CMAT

विद्यार्थीको आकर्षण, अभिभावक रोजाइमा छन् महिला नेतृत्वका विद्यालय

अथाह सिप । कोमल मन । घर परिवार र समाज चलाउने ज्ञान तथा दायित्व । संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै आएका महिलाले प्रशासनिक तथा शैक्षिक व्यवस्थापन गर्दै आएका विद्यालयमा खचाखच  विद्यार्थी छन् । के सामुदायिक ! के संस्थागत ! महिला प्रधानाध्यापक तथा व्यवस्थापक भएका  विद्यालयमा अहिले  विद्यार्थीको चाम खपिनसक्नु छ । अभिभावक, महिला प्रधानाध्यापक भएका  विद्यालयमा आफ्ना छोराछोरी पढाउन सकेसम्म प्रयास गर्छन् । तर पूर्वाधार तथा जनशक्ति अभावका कारण ती  विद्यालयले आए जति  विद्यार्थी भर्ना लिएर पढाउन सकेका छैनन् ।

कतिपयले प्रवेश परीक्षाको नाममा  विद्यार्थी भर्ना रोक्यो भन्ने आरोप ती  विद्यालयलाई लगाए पनि ती  विद्यालय थप  विद्यार्थीलाई नयाँ भर्ना दिएर पढाउन सक्ने अवस्थामा छैनन् । महिला प्रधानाध्यापक हुनु अघि  विद्यार्थी संख्या घटेर  विद्यालय नै बन्द गर्नु पर्ने अवस्थामा पुगेका  विद्यालयको समेत मुहार फेरिएको छ ।

पारिवारिक वातावरण । आमाको जस्तै माया गर्ने गुरु आमा । प्रधानाध्यापकको दुरदर्शी रणनीति तथा कुशल व्यवस्थापनले पुनः ब्युँझिएका हुन् । भने महिलाले चलाएका संस्थागत विद्यालयले पनि भर्ना हुन आएजति  विद्यार्थीलाई पढाउन सक्ने अवस्था नभएको विद्यालय सञ्चालकहरु बताउँछन् ।

आफूले सञ्चालन गरेको  विद्यालयको उज्वल भविष्यका लागि योजना निर्माण, सामूहिक छलफल शिक्षामा भित्रिएका नयाँ आयामको अध्ययन गर्दै  विद्यालयकै लागि दैनिक १६ घण्टा काम गर्छन् नृतृत्वमा पुगेका महिला शिक्षक तथा व्यवस्थापक । 

बालबालिकाको मनोविज्ञान अनुरुप वालमैत्री, सिकाइमैत्री र लैङ्गिक मैत्रीपूर्ण वातावरण विद्यालयमा स्थापित गर्न सक्ने क्षमता महिलामा भएकै कारण महिलाले नेतृत्व गर्दै आएका  विद्यालयमा  विद्यार्थी अभिभावकको चाम बढेको बताउँछिन् नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधर । ‘नेतृत्व लिन अब महिला आफैं अघि बढ्नुपर्छ ।’ अध्यक्ष तुलाधर भन्छिन्, ‘पहिलो पाठशाला घर, शिक्षक आमा, त्यसैले समाज रुपान्तरण गर्न महिला असल शिक्षक हुन जरुरी छ, असल शिक्षक भएको  विद्यालय स्वतः राम्रो हुन्छ ।’

कक्षा अवलोकन, निरीक्षण र मूल्याङ्कनको जिम्मा प्रध्यानाध्यापकलाई नै दिनुपर्छ । प्रध्यानाध्यापकलाई निश्चित कार्यादेशसहित काम गर्ने वातावरण, समय सान्दर्भिक शिक्षक तालिम दिन सके सिकाइ राम्रो हुन्छ । सिकाइ राम्रो भएको  विद्यालय सबैको रोजाइमा पर्ने नील बाराही माविका प्रधानाध्यापक तथा महिला शिक्षक समाजका अध्यक्ष डा. जानुका नेपाल बताउँछिन् । ‘सिकाइलाई जीवन्त र जीवनोपयोगी बनाउन शिक्षकमा नियमितता, जागरुकता, लगनशीलता, उत्प्रेरणा र पेशाप्रति सम्मान अनि आदरभाव हुनुका साथै विद्यार्थीप्रतिको जिम्मेवारी र कर्तव्यबोध हुनुपर्छ ।’ उनी भन्छिन्, ‘आफू भन्दा अग्रजको सल्लाह, लामो समयको लागि योजना र सरोकारवालामा जागरुकता भयो भने  विद्यालय सबैको राम्रो  विद्यालय बन्छ ।’

