्रन्थका साथै करीब २० हजार शोधपत्र पुस्तकालयमा सुरक्षित छन् । केही शोधपत्रलाई वेबसाइटमा राख्न थालिएको छ । 

पुस्तकालयमा जडान गरिएको विद्युतीय प्रविधि तथा सिसी टिभीका कारण अहिले किताब हराउने समस्या छैन । दक्ष प्राविधिक र अन्य जनशक्तिको अभावले अत्याधुनिक सेवा सहजरुपमा उपलब्ध हुन सकेको छैन । विद्यार्थीलाई इन्टरनेट उपलब्ध छ भने स्वदेशी तथा विदेशी पाठकले सेवा लिदै आएका छन् । 

सन् २००० देखि पुस्तकालयले स्वदेशबाट प्रकाशित हुने पुस्तकलाई इन्टरनेशनल स्ट्याण्डर्ड बुक नम्बर ( आइएसबीन )समेत प्रदान गर्दै आएको छ । मुलुकका विभिन्न भागमा सामुदायिक पुस्तकालय बनाएर समुदायलाई हस्तान्तरण गर्दै आएको रिड नेपालका कार्यक्रम संयोजक चीनकाजी श्रेष्ठले देशको केन्द्रीय पुस्तकालयको मर्मत गरेर त्यहाँ भएका महत्वपूर्ण पाठ्य सामग्रीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

धेरैलाई ज्ञान बाँडेको सो पुस्तकालयले देशका १४७ शैक्षिक संस्थालाई विद्युतीय पुस्तकालयको सेवा सञ्चालन गर्न दिएको छ । विद्यार्थीलाई रु १५० शुल्क लिएर मासिक १० घण्टा विद्युतीय पुस्तकालय अध्ययनको व्यवस्था मिलाइएको छ । 

कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले मुलुकमा लामो इतिहास बोकेको पुस्तकालयको संरक्षण गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सोही संस्थाको सहयोगमा नगरपालिकाले छिट्टै विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । विश्वविद्यालय अनुदान आयोगबाट विद्युतीय स्रोतसामग्रीका लागि रु ४७ लाख प्राप्त भएको पुस्तकालयले जनाएको छ । 
––– 

– कृष्णराज गौतम 

Thuprai - Books and E-books