CMAT

गत वर्ष उदारो, यो वर्ष पनि विद्याभूषणका लागि आवेदन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्षदेखि नै बाँकी रहेको नेपाल विद्याभूषण क, ख र ग, नेपाल छात्रा विद्यापदक क, ख  तथा नेपाल प्रविधि विद्याभूषणका लागि आवेदन माग गरेको छ ।

विगतका वर्षमा विभिन्न बहानामा रोकिँदै आएको पदक वितरण गर्न मन्त्रालयले आवेदन माग गरेको छ । तोकिएको सर्त पुरा गरेका व्यक्तिले आगामी भदौ १६ गते भित्र  मन्त्रालयको वेबसाइट www.moest.gov.np वा  मन्त्रालयको कोठा नं. ४०३ मा आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख गरिएको छ । ‘नेपाल विद्याभूषण’ प्राप्त गर्नका लागि नेपाल भित्रका कुनै विश्वविद्यालय वा अध्ययन प्रतिष्ठान तथा विदेशी विश्वविद्यालयबाट देहायमा उल्लेख भए अनुसारको योग्यता हासिल गरेका नेपाली नागरिकहरू र नेपाल भित्रको मान्यता प्राप्त शिक्षण संस्थामा अध्ययन पूरा गरी तोकिए अनुसारको योग्यता हासिल गरेका विदेशी नागरिकहरूबाट आवेदन माग गरेको हो ।

मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन ।  मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन । नाम घोषणा गरिएका विद्यार्थीलाई राज्यको पदक उदारो रहेको छ । यस पटक भने मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ ।

गत वर्ष विद्याभूषण तयार गर्न नभ्याउने भएकाले शिक्षा दिवसका दिन वितरण गर्ने भनिएको पदक  रोकिएको थियो । सुरुमा पदक बनाउन नभ्याइएको भनिएको पदक पछि बजेट अभाव देखाएर अन्योलमा राखिएको थियो ।

सोही पदक चालु आर्थिक वर्षमा पनि वितरण गर्ने भन्दै मन्त्रालयले सूचना जारी गरेको हो ।

२०७६ सालबाट स्नातक र स्नातकोत्तरका सर्वोत्कृष्ट तथा विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण वितरण गरेको छैन । यी चार वर्षमा के कति जनालाई विद्याभूषण वितरण गर्नुपर्ने हो भन्ने यकिन तथ्याङ्क पनि मन्त्रालयसँग छैन ।

मन्त्रालयको उच्च शिक्षा शाखाका अनुसार  आर्थिक वर्ष २०८०्८१ मा ६० लाख रुपियाँमात्र विनियोजन भएको जानकारी दियो । उक्त शाखाका अनुसार  पदक वितरण गर्न कम्तीमा चार करोड रुपियाँ खर्च हुन्छ । त्यति रकम अर्थ मन्त्रालयसँग माग गरे पनि प्रदान नगरेको हुँदा रोकिएको थियो ।

मन्त्रालयले २०७६ सालमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेकासँग आवेदन माग गर्दा ३७८ जनाको आवेदन परेको थियो । तत्कालीन् शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौ २३ गते (सेप्टेम्बर ८ तारिख) मा अन्तर्राष्ट्रिय साक्षरता दिवस परेकाले सोही दिन राष्ट्रिय शिक्षा दिवस मनाउनु उपयुक्त नहुने भन्दै नयाँ मिति चयनपछि शिक्षा दिवस मनाउने र सोही बेला विद्याभूषण वितरण गर्ने निर्णय गरेका थिए ।

त्यस वर्ष करिब चार सय जनाले विद्याभूषणका लागि आवेदन दिएकाले वितेका चार वर्षमा सरदर एक हजार छ सय जनालाई विद्याभूषण वितरण गर्नुपर्ने मन्त्रालउका एक उच्च पदाधिकारीले बताए ।

स्नातकका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ग, स्नातकोत्तरका सर्वोत्कृष्टलाई नेपाल विद्याभूषण ख र विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण क बाट विभूषित गर्ने चलन छ । चाँदीको पदकमा सुनको लेपन गर्ने गरिएको छ । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको घरेलु तथा साना उद्योग कार्यालयले यी पदक तयार गर्दै आएको छ ।

क श्रेणीको विद्याभूषणको प्रतिपदक सरदर ५० हजार रुपियाँ र अन्य प्रतिपदक ३० हजार रुपियाँ खर्च लाग्ने मन्त्रालयले जानकारी दियो ।

Thuprai - Books and E-books