पढ्न चाहने सबैलाई भर्ना लिन सकिँदैनः प्रिन्सिपल भट्टराई

सन् २०११ मा काठमाडौंको कागेश्वरी मनोहरामा स्थापना भएको अक्षरा स्कुल अहिले धेरै अभिभावकको रोजाइमा पर्न सफल भएको छ । बिट्रिश काउन्सिलले प्रदान गर्ने आइएसए अवार्ड हात पार्न सफल सो  विद्यालय  विद्यार्थी केन्द्रीत शिक्षण विधिको अवलम्बन गरेर नै सबैको रोजाइमा पार्न सकेको  विद्यालयको धारणा छ ।

विद्यालयको चौतर्फि विकासका लागि  विद्यालयका निर्देशक तथा प्रिन्सिपल अञ्जु भट्टराइले दैनिक १२ घण्टा  विद्यालयकै काम र अन्य चार घण्टा छलफल, खोज तथा अनुसन्धानमा बिताउने गरेकी छिन् । संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको यो  विद्यालयले  विद्यार्थीको आनीबानीको अध्ययन गरी वैयक्तिक शिक्षण,  विद्यार्थी केन्द्रीत शिक्षण विधि, र  विद्यालयलाई दोस्रो घरको रुपमा विकास गर्न सकेको हुनाले सबैको रोजाइमा पर्न सकेको  विद्यालयका प्रिन्सिपल अञ्जु भट्टराइले बताइन् । ‘सिकाइ नम्बरमा काउण्ट हुन सक्दैन’ उनी भन्छिन्, ‘सिकाइ भनेको व्यक्तिको संवेगात्मक, भावनात्मक, प्रयोगात्मक र व्यवहारिक रुपमा हासिल गरेको सिप हो ।’

खोटाङ्को दिक्तेलमा नजन्मिएकी भट्टराईले  विद्यालयको विकास योजना निर्माण तथा कार्यसूचि परिचालनकै लागि दैनिक १६ घण्टा समय दिने गरेकी छिन् । सिकाइमा संस्कार, आईसिटी तथा नवीनतम् प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय अभ्यासको अनुसारण गर्न सके सबैको रोजाइमा पर्ने उनको दाबी छ । ‘सिकाइ साइकोलोजिकल हुनुपर्छ, सिकाइ बालमैत्रीपूर्ण वातावरणमा हुनुपर्छ’ उनी भन्छिन्, ‘महिला भएकै कारण व्यवस्थानमा उच्च शिक्षा हासिल गरेको भए पनि बालबालिकाको कोमल मनसंग आफू पनि उनीहरुमै समाहित गर्न शिक्षण पेसा रोजेको हुँ ।’

अक्षराको  विद्यार्थी सिट संख्या ६०० मात्र छ । २३ रोपनीमा फैलिएको यो  विद्यालयमा कक्षा एक देखि १० सम्म पठनपाठन हुँदै आएको छ । आवश्यक भौतिक पूर्वाधारको अभावमा भर्ना हुन चाहने सबैलाई  विद्यालयमा प्रवेश गराउन नसकेकोमा आफूलाई दुःख लाग्ने प्रिन्सिपल भटट्राई बताउँछिन् ।

अन्तर्राष्ट्रिय अभ्यास गर्दै युरो स्कुल

यूरो किड्स् अन्तर्राष्ट्रिय स्तरको पठनपाठन गराउने शैक्षिक संस्था हो । यसको स्थापना २००७ मा गरिएको हो । यसको शाखा अहिले टंगाल, हाथिगौडा, सामाखुसी, तीनकुनेमा छ । युरो किड्स स्कुल हाथिगौडामा छ । यूरो किड्सको अभ्यासको अवधारणा प्रोग्रेसिभ छ । हामी अन्तर्राष्ट्रिय पाठ्यक्रमसंग इन्टरग्रेसन गरेर पढाउँछौं । ८.३०  विद्यालय खुलेर तीन बजे बन्द हुन्छ । कोभिडका कारण पनि युरो किड्सको सिक्ने सिकाउने क्रममा खासै असर परेन । आफ्नै उत्पादन गरेको टुल्सको प्रयोगगरेर सिकाउने हुँदा रमाइलो पारेमा सिकाइ क्रियाकलाप अघि बढाएको युरो किड्स  विद्यालयका सञ्चालक बताउँछन् ।

