सानैदेखि सबैले असल बानी भएको भन्थे । पढाइ पहिलो प्राथमिकतामा थियो । आफैं केही गर्नुपर्छ भन्ने अठोट थियो । कसैले उनलाई कहिल्यै कम्प्लेन गरेन । उनलाई अभिभावक तथा शिक्षकले गाली गरेकै थाहा छैन । यो विषेशता हो त्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा बीबीए टपर बनेकी नम्रता कोइरालाको । परीक्षा हलमा बस्दा राम्रो गरे भन्ने उनलाई थाहा थियो तर त्रिविको टपर बन्छु भन्ने सोचेको थिइनन् । ‘मेरो लेखन शैली राम्रो छ, सबै विषयलाई विश्लेषण गरेर लेख्न सक्छु त्यसैले टपर भएँ होला जस्तो लाग्छ ।’ उनी भन्छिन्, ‘असाध्यै खुसी छु सोचेभन्दा राम्रो उपलब्धि हात पारेछु ।’
अरुको नक्कल कहिँल्यै गरिनन् । जति पढिन् बुझेर मात्र पढिन् । ‘अरुले के गर्छन् त्यसको नक्कल कहिल्यैं गर्दिन । सानालाई माया गर्छु ठुलालाई आदार । कलेजका हरेक कक्षामा बस्छु । सरले भनेको कुरा बुझेर मात्र अर्को पाठ पढ्न सुरु गर्छु । म चौबिसैं घण्टा पढ्दिन जति पढ्छु बुझेर मात्र पढ्छु । घोक्दिन त्यसैले मैले पढेको विषयमा मेरो रोजाइको त्रिविमै अब्बल विद्यार्थी बन्न सकें । आफैंले चाहेको विषयमा गहन अध्ययन गर्छु । बुझ्न खोजेको कुरा सतहमा पुगेर नै बुझ्छु । त्यसैले मैले यो सफलता पाएँ ।’ कोइराला बताउँछिन् ।
उनका बुबा यातायात व्यवस्थापन कार्यलय भक्तपुरमा अधिकृत छन् । आमा सुरुमा शिक्षण पेसामा आवद्ध भए पनि अहिले छोराछोरी र परिवारका लागि समय बिताउँछिन् । उनको परिवारिक पृष्टभूमि शैक्षिक हिसाबमा राम्रो छ । पुर्खैली घर सिन्धुली भए पनि उनी काडमाडौंको पेप्सिकोलाकी स्थायी बासिन्दा हुन् । उनले बीबीएमा ३.८४ सीजीपीए ल्याएर त्रिवि टपर भएकी हुन् ।
उनको लगन असाध्यै राम्रो छ । सानैबाट विद्यालयले दिएको गृहकार्य पहिले गरेर मात्र अन्य काम गर्ने नम्रताले पेप्सिकोलाको ग्लोबल पब्लिक स्कुलबाट २०६९ मा माध्यमिक शिक्षा परीक्षा एएएलसी उत्तीर्ण गरेकी हुन् । उनले एसएलसीमा ८८.३ प्रतिशत ल्याइन् ।
उनलाई त्यो प्रतिशत चित्त बुझेन । लामो समय ९० प्रतिशत ल्याउन नसकेकोमा नरमाइलो लागेको अनुभूति सुनाउछिन् । ‘यो प्रतिशत नराम्रो होइन, तिमी अहिले पनि विद्यालय टपर नै हौं । चिन्ता नगर एक दिन तिमी आफ्नो विषयमा अब्बल बन्छौं भनेर सरले सम्झाएको अहिले जस्तो लाग्छ ।’ सरले सम्झाएको स्मरण गर्दै भन्छिन्, ‘त्यो बेला मेरा गुरुले प्रदान गरेको उत्प्रेरणा र परिवारको मायाले रामवाणको काम गर्यो ।’ उनी थप्छिन्, ‘जबजब आफूलाई अध्ययनमा समस्या महसुस हुन्थ्यो यही वाक्य सम्झिएर आफ्नो प्रयास जारी राखे । ’
उनले कक्षा १० पछिको अध्ययन काटेश्वरको सीसीआरसी कलेजबाट सुरु गरिन् । सीसीआरसी कलेजबाट कक्षा १२ साइन्समा ७८.९० प्रतिशत ल्याएर उत्तीर्ण गरिन् ।
