After SEE Portal

एसईई परीक्षामा डी र ई शुन्य बनाउने घोषणा

Bridge Course

 बर्दियाको ठाकुरबाबा नगरपालिकाले प्रवेशिका (एसईई) परीक्षामा डी र ई ग्रेड शुन्य बनाउने महत्वाकाँक्षी सुधार योजना सार्वजनिक गरेको छ ।

राज्यले एसईई परीक्षामा डी र ई ग्रेड प्राप्त विद्यार्थीलाई अनुत्तीर्ण नभने पनि उनीहरूले माथिल्लो तहमा इच्छा गरेको विषय अध्ययन गर्न नपाउने अवस्था छ । प्रदेश ५ मा सबैभन्दा कमजोर विद्यार्थी गणितमा देखिएका छन् । प्रदेश ५ मा गणित विषयमा डी प्लसभन्दा माथि ल्याउनेहरू २८.१ प्रतिशतमात्र छन् भने ठाकुरबाबा नगरपालिकामा ३३.४ प्रतिशत छ । बर्दियामा एसईई परीक्षामा सम्मिलित भएकामध्ये गणितमा २६.५ प्रतिशत विद्यार्थीले मात्र डीप्लसभन्दा माथि नतिजा ल्याउन सफल छन् । अन्य विषयको पनि नतिजा खासै सन्तोषजनक छैन ।

ठाकुरबाबा नगरपालिकाका शिक्षा प्रमुख रामहरि रिजालले विद्यार्थीले रोजेको विषय अध्ययन गर्न पाउने अवस्था नतिजाको सुधारबाटमात्र सम्भव हुने भएकाले अनिवार्य पाँच वटा विषयमा न्यूनतम डी प्लस नतिजा हासिल गर्ने गरी सुधार योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

यो सुधार योजना आगामी माघ ५ गतेबाट कार्यान्वयनमा ल्याइनेछ र यसलाई ग्रेड सुधारका ५२ दिने चमत्कारिक सुधार योजना अभियान नाम दिइएको छ । “हामी यो योजना कार्यान्वयन गर्न ढिला भयौँ, तर आगामी वर्षबाट छिटो योजना कार्यान्वयनमा लिएर जानेछौँ” उनले भने “अहिले पनि सुधारका काम थालनी गर्न सकेनौँ भने विद्यार्थीका लागि निकै ठूलो क्षति हुनेछ ।”

योजनाअनुसार २०७६ सालको एसईई परीक्षामा अनिवार्य अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक शिक्षा विषयमा विद्यार्थीको नतिजा न्यूनतम डीप्लस रहनेछ । यो योजनालाई प्रदेश ५ को सरकारले नै प्रदेशभरि लागू गर्न योजना तर्जुमा गर्दैछ ।

ठाकुरबाबा नगरपालिकाले एउटा फाराम तयार गरेर सबै विद्यालयमा पठाएको छ । सो फाराम हरेक शिक्षकले भरेर पुस २९ गतेभित्र नगरपालिकामा भरेर बुझाइ सक्नुपर्नेछ । फाराममा शिक्षकले लक्ष्य कायम गर्नुपर्नेछ । सो लक्ष्यलाई नगरपालिकाको वेवसाइटमा नै राखिनेछ । यसले गर्दा शिक्षकहरूलाई नतिजा सुधार गर्न दवाव पर्ने भनाइ नगरपालिकाको छ ।

आगामी माघ ५ गतेबाट हरेक विद्यार्थी र शिक्षक विहान साढे ६ बजे विद्यालयमा पुगिसक्नुपर्नेछ । उनीहरुका लागि पाँच विषयका अतिरिक्त कक्षा सञ्चालन गरिनेछ । “अभिभावकलाई विद्यार्थीको खाना स्कुलमै पुर्‍याइदिन भनेका छौँ । अभिभावक तयार छन् । विहानको खाना स्कुलमै आउनेछ र त्यही खानेछन् । विद्यार्थीले दैनिक १० देखि १२ घण्टा स्कुलमै पढ्नेछन्” शिक्षा प्रमुख रिजालले भने ।

उनले आगामी वर्ष भदौबाट यो कार्यक्रमको थालनी गरिने जानकारी दिए । नगरपालिकाले यसका बारेमा कार्यविधि नै तयार गरिरहेको छ । आगामी वैशाखबाट कार्यविधि कार्यान्वयनमा ल्याइने योजना बनाइएको छ । हरेक शिक्षकलाई प्रोत्साहन गर्ने योजना कार्यविधिमा समावेश गरिनेछ । “गणित विषयमा विद्यार्थीको न्यूनतम २.२ जीपीए र अन्य विषयमा न्यूनतम २.५ जीपीए प्राप्त भएका शिक्षकलाई ५० हजार रुपियाँका दरले पुरस्कृत गरिनेछ” उनले भने।

उनले यसपटक एसईई परीक्षाका लागि मात्र सुधार योजना कार्यान्वयन गर्न लागिए पनि कार्यविधिमा कक्षा १ देखि नै सुधार योजना लागू गर्ने उल्लेख हुने बताउँदै हरेक कक्षामा तोकिएको न्यूनतम नतिजाभन्दा माथि नतिजा हासिल गर्ने शिक्षकलाई पुरस्कृत गरिने बताए ।

A Levels MA
Thuprai - Books and E-books