नेपालमा एसएलसी गरेर भारत लगायत विश्वका विभन्न देशबाट उच्च शिक्षा हासिल गरेर नेपालमा  बैङ्करका रुपमा केही समय काम गरे पनि युरो स्कुलका फाउण्डर तथा युरो किड्स हाथिगैंडाका प्रिन्सिपल शैलेजा अधिकारीलाई त्यो पेसाले आत्मसन्तुष्टि प्रदान गर्न सकेन । उनले त्यो पेसामा सन्तुष्टि नमिलेपछि उनले अन्तर्राष्ट्रिय स्तरमा लागु गरिएको युरो स्कुलको अवधारणा नेपालमा भित्र्याइन् । उनलाई शिक्षा क्षेत्रमा दैनिक १८ घण्टा काम गर्दा पनि कुनै दिन काम गरेको जस्तो लागेन । युरो किड्स खोलेदेखि आज सम्म सबै बालबालिका संगै खेल्दै, सिक्दै सिकाउने बनाउने शिक्षकलाई अभ्यस्त बनाउन, नयाँ नयाँ शिक्षण पद्धतिका बारेमा तालिम प्रदान गर्न सक्यो भने गुणस्तरीय शिक्षा प्रदान गर्न सक्यो भने त्यसै  विद्यार्थी तथा अभिभावकको आकर्षणको केन्द्र बन्ने उनको विश्वास छ । ‘अन्तर्राष्ट्रिय स्तरको  विद्यालय भएको हुनाले कामको बोझ धेरै छ तर मलाई यसको अनुभूति कहिल्यै भएन ।’ उनी भन्छिन्, ‘ विद्यार्थी सुखी हुँदा आफू खुसी हुन्छु, दुखी भए दुख लाग्छ उनीहरुको खुसीमा रमाउँदै सिक्दै सिकाउँदै जाँदा मैले सञ्चालनमा ल्याएको युरो स्कुल नेपालका विभिन्न स्थानमा ब्रान्च खोलेर चलाउन सफल भएका छौं ।’

नमुनाका रुपमा रातो बङ्गला स्कुल

हरेक कक्षाकोठामा  नयाँ अभ्यास ।  विद्यार्थीमा समूह सहकार्यको भावना विकास भएको पाइन्छ लतिलपुरको रातो बङ्गला स्कुलमा । यो  विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप नै अनुकरणीय छ । सन् १९९२ मा स्थापना भएको रातो बङ्गला स्कुल सिकाइको नमुना  कै रुपमा सञ्चालन हुँदै आएको छ ।स्थापना  कालदेखि नै रातो बङ्गला स्कुलले विद्यार्थी केन्द्रित शिक्षा प्रदान  गर्दै आएको छ। विद्यालयले अपटुडेट शिक्षण विधि, बालमैत्री पूर्ण वातावरणमा सिकाइ गर्दै आएको छ ।  रातो बङ्गला फाउण्डेसनद्वारा सञ्चालनमा आएको विद्यालयमा सिकाइलाई र बालबालिकाको मनोविज्ञानलाई ध्यानमा  राखेर सिकाइ क्रियाकलाप सञ्चालन गरिँदै आएको छ ।

रातो बङ्गलाको सिकाइ क्रियाकलाप । व्यवस्थापन सिल्पको अनुकरण गरे सामुदायिक  विद्यालय सुधार हुन समय नलाग्ने विद्यालयका निर्देशक डा. शान्ता दीक्षित बताउँछिन् । 

यी त केही नमुना  विद्यालय मात्र हुन् । महिलाले व्यवस्थापन तथा सञ्चालन गरेका अन्य  विद्यालय पनि अन्तर्राष्ट्रिय स्तरका नै ।  विद्यार्थीको आकर्षण बढ्दो छ । सबै  विद्यालयलाई भर्नाका  समयमा  विद्यालयलाई भार थेग्ननै मुस्किल हुन्छ । रातो बङ्गला, अक्षरा, युरो स्कुल जस्तै  विद्याथीको चाम छ  संस्कृत इन्टरनेसनल स्कुलमा पनि । यो  विद्यालयको सञ्चालन तथा व्यवस्थापन दिप्ती आचार्यले गर्दै आएकी छिन् । पारिवारिक वातावरण, बालमैत्रीपूर्ण सिकाइका कारण अभिभावकको रोजाइमा  पर्ने गरेको छ ।