१२ पछि विषय परिवर्तन
उनलाई सुरुमा गाइड गर्ने मानिस थिएनन् । सबैले साइन्समा राम्रो भविष्य हुने सल्लाह दिए । उनले पनि अभिभावक, शिक्षक र साथीको सल्लाहमा कक्षा ११ र १२ साइन्समा त गरिन् तर उनलाई आफ्नो भविष्य साइन्समा भन्दा बीबीएमा उज्वल देखेर स्नातकमा विषय परिवर्तन गरिन् । उनले स्नातक तहमा व्यवस्थापन संकायको बीबीए विषय छनोट गरिन् । उनले यो विषय अध्ययनका लागि के एण्ड के इन्टरनेसनल कलेजमा भर्ना भइन् ।
समयमा नै उचित परामर्श, सल्लाह पाएर उनले आफ्नो गन्तब्य बीबीए बनाइन् । उनले बीबीएमा त्रिविकै उत्कृष्ट विद्यार्थी बनिन् ।
त्रिवि नै रोज्नुको कारण
नेपालमा ११ ओटा विश्वविद्यालय सञ्चालनमा छन् । तर उनी त्रिवि प्रति विश्वस्तछिन् । त्रिवि भनेको क्वालिटी पनि हो । निहित मान्छेको स्वार्थका कारण उत्पन्न समस्यालाई सामान्यीकरण गरेर त्रिविलाई नराम्रो भन्ने पक्षमा उनी छैनन् । ‘त्रिवि आफैंमा ब्राण्ड हो । त्यसैले त्रिवि रोजें ।’ उनी भन्छिन्, ‘अरु विश्वविद्यालय पनि राम्रा छन् तर मलाई त्रिविका धेरै पक्ष मनपर्छ त्यसैले मेरो रोजाइमा त्रिवि परेको हो ।’
त्रिविमा हुने अनावश्यक राजनैतिक हस्तक्षेप र त्यसबाट विद्यार्थीको पठनपाठन पर्ने बाधा प्रति उनी दुखित हुन्छिन् । त्रिविका सबै सम्बन्धन प्राप्त र आङ्गिक क्याम्पसमा स्वच्छ शैक्षिक वातावरण बन्न सक्यो भने सबैको रोजाइमा त्रिवि पर्ने उनको विश्वास छ ।
अहिले एमबीए फाइन्यान्स अध्ययन गर्दै
अहिले उनी त्रिविको व्यवस्थापन केन्द्रीय विभाग एमबीए फाइन्यान्समा स्नातकोत्तर गर्दै छिन् । उनलाई स्नातक तहमा पाएको सफलतालाई यथावत राख्न कम चुनौती भने छैन । तर ढृण संकल्पका साथ यो खुसीलाई निरन्तर कायम राख्ने प्रयत्न गर्ने प्रतिवद्ध भएर पढाइलाई निरन्तरता दिँदै छिन् । उनलाई स्नातकपछि विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट रोजगारीको अफर आए पनि उनी स्नातकोत्तर तहसम्म केवल विद्यार्थी बनेर पढ्न चाहन्छिन् ।
बैङ्कर बन्ने योजना
उनको लक्ष्य सरकारी अफिसर बन्ने छ । यतिमात्र होइन राम्रो पढेर विश्वका चर्चित विश्वविद्यालय मध्ये एक विश्वविद्यालयबाट फाइन्यान्समा नै पूर्ण छात्रवृत्तिमा विद्यावारिधी गर्ने सपना सजाएर आफूले पढाइलाई प्राथमिकतामा राखेको बताउँछिन् । उनको लक्ष्य भनेको बैङ्किङ क्षेत्रमा पहिचान बनाउने छ । उनी पढाइमा मात्र होइन घरायसी काममा पनि पोख्त छिन् । उनलाई नेपाली परम्परागत खाना बनाउन खुब मनपर्छ ।
एमबीए फाइन्यान्समा भविष्य
यो विषय फाइन्यान्स तथा बैङ्कसंग सम्बन्धित विषय हो । फाइनान्स क्षेत्रमा काम गर्नको लागि म्याथ,अर्थतन्त्र, एकाउन्टमा पोक्त हुनु जरुरी छ । यो र्कोष पढेपछि फाइन्यान्स, अकाउन्टिङ, बैंकिङ, को–ओपरेट फाइनान्समा रोजगारीको अवसर देखेर यो विषय रोजेको उनी बताउँछिन् । यति मात्र होइन आफैं स्वरोजगार बन्न सकिने भएर नै यो विषय उनको राजाइमा परेको हो ।
