संयुक्त राष्ट्र संघीय बाल कोष (युनिसेफ)ले संसारका ९९ प्रतिशत बालबालिका कोभिड-१९ को महामारीका कारण आवतजावतमा कडाइ गरिएको अवस्थामा बाँचिरहेका र ६० प्रतिशत बालबालिका पूर्ण वा आंशिक बन्दाबन्दी (लकडाउन) भएका देशमा रहेको उल्लेख गरेको छ ।
युनिसेफका कार्यकारी निर्देशक हेन्रिएटा फोरले जारी गरेको विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । उनले विज्ञप्तिमा भनेका छन्, “शिक्षाको क्षेत्रमा, एउटा पुरै पुस्ताले आफ्नो शिक्षामा अवरोध आएको अनुभव गरेका छन्। राष्ट्रिय स्तरमा विद्यालयहरू बन्द गरिनाले संसारभरका १५ करोड ७० लाख, अर्थात, लगभग ९१ प्रतिशत विद्यार्थीको पढाईमा अवरोध आएको छ। हामीले यस अघि भएका यस प्रकारका बन्दको अनुभवमा देखेका छौ: लामो समयसम्म विद्यालय बन्द हुँदा उल्लेखनीय संख्यामा विद्यार्थीहरू, विशेषगरी बालिकाहरू विद्यालय फर्कने सम्भावना कम हुन्छ । विद्यालय बन्द भएसँगै विद्यालयमा दिईने पोषण कार्यक्रम पनि बन्द हुने हुँदा कुपोषणको दरमा वृद्धि हुन जान्छ । विद्यार्थीको एउटा सिंगो पुस्ताले आफ्नो सिकाइ र भविष्यमा क्षति व्यहोर्न सक्नेछन् । शिक्षा प्रति हाम्रो प्रतिवद्धता र हाम्रो लगानीलाई झनै सुदृढिकरण गर्ने कार्य योभन्दा अत्यावश्यक कहिल्यै भएको थिएन ।
युनिसेफले जारी गरेको विज्ञप्तिको पूर्ण पाठः
काठमाडौं, ७ बैशाख २०७७ – एक अदृष्य शत्रुको सामना गर्नका लागि हाल सारा संसार एकवद्ध भएको छ । कोभिड-१९ बाट जोगिन तथा यसको उपचार गर्नमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित भइरहँदा यो महामारी उप्रान्तपनि यसले उब्जाउन सक्ने अदृष्य प्रभावहरूका बारेमा भने हामी प्रत्यक्ष जानकार छैनौं । यो अवस्थामा परिवर्तन आउनै पर्दछ ।
बालबालिका र युवा कोभिड-१९ बाट संक्रमित मात्र भइरहेका छैनन् उनीहरू यस महामारीबाट अत्यन्त प्रभावित समुह मध्येमा पर्दछन् । यो महामारीले बालबालिकामा पार्ने प्रभावको सम्बोधन गर्न हामी तत्कालै अग्रसर भएनौं भने यसले हाम्रो साझा भविष्यमा स्थायी क्षति पुर्याउने निश्चित छ ।
“हाम्रो विश्लेषण अनुसार ९९ प्रतिशत बालबालिका तथा १८ वर्ष मुनिका युवा (२ अर्व ३४ करोड) कोभिड-१९ का कारण आवतजावतमा कडाई गरिएका १८६ देशहरूमा बसोबास गर्दछन्। त्यसैगरि ६० प्रतिशत बालबालिका पूर्ण (७ प्रतिशत) वा आंशिक (५३ प्रतिशत) बन्दाबन्दी गरिएका ८२ देशहरूमा बसोबास गर्दछन् जसमा कुल १४ करोड बालबालिका र युवा पर्दछन्।“
संकटका समयमा अन्य समुहको तुलनामा बालबालिका तथा जोखिममा रहेका वर्ग बढि प्रभावित हुने कुरा सर्वविदितै छ। यो महामारीपनि यस अर्थमा केहि भिन्न छैन। हरेक बालबालिकालाई कष्ट आईपर्नबाट जोगाउनु, जीवन रक्षा गर्नु तथा स्वास्थ्यको रक्षा गर्नु हामी सबैको जिम्मेवारी हो। अतिरिक्त क्षतिको न्युनिकरण तथा रोकथाम गर्नका लागि सबै भन्दा पछिल्ला र प्रमाणित सुचनाका आधारमा मात्रै सम्भावित जोखिमको आँकलन गरि सुशुचित निर्णय मार्फत रोग नियन्त्रणका कदमहरू अपनाउनु पर्दछ र त्यसैगरि दीर्घकालीन क्षति हुनबाट जोगिन उपयुक्त रोकथामका उपायहरू अपनाउनुपर्दछ।
