शिक्षा र मानविकी संकायको डिनमा भाग नमिल्दा अन्तर्वार्ता लिएको एक महिना बिति सक्दा पनि त्रिभुवन विश्वविद्यालयले डिन नियुक्त गर्न सकेको छैन ।
नेपाली काङ्ग्रेसले आफ्ना नेतालाई डिन बनाउन खोजेपछि सबै प्रक्रिया अवरुद्ध भएको त्रिवि उच्च स्रोतले जानकारी दियो ।
काङ्ग्रेसले दुवै संकायमा आफ्नो निटक हुनै पर्ने दवाव दिएपछि छनोट प्रक्रियमा शक्ति समूहका उम्मेदवार छनोटमा समेत नपरेपछि छनोट प्रक्रिया झन सकसमा परेको छ ।
अन्य संकाय र संस्थानका डिनका लागि भाग बण्डा मिलेको भए पनि यी दुई संकायमा देखिएको विवादका कारण अन्य पदाधिकारी समेत नियुक्तिकालागि सिफारिस हुन नसकेको त्रिवि उच्च स्रोतले जानकारी दियो ।
काङ्ग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले त्रिविले हाल सावधिक पदका लागि गरेको विज्ञापनहरूमा उपकुलपतिको नियन्त्रण र निर्देशनमा हुने दलीयकरणप्रति संघ कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ आधारित भएर त्रिविले अहिले एक एक जना अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक, योजना निर्देशनालयको निर्देशक, १६ क्याम्पस प्रमुख र ६ सहपरीक्षा नियन्त्रक गरी कुल ३१ पदपूर्तिका लागि विज्ञापन गरेको थियो। ३२ पदका लागि कुल २७१ जनाको आवेदन परेको शिक्षाध्यक्ष कार्यालयले जानकारी दियो ।
अहिले सम्म डिन नियुक्तिका लागि सिफारिस भएका छैनन् ।
समितिले योग्यता र कार्यसम्पादनका आधारमा छनोट गरेर शिक्षाध्यक्षको कार्यालयलाई बुझाइसकेको छ । तर, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले हालसम्म नियुक्त गर्न सकेको छैन । त्रिवि शिक्षाध्यक्षको कार्यालय अन्तर्गत बनेको छनोट समितिले गत भदौ १७ गते सूचना जारी गरेर विभिन्न ८ सङ्कायका डीन, ६ जना सहपरीक्षा नियन्त्रक, २ जना निर्देशक, ११ क्याम्पस प्रमुख लगायतका लागि आवेदन माग गरेको थियो ।
त्रिविले त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ जारी गरी पदाधिकारी छनोट गर्ने भन्दै खुला प्रस्पिर्धाबाट पदाधिकारी छनोट गर्ने गरी गरिएको विज्ञापन अनुसार अहिलेसम्म छनोट हुन सकेको छैन ।
समितिले त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम १७५ (२) र त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद २ अनुसार अध्ययन संस्थान र संकायका डीनका लागि आवेदन माग गरेको थियो । त्यही विनियमको परिच्छेद ४ को विनियम ७ बमोजिम शिक्षा तथा विकास अनुसन्धान केन्द्र्र (सेरिड)को कार्यकारी निर्देशक र परिच्छेद १० को विनियम १९ बमोजिम योजना निर्देशनालयको निर्देशक पदका लागि आवेदन माग गरेको थियो ।
सहपरीक्षा नियन्त्रकका लागि ३० जनाको अल्पसूची (सर्टलिष्ट) सार्वजनिक भइसकेको छ । रिक्त ६ पदका लागि आवेदन मागिएकोमा ६५ जनाले आवेदन दिएका थिए । आवेदक मध्ये मध्ये सर्ट लिष्टमा ३० जनाको नाम सार्वजनिक गरिएको छ । सर्ट लिष्टमा परेकाको अन्तर्वार्ता कात्तिक १२ देखि १४ गतेसम्म रजिष्ट्रारको कार्यालयमा सञ्चालन गरिने त्रिविले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका लागि २ सिट र पोखरा, विराटनगर, मधेस, र नेपालगञ्जमा १–१ सिटका लागि आवेदन माग गरिएको थियो ।
बल्खुका लागि २२ जना, आवेदक मध्ये १० जना सर्टलिष्टमा परेका छन् । विराटनगर क्षेत्रीय कार्यालयका लागि ६ जना, मधेस प्रदेशका लागि ९ जना, नेपालगञ्जका लागि १३ जना, पोखरा क्षेत्रीय कार्यालयका लागि १५ जनाको आवेदन परेको थियो ।