After SEE Portal

पाल्पामा शिक्षा क्षेत्रमा प्रहरीको सहयोग

Bridge Course

रामपुर, २३ मङ्सिर (रासस) : समुदायसँग हातेमालो गर्दै शान्तिसुरक्षा कायम राख्ने नेपाल प्रहरीले पाल्पामा शिक्षा क्षेत्रमा समेत सहयोग गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले शैक्षिक सामग्री बैंक स्थापना गरेर विभिन्न सङ्घसंस्थाको सहयोगमा सिसाकलम, कापी तथा मेटाउलगायतका सामग्री विद्यार्थीलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पा र सामुदायिक सेवा केन्द्र तानसेन पाल्पाको संयुक्त पहलमा स्थापना भएको शैक्षिक सामग्री बैंक स्थापना गरी यस वर्षदेखि जिल्लाका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षक दीपेन्द्र जिसीले बताउनुभयो ।

उहाँका अनुसार समुदाय प्रहरी साझेदारी अवधारणाअनुरूप शिक्षा नै शान्तिको मूल मन्त्र रहेकाले बालबालिकालाई विद्यालय जान प्रोत्साहन गर्ने, बालबालिकालाई घरेलु हिंसा, ट्राफिक नियम, सामाजिक विकृति सरसफाइ सन्दर्भमा जानकारी दिँदै शिक्षामा सहयोगसमेत गरेको हो ।

प्रहरीले जिल्लामा अहिलेसम्म ११ वटा विद्यालयमा अध्ययनरत करिब ४०० विद्यार्थीलाई शैक्षिक सामग्री बाँडेको छ । जिल्लाका २२ व्यक्ति तथा सङ्घसंस्थासँग समन्वय गरी प्रहरीले जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सहयोग प्रदान गरेको जनाएको छ ।

प्रहरीले प्रतिविद्यार्थी छ थान सिसाकलम, ६ थान कापी, पाँच थान डटपेन तथा तीन÷तीन थान मेटाउ तथा सिसाकलम तिखार्ने वितरण गरेको छ । प्रहरीले माथागढी गाउँपालिकाको आदर्श प्रावि, सहारा नमूना प्रावि, भूपति प्राथमिक विद्यालय, राम निमावि बगनासकाली, रिब्दीकोट गाउँपालिकाको आदर्श मावि, भगवती प्रावि, बालसिद्ध प्रावि रामपुर, भैरव निमावि, रैनादेवी छहरा, जनप्राथमिक विद्यालय तिनाउ, जनहित प्रावि तानसेनलगायत विभिन्न पालिकाका विद्यार्थीलाई सामग्री प्रदान गरेको हो ।

प्रहरी देखेपछि डराउने विद्यार्थीलाई प्रहरीले विद्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थी निकै खुशी भएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्कूलमा प्रहरी आयो भनेर तर्सिएका विद्यार्थी प्रहरीले त हामीलाई सहयोग गर्ने रहेछ भनेर खुशी हँुदै सामग्री बुझेका थिए ।”

घटना न्यूनीकरण गर्न, घरेलु हिंसा तथा ट्राफिक नियम, चेलीबेटी बेचबिखन सन्दर्भमा विद्यालयमा प्रशिक्षण दिँदै जनचेतना फैलाएको प्रहरीले शैक्षिक सामग्री वितरण अभियान चलाउँदा अभिभावक तथा विद्यार्थी खुशी भएका छन् । प्रहरीले अझै करिब ३०० विद्यार्थीलाई सामग्री प्रदान गर्ने बताएको छ । गाउँका विकट भेगमा आर्थिक अभाव भएका अति विपन्न गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पु¥याउन पाल्पाका करिब १० वटा सङ्घसंस्थाले प्रहरीसँग हातेमालो गरेका छन् ।

A Levels MA
Thuprai - Books and E-books