विद्यार्थीले लक्ष्य पुरा गर्न
सामाजिक सञ्जालको सकारात्मक नकारात्मक पक्ष छन् । साकारात्मक पक्षलाई सदुपयोग गर्नुपर्छ । विषय रोज्नुपूर्व नै आफ्नो गन्तव्य चुनेपछि सोही गन्तव्यमा पुग्न एकोहोरो पढ्नु नपर्ने उनी बताउँछिन् । जति पढिन्छ उति नै बुझ्न जरुरी छ । स्कुल तथा कलेजमा भएका सबै कक्षामा सहभागी हुनुपर्छ । असाइनमेन्ट बुझेर गर्नुपर्छ । विषय बुझेपछि कोर्समा भएको कुरालाई बृहत रुपमा विश्लेषण गर्न सक्नु पर्छ । प्रायोगात्मक विषय र सैद्धान्तिक विषयलाई ब्यालेन्स गरेपछि विद्यार्थीको उपलब्धि सोचे भन्दा राम्रो हुने उनको विश्वास छ ।
कलेज छनोट
उनको विचारमा विद्यार्थीले कलेज छनोट गर्दा सबैभन्दा पहिलो कलेजको शैक्षिक वातावरणको गहन अध्ययन गर्नुपर्ने उनको सुझाव छ । कलेजमा विद्यार्थी छिर्ने बितिकै विद्यार्थीले उसले रोजेको विषयमा प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान आर्जन गर्न सक्ने हुनुपर्छ । कलेजमा शैक्षिक तथा पारिवारिक वातावरण भएको रोज्नुपर्छ । ‘विद्यालय शिक्षा कक्षा १२ सम्म भइसकेको छ त्यसैले अब कक्षा ११ र १२ जहाँ पढेपनि फरक पर्दैन ।’ उनी भन्छिन्, ‘खर्च, समय दुवैलाई बचत गर्नेगरी घरै छेउको विद्यालयमा कक्षा १२ सम्म पढे हुन्छ त्यसपछि भने, कलेजको शैक्षिक वातावरण हेरेर कलेज छनोट गर्नुपर्छ ।’
विद्यार्थी सफल हुन
कसैले पनि अर्काको देखासिखी गरेर उसको भन्दा राम्रो गर्छु भन्ने सोच राखेमा सफल हुन गाह्रो हुन्छ । तर, सबैले म यो भन्दा राम्रो कसरी गर्न सक्छु भनेर विषयवस्तु बुझेर पढेमा राम्रो हुने उनको सुझाव छ । सुरुमा विषय छनोट गर्दा नै म यो विषयमा केही गर्न सक्छु, मैले पढेको विषयको स्कोप यस्तो छ भनेर बझेर पढ्न सुरु गरेमा विद्यार्थी सफल हुने उनी सुझाउछिन् । विषय छनोटका लागि ‘विषय छनोटमा गुरुवर्ग तथा अग्रजहरुको ठूलो भूमिका रहेको हुन्छ । के पढ्ने, कहाँ पढ्ने भन्ने कुरामा उहाँहरुको निर्देशनको खाँचो पर्छ ।’ उनी भन्छिन्, ‘सुझाव, स्कोप र आफ्नो रुचिको विषय छनोट गर्नुपर्छ समय अनुसार विद्यार्थी परिवर्तन्सील हुनुपर्छ, परिवार अनि गुरुवर्गले विद्यार्थीहरुलाई हतोत्साहित गर्नुहुँदैन । अझै मेहनत गर्न थप प्रोत्साहन दिनुपर्छ । र, सन्तानको इच्छा विपरीत आफ्नो चाहनाका लागि विद्यार्थीलाई धकेल्नु पनि अनुचित हुन्छ ।
साथी संगति
विद्यार्थीलाई साथीको संगतले पनि प्रभाव पार्छ । त्यसैले समयमै साथीको बानी व्यबहारका बारेमा जानकार हुनुपर्छ । असल साथीको संगतले बिग्रिएको साथी पनि सही बन्छ त्यसैले साथी समूह राम्रो आचरण भएको रोज्नुपर्छ ।