A Levels MA

बारबर्दिया नगरपालिकाका विद्यालय २४२ दिन खुल्नु पर्ने

सबैको इच्छा, अनिवार्य निशुल्क सर्वसुलभ र गुणस्तरीय शिक्षा भन्ने नारालाई बारबर्दिया नगरपालिका बर्दियाले व्यवहारमा लागु गरेका छ । यसका लागि नगरपालिकाले पन्चवर्षीय नगर शिक्षा योजना तयार गर्ने भएको छ । उक्त योजनामा नगर भित्रका विद्यालयहरु २४२ दिन खोल्नै पर्ने र पढाई हुने दिनलाई २१४ दिन बनाउनु पर्ने व्यवस्था गर्ने भएको छ ।

‘हाम्रो विद्यालय राम्रो विद्यालय’ बनाउन सामुदायिक विद्यालयमा मेरो १ दिन कार्यक्रम संचालन गरेको छ । एक विद्यालय एक बगैचा कार्यक्रम लागु गरेको छ । बालबालिकामा पठन सिपको विकास गर्न अनुगमन तथा सुपेरीवेक्षण नियमित गरी सिकाई उपलब्धी वृद्धि गर्ने भएको छ ।

अभिभावक शिक्षा व्यापक बनाई जनचेतना जगाउन र प्रभावकारी बनाउन, वालविवाह न्यूनीकरण गर्ने, विद्यालयमा विद्यार्थीको नियमितता बढाउन साथै कक्षा दोहोर्याउने र विचैमा विद्यालय छाडने दर शून्य गर्न शिक्षामा नयाँ पद्धतिको विकास गरेको छ ।

नगरपालिकामा बसोबास गर्ने थारु, दलित, सहिद र वेपत्ता परिवारका विद्यार्थीलाई उच्च शिक्षामा डाक्टर र ईन्जिनियर अध्ययन गराउन छात्रवृत्तिको व्यवस्थापन गर्ने भएको छ । जनजाति,दलित तथा विपन्न वर्गका वालबालिकाको सिकाई सुधार गर्न विशेष किसिमका कार्यक्रम संचालन गर्ने योजना तय गरिने भएको छ । उक्त पञ्चवर्षीय योजनामा प्रत्येक बर्ष बालमैत्री वडा बनाइने नगरपालिकाले जानकारी दियो ।

यो शैक्षिक सत्र देखि लागु हने गरी सबै विद्यालयका प्रधानाध्यापले विद्यालय सुधार कार्ययोजना नगरपालिकामा अनिवार्य पेश गनुपर्ने भएको छ । सो कार्ययोजनाको मूल्याङ्कन गरी विद्यालयलाई ग्रेडिङ गरिने भएको छ । आगामी ३ बर्ष भित्र सबै विद्यालयलाई एक विद्यालय एक बगैचा कार्यक्रमलाई पूर्णतया कार्यान्वयन गरिने नगर शिक्षा शाखाले जानकारी दियो ।

शिक्षामा नयाँ अभ्यास तथा कार्यक्रम लागु गरेर यो नगरपालिका नेपालको पहिलो अनिवार्य आधारभूत शिक्षा सुनिश्चितता भएको नगरपालिका बन्न सफल भएको छ । २०७५ साल आषाढ २८ मा आधारभूत शिक्षा सुनिश्चितता गर्ने नगरपालिका घोषणा भएको हो ।

यो नगरपालिकामा रहेका विद्यालय उमेर समूहका बालबालिकाहरु मध्ये घरधुरी सर्वेक्षण गरी विद्यालय बाहिर रहेका २८७ बालबालिकालाई विद्यालयमा भर्ना गराइ नगर पहिलो आधारभूत शिक्षा सुनिश्चितता गर्ने नगरपालिका बन्न सफल भएको नगरप्रमुख दुर्गा बहादुर थारुले बताए । नगरपालिकाले नगरभित्रका १६ हजार ८८० घरधुरी सर्वेक्षण गरेर विद्यालय बाहिर रहेका बालाबलिकाको पहिचान गरेको थियो ।