विश्वव्यापी मन्दीका समयमा दूरगामी भविष्यका लागि लगानी गर्न हिच्किचाउनबाट यसको शुरुवात हुन्छ। शिक्षा, बाल संरक्षण, स्वास्थ्य तथा पोषण, खानेपानी तथा सरसफाईमा अहिले गरिएको लगानीले हालको महामारी मात्र नभई भविष्यमा आईपर्ने संकटले ल्याउने क्षतिको रोकथाम गर्नपनि सघाउनेछ। संसार पून: सामान्य लयमा फर्कनेछ र जब त्यो समय आउनेछ, सबैभन्दा कमजोर स्वास्थ्य प्रणालीको उत्थानशीलताले नै हामी भविष्यमा आउने संकटसँग जुध्न कत्तिको तयार छौं भनेर ईंकित गर्नेछ।
यो संकटको सम्बोधन गर्नकालागि संसारभरका देश तथा समुदायहरू एकजुट भएर लाग्नुपर्दछ। खोपको विकास नभईन्जेल संसारको जुनसुकै स्थानमा रहेका मानिसलाई पनि कोरोनाभाइरसको उच्च जोखिम रहने शिक्षा हामीले विगत दुई महिनामा निकै कष्ट भोगेर पाएका छौं। विश्वका हरेक देशहरूमा विश्वव्यापी विकासका प्राथमिकताका लक्ष प्राप्त गर्नका लागि स्वास्थ्य प्रणाली लगायत बालबालिका केन्द्रित सुरक्षा सेवाहरूको सुदृढिकरण गर्न आज नै उपयुक्त कदम चाल्न जरूरी छ।
सबैभन्दा जोखिममा रहेका बालबालिकालाई हानीबाट जोगाउनका लागि यसै हप्ता युनिसेफले विश्वव्यापी कार्यसुचीका विषयहरू पदार्पण गर्दैछ। यस सुचीमा छ मुख्य बुँदाहरू छन्: १) बालबालिकालाई स्वस्थ राख्नु; २) जोखिममा रहेका बालबालिका सम्म खानेपानी, सरसफाई र स्वच्छता पुर्याउनु; ३) बालबालिकाको सिकाईलाई निरन्तरता दिनु; ४) बालबालिकाका आवश्यकता पूर्ति गर्न तिनका परिवारलाई सघाउनु; ५) बालबालिकालाई हिंसा, शोषण तथा दुर्व्यवहारबाट जोगाउनु; र ६) शरणार्थी तथा आप्रवासीका साथै द्वन्द्वबाट प्रभावित बालबालिकाको संरक्षण गर्नु ।
तत्काल काम अगाडि बढाईएन भने यो संकट छिट्टै बाल अधिकार संकटको रूपमा परिणत हुने देखिएको छ। एकजुट भएर काम गरेमा मात्रै हामीले लाखौं बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा सिकाइ सुनिश्चित गर्न सक्छौं।
“स्वास्थ्यको सन्दर्भमा, कोभिड-१९ ले निम्न तथा मध्यम आय भएका देशमा रहेका अत्यन्तै कमजोर स्वास्थ्य प्रणाली माथि ठूलो चाप सिर्जना गर्नुका साथै विगतका कैयौं दशकको प्रयासबाट प्राप्त बालबालिकाको जीवन सुरक्षा, स्वास्थ्य, पोषण तथा अन्य विकासका क्षेत्रमा प्राप्त उपलब्धिलाई समेत प्रभावित पार्ने देखिएको छ। तर राष्ट्रिय स्तरका कैयौ स्वास्थ्य प्रणालीहरू पहिल्यै नै समस्याबाट गुज्रिईरहेका थिए। कोभिड-१९ को संकट आईपर्नुभन्दा पहिलेपनि संसारका ३२ प्रतिशत बालबालिकालाई निमोनिया भएको खण्डमा अस्पताल लाने गरिएको थिएन। कोभिड-१९ को प्रभाव चरम विन्दुमा पुगेको बेला झन् कस्तो अवस्था आउला? अहिल्यै हामीले खोप जस्ता आधारभूत सेवामा अवरोध आएको देखिसकेका छौं जसको कारण पोलियो, दादुरा तथा हैजा जस्ता रोकथाम र उपचार गर्न सकिने र खोप उपलब्ध भएका रोगहरूकोपनि प्रकोप उत्पन्न हुने सम्भावना देखिएको छ। पहिल्यै कमजोर रहेका विद्यमान राष्ट्रिय स्वास्थ्य