अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षकद्वारा कोठा उपहार

वालिङ–८ घ्याङलिङमा रहेको अमिलिथुम आधारभूत विद्यालयलाई पूर्वशिक्षक ठाकुरप्रसाद बगालेले उपहारस्वरुप एककोठे पक्की भवन निर्माण गरी हस्तान्तरण गर्नुभएको हो ।

“मैले ३४ वर्ष आठ महिना अमिलिथुम आधारभूत विद्यालयमा अध्यापन गरेँ”, पूर्वशिक्षक बगालेले भन्नुभयो, “सेवाबाट अवकाश भएर जाँदै गर्दा विद्यालयमा केही चिनारी छोडौँ भन्ने मनमा भाव पलायो, त्यसैले भवन निर्माण गरेको हुँ ।” आफूले अध्यापन गर्दाको समयमा विद्यालयमा भवनको अभाव भएको महसुस गरी विद्यालय प्रशासनसँग छलफल गरी सो भवन निर्माण गरेको पूर्वशिक्षक बगालेले बताउनुभयो । पूर्वशिक्षक बगालेले भन्नुभयो, “यसको लागत कति भो भनेर मैले यकिन गरेको छैन ।”

पूर्वशिक्षक बगालेले विद्यालयलाई भवन बनाई दिएर ठूलो सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक टीकाराम अर्यालले बताउनुभयो । प्रअ अर्यालले भन्नुभयो, “ अहिले पठनपाठनमा सहज भएको छ ।” विसं २०१७ मा स्थापना भएको सामुदायिक विद्यालय अमिलिथुम आधारभूत विद्यालयमा १–५ कक्षा सञ्चालनमा छ ।

Thuprai - Books and E-books