कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।
कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी कलेजसँगको सहकार्यमा शनिबार आयोजना गरेको एक वेबिनारमा नेपाल, थाइल्याण्ड र नर्वेका प्राविधिक तथा गैर–प्राविधिक प्राज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।
कोभिड–१९ का कारण उच्च शिक्षामा पुगेको बाधालाई हटाएर यसलाई निरन्तरता दिन यसरी भर्चुअल शिक्षामार्फत् सीप विकास गर्ने र हालको केन्द्रिकृत परीक्षा प्रणालीमा परिवर्तन गर्नुपर्ने सुझाव आएको हो ।
वरिष्ठ शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका पूर्व डीन मनप्रसाद वाग्लेले कोभिड–१९ पछि उच्च शिक्षाको अवस्था चित्रण गर्दै सबै संस्थाबीच समन्वय आवश्यक भएको बताए । यस महामारीपछि उच्च शिक्षाको रोडम्याप तयार गर्न उनले सबैलाई आह्वान गरे ।
कल्प एकेडेमीका अध्यक्ष डा. प्रल्हाद कार्कीले उच्च शिक्षाका सबै सरोकारवालालाई एकै ठाउँ ल्याएर उच्च शिक्षा र शैक्षिक संस्थालाई महामारीपछि पनि कसरी दीगो बनाउने भन्नेमा जोड दिनुपर्ने औँल्याए ।
संयुक्त राष्ट्रसंघ दीगो विकास समाधान सञ्जाल तथा दीगो विकास एकेडेमीको सहयोग रहेको ऊक्त कार्यत्रममा देश–विदेशबाट विभिन्न सङ्कायका ११७ भन्दा बढी सहभागी थिए ।
नास्टका प्राज्ञ तथा प्रस्तावित मदन भण्डारी विज्ञान–प्रविधि विश्वविद्यालयका प्राध्यापक डा. रमेश कुमार मास्केले इन्जिनियरिङ र प्राविधिक विषयमा अनलाइन शिक्षाको चुनौती औँल्याए । उनले डिजिटल विभेदका कारण कसरी उच्च शिक्षामा ज्ञान, सीप र विचारमा फरक आउने जनाए ।
काठमाडौँ विश्वविद्यालयका डा. मनिष पोखरेलले उच्च शिक्षाका सबै सरोकारवालालाई एक ठाउँमा ल्याई महामारीपछिका लागि नयाँ शिक्षण शैली विकास गर्नुपर्ने बताए । अनलाइन शिक्षणलाई पुरानो शैलीको शिक्षणलाई निरन्तरता दिनेजस्तो नगरी शिक्षण शैली एवं पाठ्यक्रम मिलाउनुपर्ने उनले बताए । उच्च शिक्षाका लागि दूरदर्शी नेतृत्वको आवश्यकता उनले औँल्याए ।
मिडिया प्राध्यापक रामकृष्ण रेग्मीले कार्यक्रममा यस्ता छलफलले उच्च शिक्षाका सरोकारवालालाई भविष्यका यस्तै बाधाविरुद्ध सुदृढ बनाउने र ‘न्यु–नर्मल’ अवस्थाको परिष्कृत शिक्षण शैली विकास गर्नुपर्नेमा जोड दिए ।
थाइल्याण्ढका किङ्ग मोङ्गकुट विश्वविद्यालयका खगेन्द्र राज ढकालले एक अध्ययनलाई उद्धृत गर्दै विद्यार्थीहरूले शिक्षाको निरन्तरता खोजेको जनाए । उनले उच्च शिक्षामा विद्यार्थी–केन्द्रित हुँदै भर्चुअल स्थानलाई पनि महत्त्व दिन सुझाव दिए ।
नर्वेका एग्डर विश्वविद्यालयका डा. देविन्दर थापाले यस अवस्थालाई उच्च शिक्षामा नयाँ कदमको अवसरको रूपमा लिनुपर्ने जनाए । उनले पाठ्यक्रमलाई नै परिवेश सुहाउँदो बनाउनुपर्नेमा जोड दिए ।
छलफलमा सहजकर्ताका रूपमा आभास धरानन्द राजोपाध्यायले यस किसिमको वैचारिक मन्थनले नयाँपन दिने र विपद्को यस परिस्थितिमा उच्च शिक्षाको निरन्तरताका लागि प्रेरणादायी हुने बताए ।