सेवा प्रणाली कोरोनाभाइरसका कारण झनै प्रभावित भएमा कैयौं नवजात शिशु, बालबालिका, युवा तथा गर्भवती महिलाले कोरोनाभाइरस बाहेक अन्य स्वास्थ्य समस्याका कारण ज्यान गुमाउन सक्ने सम्भावना बढेको छ। त्यसैगरि कतिपय पोषणका कार्यक्रम प्रभावित भएका छन् भने कति बन्द भएका छन् र बालबालिकामा हुने कुपोषणको परिक्षण र उपचार गर्न लक्षित सामुदायिक कार्यक्रम समेत प्रभावित भएका छन्। संसारभर स्वास्थ्य तथा खाद्य प्रणालीलाई जोगाउन तथा सुदृढिकरण गर्नकालागि हामीले तत्कालै काम शुरु गर्नुपर्ने अवस्था छ।
“त्यसैगरि हात धुने उपयुक्त विधि तथा सरसफाईको असल अभ्यास अवलम्बन गरि आफु र अन्यलाई सुरक्षित राख्नु अत्यन्तै महत्वपूर्ण सावित भएको छ। तर धेरै बालबालिकाको लागि पानी, सरसफाई तथा स्वच्छता सम्बन्धी आधारभूत सुविधा पहुँचबाट बाहिर छ। विश्वभर ४० प्रतिशत जनसंख्या अर्थात ३० करोड मानिसका घरमा साबुन र पानी सहितको हातधुने सुविधा उपलब्ध छैन। यो संख्या अति कम विकसित राष्ट्रहरू मध्ये तीन चौथाई जनसंख्या बराबर हो। त्यसैले हामी हरेक घरपरिवार, विद्यालय तथा स्वास्थ्य संस्थामा स्वस्थ र सफा वातावरण रहेको सुनिश्चित गरौं।
“शिक्षाको क्षेत्रमा, एउटा पुरै पुस्ताले आफ्नो शिक्षामा अवरोध आएको अनुभव गरेका छन्। राष्ट्रिय स्तरमा विद्यालयहरू बन्द गरिनाले संसारभरका १५ करोड ७० लाख, अर्थात, लगभग ९१ प्रतिशत विद्यार्थीको पढाईमा अवरोध आएको छ। हामीले यस अघि भएका यस प्रकारका बन्दको अनुभवमा देखेका छौ: लामो समयसम्म विद्यालय बन्द हुँदा उल्लेखनीय संख्यामा विद्यार्थीहरू, विशेषगरी बालिकाहरू विद्यालय फर्कने सम्भावना कम हुन्छ। विद्यालय बन्द भएसँगै विद्यालयमा दिईने पोषण कार्यक्रम पनि बन्द हुने हुँदा कुपोषणको दरमा वृद्धि हुन जान्छ। विद्यार्थीको एउटा सिंगो पुस्ताले आफ्नो सिकाई र भविष्यमा क्षति व्यहोर्न सक्नेछन्। शिक्षा प्रति हाम्रो प्रतिवद्धता र हाम्रो लगानीलाई झनै सुदृढिकरण गर्ने कार्य यो भन्दा अत्यावश्यक कहिल्यै भएको थिएन।
“कोभिड-१९ को सामाजिक तथा आर्थिक असर संसारका सबैभन्दा जोखिममा रहेका बालबालिकामा पर्नेछ। ती मध्ये अधिकांश पहिले नै गरिबीमा बाँचिरहेका थिए भने कोभिड-१९ को नियन्त्रणका लागि अवलम्बन गरिएका कदमहरूले उनीहरूलाई झनै कठिनाईमा पार्ने जोखिम बढेको छ। करोडौं अभिभावकहरूले आफ्नो दैनिकी र जिविकोपार्जनलाई निरन्तरता दिन संघर्षरत रहँदा सरकारले पनि सुरक्षा सञ्जाल सुविधा दिएर, नगद हस्तान्तरण गरेर, रोजगारको सुरक्षा गरेर, रोजगारदातासँग सल्लाह गरेर कामकाजी अभिभावकलाई सुविधा दिनुका साथै परिवारको स्वास्थ्य, पोषण तथा शिक्षालाई प्राथमिकता दिने जस्ता सामाजिक सुरक्षाका प्रावधानहरूलाई विस्तार गर्नुपर्दछ।