त्यस्तै, लोभ लाग्दो छ । बनिता मित्तलले सञ्चालन गरेको आलोक  विद्याश्रम । यो  विद्यालयमा पनि दैनिक कम्तीमा १६ घण्टा भन्दा बढी खटेर  विद्यालयको काम गर्ने गरेको उनी बताउँछिन् । यी बाँहेक प्रिमियर इन्टर नेसनल स्कुल,  काष्ठमण्डप  विद्यालय धेरै  विद्यार्थी अभिभावकको रोजाइमा  पर्ने गरेका छन् ।

कम लोभलाग्दा छैनन् महिलाले नेतृत्व गरेका सामुदायिक  विद्यालय पनि

२०६२ साल कालिमाटीको नील बाराहीमा सय जना  विद्यार्थी थिए ।  विद्यालयको अस्तित्व जोगाउन नै मुस्किल थियो । एकातिर धमाधम सामुदायिक  विद्यालयले अभिभावकको भरोसा गुमाउँदै गइरहेका थिए भने अर्कोतर्फ सरोकारवालाले  विद्यालय व्यवस्थापनमा चासो नै राख्दैन् थिए । सबैले सामुदायिक  विद्यालय भन्ने बित्तिकै नाक खुम्च्याउने अवस्था थियो ।  विद्यार्थी  विद्यालय नियमित आउँदैन थिए । आइ हालेपनि एकछिन पछि घर फर्किहाल्थे ।

०६२ मा नै  विद्यालयले प्रधानध्यापकका रुपमा डा. जानुका नेपाललाई पायो । उनले विहान दिउसो नभनी अहोरात्र खटिएर  विद्यालय सुधारका  लागि योजना बनाइन् । कार्यान्वयनका लागि विहान ६ बजेदेखि राति ८ बजे सम्म खटिइन । अहिले सो  विद्यालयमा  विद्यार्थी संख्या एक हजार भन्दा माथि पुगेको छ । यो वर्ष  विद्यालयमा  भर्ना हुन चाहने धेरै  विद्यार्थीलाई भर्ना दिननै नसकेको प्रधानाध्यापक डा. नेपाल बताउँछिन् ।

नील बाराहीको जस्तै सफल अभ्यास छ पद्मकन्या मावि डिल्ली बजारको । यो विद्यालय पनि अहिलो नेपाली सोचमा विकसित राम्रो मानिएको निजी विद्यालय भन्दा कम छैन । विद्यालय अभिभावक विद्यार्थीको आकर्षको केन्द्र भएको प्रधानाध्यापक रीता तिवारी बताउँछिन् । अभिभावक तथा शिक्षकबीचका छलफल पछि योजना निर्माण । विद्यार्थीको रुची अनुसार सिकाइ अभ्यास गरिने हुँदा विद्यालयमा खचाखच विद्यार्थी भएको उनको दाबी छ । ‘प्रभावकारी समन्वय सञ्चार पहुँच नभएका विद्यार्थीलाई पहिचान गरी घरमै गृहकार्य र प्रश्नपत्र पठाउने जस्ता कार्यले कोरोनाको समयमा पनि विद्यार्थी अकार्षित भएका हुन्’ उनले भनिन् ।

आर्थिक पारदर्शिता र आपसी समन्वय र समुदायस्तरमा विश्वास जितेका कारण वर्सौंदेखि विद्यालय अभिभावकको खोजीको केन्द्र भएको नन्दी माविका प्रधानाध्यापक गीता काफ्ले बताइन् । ‘असल टीमवर्कका कारण विद्यालयको नतिजा राम्रो छ ।’ उनले भनिन्, ‘फरक क्षमता भएका मानिसलाई उनीहरुको क्षमता प्रस्फूटन गर्न सफल छौं ।’

त्यस्तै, समूह कार्य र अपनत्वको भावना विकास गरेर शैक्षिक, प्रशासनिक रुपमा राम्रो भएकै कारण अभिभावक तथा  विद्यार्थीको रोजाइ बन्न सफल भएको छ काठमाडौंको महाङ्कालस्थित जनकल्याण मावि । यो  विद्यालयमा अहिले दुईहजार भन्दा बढी  विद्यार्थी अध्ययनरत भएको प्रधानाध्यापक कुमारी कमला राई बताउँछिन् ।