प्रमुख थारु भन्छन्, ‘बालबालिकालाई विद्यालय भर्ना गराएपछि दुईओटा चुनौती देखा परे, विद्यार्थीलाई टिकाउनु र सिकाउनु ।’ त्यसका लागि गुणस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका प्रधानाध्यापकहरुसंग ३० बुँदे करार सम्झौता गरेको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा वित्तीय समानीकरण अनुदानबाट शिक्षामा ४ करोड १५ लाख ७७ हजार (२३.२२) बजेट विनियोजन गरेको नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयले कक्षा १ देखि कक्षा १० सम्म कुनै पनि शीर्षकमा शुल्क लिन नपाईने नगरकार्यपालिकाले निर्णय गरेको प्रमुख थारुले जानकारी दिए । शिक्षक दरबन्दी मिलान गरी तह अनुसार योग्यता पुगेका स्थायी शिक्षकलाई थप सुविधा सहित प्रधानाध्यापक नियुक्त गरेको छ । यस नगरपालिकामा विद्यार्थी सख्याको आधारमा शिक्षक सख्या अपुग भएकाले साबिकको निमावि र मा.वि.मा विषयगत शिक्षक र साबिकको प्रा.वि.मा विद्यार्थी सख्याको आधारमा १२० जना शिक्षक करारमा व्यवस्थापन गरेको छ ।

स्थानीय ९६ जना पूर्व प्राथमिक शिक्षकलाई मन्टेश्वरी तालिम प्रदान गरेको छ । उत्कृष्ट नतिजा ल्याउने शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन रकम विनियोजन गरिएको प्रमुख थारुले जानकारी दिए । प्रत्येक वडामा एकएक वटा ईसीडीलाई नमुना बनाउने लक्ष्य नगरपालिकाले लिएको छ । सबै विद्यालयमा दुई जना पूर्वप्राथमिक शिक्षकको व्यवस्थापन गर्न २६ जना पूर्वप्राथमिक कक्षाका शिक्षकको व्यवस्थापन गरिएको छ ।

सामूदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी मिलान गरी अधारभूत तहमा विद्यार्थी भएका विद्यालयमा शिक्षक नहुने र शिक्षक भएका विद्यालयमा विद्यार्थी नहुने परिपाटीलाई अन्त्य गर्न शिक्षक विद्यार्थी अनुपातको व्यवस्था गरेको छ । नियमानुसार शिक्षक व्यवस्थापन गर्न आधारभूत विद्यालयमा प्रतिशिक्षक ४९ जना विद्यार्थी र मा.वि.मा प्रति शिक्षक ५५ जना विद्यार्थी हुनु पर्ने व्यवस्था गरेको प्रमुख थारुले बताए । शिक्षकले सिकेका र तालिममा लिएका विषयवस्तुलाई कक्षाकोठामा प्रयोग गर्ने शिक्षकलाई प्रोत्साहन गर्ने व्यवस्था गरेको छ ।

यस नगरपालिकामा ७३ प्रतिशत थारु समुदायको बसोबास छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा वंशानुगत रुपमा लाग्ने भएकाले कक्षा ९ देखि नै सो रोग बारे विषयवस्तु तथा पाठ्यक्रम निर्माण गरी पठनपाठन गर्न थालेको छ ।

नगरले बालबालिका संरक्षण केन्द्र श्री सिम्हा मावि बेलभारमा सञ्चालन गरेको छ । जनतासँग मेयर कार्यक्रम अन्तरगत संचालित सो केन्द्रमा अहिले २३ अभिभावक विहीन, सडक वालवालिका र आर्थिक रुपले विपन्न बालबालिकाहरु अध्ययनरत छन् । नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्न करीब ३ हजार २६४ जना निरक्षरलाई साक्षर बनाउन ९५ जना सहजकर्तालाई निरन्तर शिक्षा कार्यक्रमका लागि क्रियाशील बनाएको छ ।

नगरपालिकामा अध्ययनरत आपाङ् विद्यार्थीलाई स्रोत कक्षामा व्यवस्थापन गरी पठनपाठन गराउन थालेको छ । व्हील चियर, आपाङ्गमैत्री सामग्री वितरण गरिएको, आर्थिक रुपले विपन्न विद्यार्थीलाई रु. २ हजार देखि ५हजारसम्मको शैक्षिक सामग्री पोशाक झोला वितरण गरिएको नगरपालिकाले जानकारी दियो ।

विद्यालयले दैनिक रुपमा सञ्चालन गर्ने शैक्षिक गतिविधिलाई व्यवस्थित गर्न प्रत्येक दिन फारम भरी सम्बन्धित वडाले सङ्कलन गर्ने गरेको छ । प्रारम्भिक कक्षाका विद्यार्थीको पठन सीप विकास गर्ने उद्देश्यले विभिन्न खालका रचनात्मक कार्यक्रमको आयोजना गर्ने गरेको छ । सो कार्यक्रम अन्तर्गत पढाई मेला र शैक्षिक सामग्री प्रर्दशनी मेला आयोजना गरेको छ । विद्यार्थीको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउने उद्देश्यले नगरभित्रका हरेक विद्यालयमा विभिन्न शीर्षकका १३ वटा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरेको छ ।

Thuprai - Books and E-books