बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन

म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले पहिलोपटक स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने भएको छ ।

समयको माग अनुसार प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने गरी स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषय (बिआईसीटीई) को अध्यापन गराउने भएको हो ।

सेमेस्टर प्रणाली अन्तर्गतको सो कार्यक्रम आठ सेमेस्टरमा चारवर्षे सञ्चालन गरिने छ । विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने क्याम्पसले जनाएको छ । क्याम्पसले पहिलो पटक सो कार्यक्रम सञ्चालनमा ल्याउन लागेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिए ।

जिल्लामा अत्यावश्यक र रोजागरको सम्भावना भएकाले कम्युटर र सूचना प्रविधि तथा विज्ञान विषयको अध्यापन गराउन लागिएको उनको भनाइ छ । अध्ययनका लागि कक्षा १२ मा न्यूनतम २.० जीपीए प्राप्त र विज्ञान विषय लिएर पढेको वा विज्ञान सङ्कायमा अध्ययन गरेका विद्यार्थीले आवेदन दिनसक्ने क्याम्पसले जानकारी दियो छ ।

स्थानतक तहमा कम्प्युटर र सूचना प्रविधि विषयमा धवलागिरिमै पहिलोपटक म्याग्दी क्याम्पसले अध्यापन गराउन लागेको क्याम्पसका निमित्त प्रमुख श्रीधर सुवेदीले जानकारी दिए । यस वर्ष ३५ जनाको कोटा रहेकामा अहिलेसम्म १२ जना सम्पर्कमा आइसकेका र यही फागुन १० गतेसम्म नियमित तथा फागुन १५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने उनले बताए ।

अध्ययन गर्न आउने विद्यार्थीलाई सुविधासम्पन्न छात्राबास भएकाले रोजगारमा कार्यरत र बाहिर जिल्लाबाट अध्ययनका लागि आउनेले समेत आवेदन दिएर भर्ना हुन सक्ने उनले जानकारी दिए । उनका अनुसार सो क्याम्पसले स्नातक तहमै शिक्षा सङ्कायमा विज्ञान विषयमा समेत अध्यापन गराउने भएको छ । अध्ययनका लागि कक्षा १२ मा न्यूनतम २.० जीपीए प्राप्त र विज्ञान विषय लिएर पढेको वा विज्ञान सङ्कायमा अध्ययन गरेका विद्यार्थीले आवेदन दिनसक्ने क्याम्पसले जानकारी दियो छ ।

विश्वविद्यालय अनुदान आयोगबाट (क्युएए) को प्रमाणपत्र प्राप्त क्याम्पसले यस अगाडि व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पठनपाठन गर्दै आएको छ भने शिक्षा र मानविकी विषयमा स्नातकोत्तर तहको पठनपाठन गराउने तयारीसमेत गरेको छ । क्याम्पस सञ्चालक समितिले क्याम्पसको भौतिक तथा शैक्षिक व्यवस्थापन थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरी कार्यविधि बनाएर अघि बढेको सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

विसं २०४८ पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल प्लस टु र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा रस्नातकोत्तर तहको पढाइ हुँदै आइरहेको छ । यहाँ करिब एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।

Thuprai - Books and E-books