बालबालिकालाई व्यबहारिक सिप । रुचि अनुसारका पेसागत विषय छनोट र परिवारिक वातावरणका कारण बालुटारको पञ्चकन्या आधारभूत  विद्यालय पनि लोभ लाग्दो छ । यहाँको प्रशासनिक नेतृत्वमा  महिला आएपछि साघुँरो घेरामा सीमित भएको  विद्यालयमा   विद्यार्थी खचाखच भएको स्थानीयहरु बताउँछन् ।

पन्चकन्याका हरेक कक्षाकोठा प्रविधिमैत्रि छन् । हरेक कक्षालाई प्रविधिले एकैठाउँमा जोडेर राखिएको छ । सबै कक्षाको गतिविधि प्रधानाध्यापकले अफिसमा नै बसेर निगरानी गर्छन्। शिक्षण सिकाइ प्रक्रिया अन्य विद्यालयभन्दा फरक छ । ७ वटा कक्षामा स्मार्ट बोर्ड छन् । हल र कम्प्युटर ल्याबमा पनि स्मार्टबोर्डको व्यवस्था गरिएको छ । ‘हाम्रा सिकाइ बालमैत्री छ । बालबालिकालाई उनीहरुको रुची र इच्छाअनुसार व्यवसायिक सीप प्रदान गर्ने गरेका छौं ।’ प्रधानाध्यापक विनिता रञ्जितले भनिन्, ‘कुनै कुरा पटकपटक व्याख्या गर्नुभन्दा हामी प्रयोगात्मक विधि र क्षेत्र भ्रमण विधिबाट अध्यापन गराएर एकै पटक धारणा बसाउँछौं । राष्ट्रप्रेमको शिक्षा दिन्छौं त्यसैले सामुदायिक विद्यालय चलाउन पाएको आफूलाई गौरवान्वित ठान्छौं ।’ 

 यी त केही प्रतिनिधि  विद्यालय मात्र हुन् । महिलामा व्यवस्थापकीय सिल्प, र निर्णय गर्ने क्षमता तीव्र भएका कारण महिलाले नेतृत्व गरेका  विद्यालय अन्यभन्दा राम्रा भएको विज्ञहरु बताउँछन् ।

आर्थिक सर्वेक्षण २०७७–०७८ अनुसार नेपालमा कुल ३५ हजार ६ सय ७४ विद्यालय रहेका छन् जसमध्ये आधारभूत तह (१–५) सञ्चालित विद्यालय ३५ हजार ४ सय ४५, आधारभूत तह (६–८) सञ्चालित विद्यालय १६ हजार ८ सय ४७ र आधारभुत तह (१–८) सञ्चालित विद्यालय ३५ हजार ६ सय ४४ रहेका छन्। यसैगरी, माध्यमिक तह (९–१२) सञ्चालित ११ हजार १ सय ८ विद्यालय मध्ये ४ हजार १ सय ८७ विद्यालयमा कक्षा ११ र १२ सञ्चालन भएको छ।

शैक्षिक वर्ष २०७७ मा सामुदायिक र संस्थागत  विद्यालयमा कुल ३ लाख २० हजार ५७६ शिक्षक मध्ये पुरुष शिक्षक ६०.५ र महिला शिक्षक ३९.५ प्रतिशत छन् । जसमध्ये माध्यमिक तहमा महिला शिक्षक २०.८ प्रतिशत छन् । त्यसमा सामुदायिक तर्फ १९.० प्रतिशत छन् भने संस्थागत तर्फ २४.२ प्रतिशत कार्यरत छन् ।  त्यसैले महिलालाई शिक्षण पेसा प्रति आकर्षण गर्दै विज्ञान, गणित तथा अङ्ग्रेजी विषयको शिक्षकमा महिला  अत्यन्तै न्यून भएका कारण विश्व विद्यालयमा  उच्च शिक्षाको विषय छनोट गर्दा नै महिलाले यी विषय छनोट गर्नु पर्ने अध्यक्ष तुलाधर बताउँछिन् । ‘हामी लैङ्गिक कारण कमजोर छैनौं, आत्मविश्वासको कमी छ ।’ उनले भनिन्, ‘पहिला आफूलाई चिनोस् र अरुलाई क्षमताका आधारमा आफूलाई चिनाउनोस् ।’

I Tech store