After SEE Portal

माथिल्ला कक्षा चढ्दै जाँदा विद्यार्थी गणित र विज्ञानमा झन कमजोर

Bridge Course

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) बाट भएका हालसम्मका अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षामा उपलब्धि झन् झन् खस्कदै गएको तथ्य सार्वजनिक गर्दै आएको छ ।  

इआरओले गरेको अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि कमजोर भएको तथ्य हरेक पटकको अध्ययन प्रतिवेदनमा सार्वजनिक गरेको छ ।

जतिजति बालबालिका कक्षा चढ्दै जान्छन् उतिउति अनिवार्य विषयमा उपलब्धि स्तर खस्कदै जाने गरेको छ ।

अध्ययनले कक्षा ३ र ५ को तुलनामा कक्षा ८ मा उपलब्धि कम भएको देखिएको छ । हरेक कक्षा चढ्दै जाँदा गणित र विज्ञान विषयको उपलब्धि स्तर झनझन खस्दै गएको पाइएको हो । अध्ययनले विद्यार्थीको समग्र उपलब्धि कमजोर हुनुलाई विशेष चासो र चिन्ताका साथ उठाएको केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालले बताए ।

उनले विद्यार्थीको ठूलो सङ्ख्या सिकाइस्तर सम्बन्धित कक्षाको तहभन्दा तल तथा अपेक्षित पाठ्यक्रम र प्राप्त पाठ्यक्रमबीचमा ठूलो खाडल देखिएको पाइएको जानकारी दिए ।

केन्द्र स्थापनाको १५ वर्षमा हालसम्म १३ ओटा राष्ट्रिय उपलब्धि परीक्षण सम्पन्न गरेको छ ।

 “नेपालका सन्दर्भमा उच्च उपलब्धि हासिल गर्ने समूह अत्यन्तै सानो छ । यस्तो कमजोर सिकाइ अवस्थाको खाडललाई कम गर्न विशेष प्रयत्न नभएको अवस्थामा माथिल्लो कक्षाको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने स्वतः सिद्ध छ”, केन्द्रबाट प्रकाशित वार्षिक प्रतिवेदन, २०७९–०८० मा भनिएको छ, “खासगरी भाषिक सीपले ग्रहणशीलता र उत्पादनशीलता दुवै प्रभावित हुन्छन्, फलस्वरूप जुनसुकै विषयको सिकाइ सम्भावनालाई कुण्ठित गर्न सक्छ ।”

गणितको पाठ्यक्रम तल्लो कक्षाको सिकाइले बन्ने अवधारणाको जगमा निर्मित हुने भएकाले तल्लो खुड्किलामा भरलाग्ने गरी वा बलियोसँग टेक्न नसक्दा माथिल्लो खुड्किलामा चढ्ने तागत कमजोर हुन जाने हुँदा माथिल्लो कक्षाको सिकाइमा प्रत्यक्ष र गम्भीर प्रभाव पार्न सक्ने प्रतिवेदनको निष्कर्ष छ ।

यस्तै प्रदेशबीचको सिकाइ उपलब्धि तथा विद्यालय प्रकारअनुसार ठूलो असमानता देखिएको छ । विद्यार्थीको शैक्षिक उपलब्धि र सामाजिक–आर्थिक स्थितिबीचको सम्बन्ध महत्वपूर्ण रहेको छ ।

प्रतिवेदनले विशेष प्रयत्न हुन नसकेमा सिकाइ विद्यार्थीको उपलब्धि कमजोर हुँदै जाने, पढाइमा रुचि र आत्मविश्वास गुमाउने, असफलतामा पुग्न बाध्य हुने वा बीचैमा कक्षा छाड्ने जस्ता जोखिम देखिने औँल्याएको छ ।

विद्यार्थीले पढाइ पूरा गरिहाले पनि माथिल्लो कक्षामा आफूले पढ्न पाउने विषय रोज्ने सम्भावना साँघुरो हुने र अन्ततःआफ्ना जीवनका सम्भावना नै कुण्ठित हुनसक्ने जोखिम देखिन्छ ।

केन्द्रले कक्षा, ५, ८ र १० को अङ्ग्रेजी, गणित, नेपाली र विज्ञान गरी चार विषयको विद्यार्थी उपलब्धिको स्तर परीक्षण र अन्य पढाइ र सीपगत परीक्षण गर्दै आएको छ ।

केन्द्रबाट ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित परीक्षण’, विद्यालयको कार्यसम्पादन परीक्षण र विभिन्न निकायबाट सञ्चालित शैक्षिक कार्यक्रमका परीक्षण, सबैका लागि शिक्षा शिशु विकास कार्यक्रमअन्तर्गत युनिसेफको आर्थिक सहयोगमा प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाको सिकाइ र विकासस्तर तथा बालविकास केन्द्रको कार्यसम्पादन परीक्षण हुँदै आएको छ ।

विद्यालयको कार्यसम्पादन परीक्षणमा सरदर ८२ प्रतिशत विद्यालयले ४० अङ्कको हाराहारी वा ७० अङ्कसम्म समान्यस्तर हासिल गरेका केन्द्रका महानिर्देशक भुसालले बताए ।

सरदर १६ प्रतिशत विद्यालयले ९० अङ्कसम्म प्राप्त गरेर मध्यमस्तरको कार्यसम्पादन गरेका छन् ।

सरदर दुई प्रतिशत विद्यालयले ४० प्रतिशत अङ्क प्राप्त गर्न नसकी कमजोरस्तरमा दर्ज भएका उनले जानकारी दिए । उनका अनुसार देशभरमा हालसम्म सात विद्यालयमात्र ९० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क ल्याई उच्चस्तरको कार्यसम्पादन श्रेणीमा आफूलाई चिनाउन सकेका छन् । केन्द्रबाट आर्थिक वर्ष २०७९–८० का लागि स्वीकृत कार्यक्रम तथा बजेटबाट सम्भव नभएकाले नमुना परीक्षण विधिबाट दुई सय ८० ओटा बालविकास केन्द्र र विद्यालय परीक्षणका लागि छनोट गरिएका थिए ।

छनोटमा परेका बालविकास केन्द्र इलाम, खोटाङ, मोरङ, सुनसरी, पर्सा, रौतहट, सर्लाही, चितवन, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बागलुङ, गोरखा, कास्की, म्याग्दी, नवलपरासी पूर्व, बाँके, दाङ, पाल्पा, रूपन्देही, दैलेख, जाजरकोट, जुम्ला, रूकुम पश्चिम, सुर्खेत, अछाम, बैतडी, डोटी र कैलाली गरी ३० जिल्लाका छन् ।

ती बालविकास केन्द्रमा परीक्षक प्रत्यक्षरूपमा उपस्थित भई छनोटमा परेका १५ बालबालिकाको विवरण सङ्कलन गरिएको थियो । 

A Levels MA