After SEE Portal

विद्यालयले कक्षा १० को मूल्याङ्कन अङ्कका आधारमा गर्नुपर्ने

Bridge Course

विद्यालयहरुले कक्षा १० का विद्यार्थीको अङ्कका आधारमा मूल्याङ्कन गर्नुपर्ने छ । उनीहरुले यसरी प्राप्त गरेको अङ्कलाई विद्यालयले सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनुपर्ने छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले भने, “विद्यार्थीले प्राप्त गर्ने अङ्कसहितको विवरणलाई एकाइमा पठाउनुपर्नेछ । एकाइले हामीलाई उपलब्ध गराउनेछ । त्यो अङ्कमा दिइएको नतिजालाई हामीले अक्षराङ्कनमा परिवर्तन गर्नेछौँ ।”

विद्यालयहरुले कहिलेसम्ममा त्यस्तो विवरण उपलब्ध गराइसक्नुपर्ने भन्ने स्पष्ट गरिएको छैन । यतिबेला विद्यालयका शिक्षक तथा प्रधानाध्यापक आफै अलमलमा परेको अवस्था छ । सरकारले विद्यालयलाई नै आन्तरिक मूल्याङ्कन गर्ने जिम्मेवारी र अधिकार हस्तान्तरण गरेको छ । तर विद्यालयहरु कुन र कस्तो मापदण्डका आधारमा मूल्याङ्कन गर्ने भन्नेमा अलमलमा छन् । 

सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालले आज आयोजना गरेको भर्च्युअल छलफलमा बोर्डका अध्यक्ष डा. पौडेलले मापदण्ड वा कार्यविधि तोक्ने अधिकार आफूहरुलाई नदिइएको स्पष्ट गर्दै भने, “विद्यालयले सही मूल्याङ्कन गरेर नतिजा पठाइदियून् भन्ने हामीहरुको चाहना हो । कम अङ्क दिइयो भनेर विद्यार्थीलाई परेको मर्का सुनिदिने अवस्थामा पनि हामी छैनौँ । त्यसैले विद्यालयले सहीरुपमा मूल्याङ्कन गरेर पठाएको नतिजालाई नै हामीले प्रमाणीकरण गरिदिनेछौँ ।”

उनले छिटै बस्ने बोर्ड बैठकले कहिलेसम्ममा विद्यालयले मूल्याङ्कन गरिसक्नुपर्ने भन्ने बारेमा निर्णय लिनसक्ने बताउँदै सो नभए पनि छिटोभन्दा छिटो विवरण पठाइदिन आफूहरुले आग्रह गरेको बताए ।

शिक्षा नियमावलीमा ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । तयारी परीक्षा वा सेन्टअप वा अन्य नामबाट अहिले पनि विद्यालयहरुले एसईई अगाडि परीक्षा लिने गरेका छन् । विद्यालयहरुले सोही परीक्षालाई आधार बनाएर मूल्याङ्कन गर्ने देखिएको छ । सेन्टअप परीक्षा लिनु नियम विपरीत ठहर्ने भनी कुनै पनि कानुनी व्यवस्था छैन । तर कतिपय विद्यालयहरुले यस्तो परीक्षा नलिएको दावी गर्दै आएका छन् । त्यस्ता विद्यालयलाई मूल्याङ्कनको आधारमा समस्या पर्ने देखिएको छ । 

ठोस मूल्याङ्कन आधार हुन नसक्दा धेरै अभिभावकले यतिबेला विद्यालयहरुलाई आफ्ना छोराछोरीको प्राप्ताङ्क बढी उल्लेख गरिदिन दवाव दिन थालिसकेका छन् । विभिन्न नामबाट एसईईभन्दा अगाडि लिइएका तयारी परीक्षामा कडा प्रश्न सोध्ने र उत्तरपुस्तिका पनि कडाइका साथ परीक्षण गर्ने भएकाले कम अङ्क आएको दावी अभिभावक तथा विद्यार्थीको छ । कालिका मानव ज्ञान विद्यालय, वुटवलका प्रधानाध्यापक घनश्याम पाठकले अभिभावकले अङ्क बढाइदिन ‘फोर्स’ लगाउन थालिसकेको बताउँदै भने, “जीपीए ४.० दिन दवाव दिँदै आएका छन् ।”

पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधरले विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गर्ने शिक्षक हो र उनी इमान्दार हुनुपर्दछ भने । “कक्षा ८ को परीक्षा स्थानीय सरकारले गर्ने, कक्षा १० को प्रदेश सरकारले र कक्षा १२ को सङ्घीय सरकारले गर्ने बाटोतर्फ जाने सोच भए पनि त्यस किसिमले गर्ने वा नगर्ने भन्ने निर्णयमा जान बाँकी नै छ । त्यसैले यस बारेमा तत्काल निर्णय गरिदिनुपर्दछ” उनले भने, “राम्रो तयारी नगरेर निर्णय गरेकोले अन्योल सिर्जना भएको हो । त्यसैले अन्योललाई छिटै अन्त्य गर्नुपर्दछ ।”

सांसद गगन थापाले संसदले नै अब एसईई र कक्षा ११ को परीक्षा नगर्नू भनेर निर्देशन दिइसकेकोले यसै वर्षबाट ती दुवै परीक्षा हुँदैन भन्दै थपे, “यस वर्ष यी परीक्षा हुँदैन र आगामी वर्षदेखि पनि यसले निरन्तरता पाउनेछ ।”

उनले आन्तरिक मूल्याङ्कनको अधिकार विद्यालयलाई दिएर राज्यले शिक्षकलाई विश्वास गर्न खोजेको तर्क गर्दै अब यो विश्वासको जिम्मेवारी विद्यालय र शिक्षकले वहन गर्न सक्नुपर्ने बताए । अब हामीहरुको पालामा प्रवेशिका परीक्षा यस्तो थियो भन्ने कुराले कुनै अर्थ राख्दैन भन्दै संसदले टुङ्ग्याइसकेको विषयमा अन्योलमा रहीरहनु आवश्यक नरहेको बताए ।

शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले प्रश्नपत्र तयार गर्न शिक्षकलाई दिइएको, उत्तरपुस्तिका परीक्षण गर्न पनि शिक्षकलाई दिइएको, अङ्क दिन पनि शिक्षकलाई दिइएको तर नतिजा निकाल्न विद्यालयलाई नदिइनु गलत भएको बताउँदै शिक्षकप्रति विश्वास गर्नुपर्ने बताए ।

उनले विद्यालयहरुले कक्षा १० मा तीनवटा परीक्षा लिइसकेको र तिनै नतिजालाई ७२ घण्टाभित्र एकाइमा पठाइदिन निर्देशन दिइएको भए हुन्थ्यो भन्दै थपे, “अभिभावकले अङ्क वृद्धिका लागि दवाव दिए भन्ने कुरा नगरौँ । शिक्षक इमान्दार छन् । शिक्षक आफ्नो मानमर्दन भएको चाहदैनन् मानसम्मान चाहन्छन् ।”

डा. वाग्लेले अङ्क वृद्धिका लागि दवाव दिने र अङ्क थपिदिने दुवैलाई जेलमा हाल्नुपर्दछ भन्दै थपे, “अङ्क वृद्धि गर्छन् भन्ने शंका भए रिलेटिभ ग्रेडिङ्मा जान वाध्य हुनुपर्दछ ।”

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. जयराज अवस्थीले शिक्षक इमान्दार भए कसैसँग डराउनुपर्दैन भन्दै आन्तरिक मूल्याङ्कन गर्दा शिक्षक इमान्दार हुनै पर्ने धारणा व्यक्त गरे । उनले राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाइदिएर सोहीअनुसार इमान्दारीका साथ मूल्याङ्कन गर्न सके कोही अन्यायमा नपर्ने बताए ।  

समाजका अध्यक्ष भीमप्रसाद पोखरेलले आफ्नो हातमा अधिकार आएको भन्दैमा शिक्षकले गलतरुपमा मूल्याङ्कन नगर्नु उपयुक्त हुने बताए ।

 

 

A Levels MA
Thuprai - Books and E-books