विद्यालय बन्द रहँदा, सामाजिक सेवामा अवरोध आउँदा र आवतजावतमा प्रतिबन्ध लागेका अवस्थामा बालबालिकामाथि शोषण, हिंसा तथा दुर्व्यवहारको जोखिम उच्च रहने तथ्य हामीले विगतका स्वास्थ्य सम्बन्धी आपतकालीन परिस्थितिबाट सिकेका छौं। उदाहरणको लागि सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा ईबोलाको प्रकोपका बेला बाल श्रम, वेवास्था, यौन दुर्व्यवहार तथा किशारीहरूको गर्भवती हुने जस्ता घटनामा वृद्धि भएको थियो। बालबालिकाले सबैभन्दा बढि भोग्नुपर्ने हिंसाका घटना घरमै घटेका थिए। अधिकांश मुलुकहरूमा प्रत्येक ३ बालबालिका मध्ये २ भन्दा बढिले हेरचाहकर्ताहरूबाटै हिंसात्मक अनुशासन भोगेका थिए। त्यस्ता बालबालिका घरबाट बाहिर निस्किन नपाउँदा तथा विद्यालय, साथीहरू वा संरक्षणका सेवाबाट बञ्चित रहँदा कस्तो परिणाम आउला? यसै गरि लाखौं बालबालिकाले बाहिरी संसारसँगको सम्पर्क माध्यमका रूपमा सुचना प्रविधिको प्रयोग गर्दा उनीहरूलाई ईन्टरनेटका सम्भावित जोखिम र नकारात्मक परिणामबाट कसरी जोगाउन सकिएला? महिलामाथि हुने हिंसा र दुर्व्यवहार जस्तै बालबालिकामाथि हुने हिंसा र दुर्व्यवहारको रोकथाम गर्नकालागि सामाजिक अभियान अपरिहार्य भएको छ।
कोभिड-१९ को सम्बोधन गर्ने क्रममा पहिल्यै मानवीय संकटबाट गुज्रिरहेका बालबालिकालाई पनि बिर्सनु हुँदैन। सन् २०२० मा संसारभर नै मानवीय सहयोग आवश्यक पर्ने जनसंख्या उच्च रहने प्रक्षेपण गरिएको थियो र त्यस्ता संकटग्रस्त देशहरूमा बालबालिकामाथिको जोखिम झनै लम्बिने सम्भावना रहने र हालको महामारीका कारण यस्ता जोखिम झनै दोब्बर हुन जाने देखिन्छ। संयुक्त राष्ट्रसंघका महासचिवले कोभिड-१९ का लागि विश्वव्यापी मानवीय सहायता योजनाको घोषणा गर्नुभएको छ। परिवार तथा घर क्षतिग्रस्त हुन पुगि जोखिममा रहेका बालबालिकाको हक सुनिश्चित गर्नका साथै भाइरसको संक्रमणबाट तिनलाई जोगाउन लागि अब विश्वव्यापी समुदायकै भर छ।
अन्त्यमा, संकटका समयमा बालबालिकाको रक्षा गर्नु भनेको जीवन रक्षा गर्ने औषधी, खोप, सरसफाई तथा शिक्षा सामाग्रीहरूको उपलब्धता र पहुँच सुनिश्चित गर्नु हो। कोभिड-१९ को महामारीका कारण विश्वव्यापी उत्पादन तथा वितरण प्रणालीमा अभुतपूर्व दवाव परेको छ र यसै परिवेशमा हामीले समान वितरण सुनिश्चित गर्ने योजनाका साथ आवश्यक सामाग्रीहरूको उत्पादन तथा खरिद गर्ने प्रक्रियामा छौं। विशेषगरि कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूलाई हामी कोभिड-१९ को सामना गर्नका लागि आवश्यक सामाग्रीहरू उपलब्ध गराउन चाहन्छौं। यससँगै, हालै लागु गरिएका यात्रा निषेध, निर्यातमा निषेध तथा उत्पादन क्षमतामा बढेको चापका कारण स्वास्थ्य, शिक्षा, र खानेपानी तथा सरसफाईका कार्यक्रमको साथै मानवीय सहायताका कार्यक्रमहरुका लागि अत्यावश्यक सामाग्रीहरू खरिद गर्न तथा वितरण गर्न समस्या नभएको सुनिश्चित गर्न चाहन्छौं ।
बन्दाबन्दीको समयमा आफु र आफ्ना प्रियजनलाई सुरक्षित र स्वस्थ राख्नमा ध्यान केन्द्रित गर्दै गर्दा हामीले यस महामारीका कारण अदृष्ट पिडित बन्ने जोखिममा रहेका बालबालिकाई हामीले बिर्सन हुँदैन । भोलिको दिनमा उनीहरूको संसार कस्तो बन्नेछ र उनीहरूको भविष्य कस्तो बन्नेछ भन्ने विषय हाम्रो आजको जिम्मेवारी हो ।