After SEE Portal

आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि सहयोग

Bridge Course

–दीपक बोहरा तुलसीपुर, १ मङ्सिर (रासस): 

दाङको राप्ती गाउँपालिका–२ स्थित आदर्श नमूना माविको दृष्टिविहीन छात्रावास निर्माणका लागि विदेशबाट सहयोग प्राप्त भएको छ । छात्रावास जीर्ण हुँदा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठनमा असहज हुने गरेको थियो ।

राप्ती समाज जापानको सहयोगमा सङ्कलन भएको रु ४१ हजार ४४० विद्यालयलाई हस्तान्तरण गरिएको हो । पूर्वविद्यार्थी तुलसीराम पोख्रेलको पहलमा तथा संस्थाका अध्यक्ष युवराज रेग्मीको सक्रितामा सहयोग सङ्कलन गरी उपलब्ध गराइएको हो । उक्त रकम पोख्रेलले विद्यालयका प्रधानाध्यापक किरण पोखरेल र दृष्टिविहीन आवास निर्माण समितिका संयोजक वासुदेव न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।

सरकारले विशेष शिक्षाअन्तर्गत दाङको उक्त विद्यालयमा दृष्टिविहीन विद्यार्थीलाई पठनपाठन गराउन थाले पनि उचित पूर्वाधारतर्फ ध्यान नदिएको विद्यालयका प्रधानाध्यापक किरण पोखरेलले बताउनुभयो । उहाँका अनुसार अहिले सुरक्षित भवन नहुँदा जीर्ण भवनमै विद्यार्थी राख्न बाध्य भएको उहाँको भनाइ छ । “भवन निकै जीर्ण छ”, उहाँले भन्नुभयो, ‘‘बर्सादमा पानी चुहिन्छ, भित्रै सर्प, भ्यागुता हिँड्छन् ।” अहिले उक्त विद्यालयमा कक्षा १२ सम्म दृष्टिविहीन विद्यार्थीका लागि पढाइ हुने उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिले आठ केटी र पाँचजना केटा गरी १३ जना दृष्टिविहीन विद्यार्थीले अध्ययन गरिरहेका छन् । एउटा जीर्ण भवनमा उनीहरुलाई राखिएको छ । विसं २०५२ देखि पढाइ शुरु भएको दृष्टिविहीन कक्षामा अहिले दुईजना शिक्षक कार्यरत हुनुहुन्छ ।

दृष्टिविहीन ती विद्यार्थीहरु शारीरिक हिसाबले कमजोर भएकाले उनीहरुको आवास सुरक्षित हुनुपर्ने माग पहिलेदेखि उठ्दै आएको हो । अहिले करीब ४० वर्ष पुरानो जीर्ण भवनमा ती विद्यार्थीलाई राखिएको छ । भित्र छिर्दा नै भत्किने डरले हत्तपत्त बाहिर निस्किनुपर्ने अवस्था छ तर दृष्टिविहीनलाई आफूहरू कस्तो भवनमा बसिरहेका छौँ भन्ने कुरा थाहा छैन ।

एक दृष्टिविहीन विद्यार्थीले भन्नुभयो, “हामीले आँखा देख्दैनौँ, कस्तो भवनमा बसिरहेका छौँ, हामीलाई नै थाहा छैन ।” पलङ पनि जीर्र्ण अवस्थामा छन् । काम चलाउनमात्रै ती पलङ राखिएका छन् । विद्यार्थीहरु सुतिरहेको अवस्थामा कतिबेला ती भाँचिन्छन् भन्ने त्रास छ ।

यस्तो अवस्था देखेपछि सोही विद्यालयमा अध्ययन गरेर विभिन्न पेशा–व्यवसायमा लागेका पूर्व विद्यार्थीहरुको सक्रियतामा भवन निर्माणको शुरुआत भएको छ । गएको वर्षको दशैँको घटस्थापनाको साइत पारेर शिलान्यास गरिएको भवन निर्माणको काम जारी छ ।

करिब ४० वर्ष पुरानो भवनमा दृष्टिविहीन विद्यार्थी रात–दिन कटाउन बाध्य भएको भन्दै चारकोठे भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । एउटा कोठा छात्र, एउटा कोठा छात्रा, एउटा सभाहल र एउटा भान्छाका लागि प्रयोग गर्ने गरी भवन निर्माण गर्न लागिएको हो । शौचालय, बाथरुम पनि निर्माण हुनेछन् । अहिले पूर्वविद्यार्थी थप आर्थिक रकम सङ्कलन गर्न लागिपरेको समेत उहाँले बताउनुभयो । न्यौपानेसँगै उक्त विद्यालयमा अध्ययन गरी हाल जापानमा रहेका वीरेन्द्र केसीलगायतका पूर्वविद्यार्थीहरुको सक्रियतामा भवन निर्माण शुरु भएको हो ।

दृष्टिविहीन विद्यार्थीहरु आफँैमा शारीरिक हिसाबले कमजोर हुने भन्दै उनीहरुको आवास व्यवस्थित र सहज हुनुपर्ने हेतुले यस्तो कार्य अघि बढाएको उहाँको भनाइ छ । दृष्टिबिहीनका लागि कम्प्युटर छैनन् । पटक–पटक दृष्टिविहीन विद्यार्थीहरुले आफूहरुले प्रयोग गर्ने खालका कम्प्युटर ल्याइदिन माग गरे पनि उनीहरुका लागि कम्प्युटर ल्याउन सकिएको छैन । “विद्यार्थीहरुले कम्प्युटरको माग गरिरहेका छन्”, उहाँले भन्नुभयो, “तर कम्प्युटर ल्याउन सकिएको छैन ।”

A Levels MA
Thuprai - Books and E-books