बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व दिँदै शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनको उद्घाटन गर्दै उनले शैक्षिक संस्था अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले बागमती प्रदेश सरकारले परिषद्सँग समन्वय गरेर स्वास्थ्य अनुसन्धान गर्ने बताए ।
उनले नेपालमा स्वास्थ्य क्षेत्रमा गरिएको अनुसन्धान फजुल खर्च गरेको भन्ने जस्ता लागे पनि उक्त अनुसन्धानले नेपालको स्वास्थ्य नीतिमा सहयोग पुर्याइरहेको बताए ।
नेपालमा नै दक्ष चिकित्सक र वैज्ञानिक उत्पादन गनुपर्नेमा जोड दिँदै उनले भने, “नेपालमा नै चिकित्सक उत्पादन गर्ने शिक्षा नदिएर विदेश पठाइरहेका छौँ, हामीले नेपालमा नै दक्ष जनशक्ति उत्पादन गर्नुपर्दछ ।” कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङले सम्मेलनले सरकारलाई स्वास्थ्यसम्बन्धी महत्वपूर्ण नीति निर्माणमा सुझाव दिन सहयोग गर्ने बताए ।
उनले राजनीतिक प्रणाली स्थिर नभए पनि मुलुकको स्वास्थ्य प्रणाली स्थिर हुनुपर्ने बताए । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बागमती प्रदेशमा स्वास्थ्य अनुसन्धान गर्नका लागि प्रादेशिक स्वास्थ्य अनुसन्धान परिषद् गठन गर्ने बताए ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील विषयमा राजनीतिकरण गर्नु नहुने बताए । उनले वडा तहबाट नै सबैलाई गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे । उनले स्वास्थ्य र शिक्षामा बजेट बढाई निःशुल्क सेवा दिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशङ्कर प्रसादले दक्ष चिकित्सकले ग्रामीण क्षेत्रमा पुगी सेवा दिनुपर्ने बताए । उनले विदेशबाट धेरै नै औषधि आउने गरेकाले नेपालमा नै उद्योग खोल्नका लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । “नेपालमा नै थप औषधि उद्योग खोल्नका लागि नीतिनियममा के व्यवस्था गर्न सकिन्छ, आयोग तयार छ,” उनले भने, “नेपालमा नै धेरैभन्दा धेरै औषधि उत्पादन गर्ने उद्योग खोलेर विदेशबाट आउने औषधि रोक्नुपर्दछ ।” ‘