Thuprai - Books and E-books

वैकल्पिक माध्यम भनेको अनलाइन मात्र होइन

Admission edusanjal

वैकल्पिक भनेको अनलाइन मात्र होइन, अफलाइन पनि हो । जस्तो कि रेडियो, टिभी, कम्प्युटरमा बनाइएको नोट, अडियो र भिडियो रेकर्ड र डाउनलोड गरिएका सामग्री अफलाइन माध्यम हुन् । पाठ्यपुस्तक, नोटबुक, पाठको नोट, बजारमा पाइने सन्दर्भ सामग्री आदि पनि अफलाइन माध्यम हुन् । यसका लागि शिक्षकहरुले पाठको बुँदागत विवरण, व्याख्या, उदाहरण, चित्र, तालिका, अभ्यास, नमुना उत्तर, सारांश आदिको नोट तयार गरी सामाजिक सञ्चालमा राखिदिन सक्छन् वा विद्यार्थीले पाउने गरी फोटोकपी वितरण गर्न सक्छन् ।  यस्ता सामग्रीहरुलाई विद्यार्थीले घरैमा बसेर वा काम गर्दागर्दै आफैँले अध्ययन गर्ने सक्छन् । घरको काम गर्दै अडियो शैक्षिक सामग्री सुन्न सक्छन् । अभिभावकले बालबालिकाका लागि अवस्थाअनुसार घरमा छुट्टै पढने ठाउँ र समयको व्यवस्था गरिदिन सक्छन् । यस्तो ठाउँलाई पढाइ कुना भनौँ अहिलेलाई । त्यसैले विद्यालयले वैकल्पिक माध्यमको शिक्षण सिकाइ सहजीकरण योजनामा स्वाध्ययन र घरको पढाइ कुनालाई समावेश गर्नु पर्दछ । अनलाइनको सुविधमा पहुँच हुने र नहुने सबैका लागि अफलाइन माध्यम आवश्यक हुन्छ । त्यसैले अफलाइन माध्यमबाट प्रदान गरिने सिकाइ सहजीकरणको कार्ययोजनामा कुनै पनि कक्षाका कुनै पनि विद्यार्थीलाई छुटाउनु हुँदैन ।

अनलाइन माध्यमका पनि दुई वटा विधिहरु हुन्छन्: १. फेस-टु-फेस तथा कनभरसेसन २. सिङ्क्रोनस (दुईतर्फी सञ्चार) तथा एसिङ्रक्रोनस (एक तर्फी सञ्चार) । यी विधिहरुलाई आवश्यकता अनुसार फेरबदल (मोडिफाइ) गरेर पनि प्रयोग गर्न सकिन्छ । अनलाइन फेस-टु-फेस र कनभरसेसनको प्रकृति सिङ्क्रोनस नै हुन्छ । तर यी दुवैलाई एसिङ्रक्रोनस पनि बनाउन सकिन्छ । छनौट शिक्षककै हो । सिङ्क्रोनस कनभरसेसनलाई गृहकार्य र परियोजना कार्यहरुको तत्काल पृष्ठपोषण दिन प्रयोग गर्न सकिन्छ । बिजुली-बत्ती गएको वा नेट नचलेको बेलामा सिङ्क्रोनस विधि प्रयोग गर्न सकिएन भने निराशै हुनु पर्दैन । त्यस्तो बेलामा एसिङ्रक्रोनस विधि प्रयोग गर्न सकिन्छ । उदाहरणका लागि इमेललाई अनलाइन-एसिङ्रक्रोनस विधिको एउटा उपयुक्त उदाहरणका रुपमा लिन सकिन्छ । किन अनलाइन पद्धतिको काम छैन रहेछ भनेर निष्कर्षमा पुग्न हतार गर्ने ।

सबै विषयहरुमा दैनिक रुपमा फेस-टु-फेस र सिङ्क्रोनस विधि अनिवार्य हुन्छ भन्ने छैन । मूलत: सुनेर पुग्ने वा पढेर पुग्ने विषयहरु जस्तै भाषा विषय, सामाजिक, सैद्धान्तिक पाठहरुमा कनभरसेसन र एसिङ्क्रोनसले पुगिहाल्छ । गणितका अभ्यास र कन्सट्रक्सन तथा विज्ञानका प्रयोगात्मक पाठ र सामाजिक विषयका नक्सा कार्यहरुमा फेस-टु-फेस तथा सिङ्क्रोनस माध्यमहरु आवश्यक हुन सक्दछन् । फेस-टु-फेस र सिङ्क्रोनस विधिको प्रयोग गर्दा प्राविधिक, सामाजिक लगायत धेरै कुराहरुको व्यवस्थापन गर्नुपर्ने हुन सक्छ ।

अर्को एक जरुरी कुरा के भने अनलाइन शिक्षण जस्तै जुम वा माइक्रोसफ्ट टिम आदिबाट शिक्षण गर्दा पनि विविधता ल्याउन सकिन्छ । सँधैभरि शिक्षकले ल्यापटप वा डेस्क टप अगाडि सोझो बसेर प्रस्तुत गरिरहनु पर्छ भन्ने छैन । ह्वाइट बोर्डको प्रयोग गर्दै कक्षाकोठामा उभिएर शिक्षण गरेजस्तै गरी अनलाइन सहजीकरण गर्न सकिन्छ । यसका लागि डेस्कटपमा वेब क्याम राखेर वा मोबाइलाई स्टेन्डमा राखेर वा भिडियो क्यामेरा राखेर भिडियो कक्षा दिन सकिन्छ । शिक्षकको अनुहार मात्र देखिने कक्षाभन्दा यो विधि बढी जीवन्त हुन सक्छ । यसमा शिक्षकले शारीरिक हाउभाउ र शैक्षिक सामग्रीको प्रदर्शन सहित जीवन्त रुपमा सहजीकरण गर्न सक्छन् । तर उता विद्यार्थीले मोबाइल वा कम्प्युटरको स्क्रिनमा बोर्डको कुरा राम्रो नदेख्न सक्छन् । यो समस्याको पनि ख्याल गर्नुपर्दछ । यसका लागि दुईवटा उपायहरु अपनाउन सकिन्छ- एक: विद्यार्थीलाई नै जुम गरेर हेर्न सल्लाह दिने, दुई: बोर्डमा लेखिएको कुरामा फोकस गरेर भिडियो खिच्ने ।  जस्तो कि ज्यामितीय चित्र देखाउँदा क्यामेराराई ह्वाइट बोर्डमा फोकस गर्न सकिन्छ । यस्तो फोकसिङ वायरलेस माउस वा रिमोटबाट पनि एडजस्ट गर्न मिल्छ । यसरी भिडियो शिक्षण गरिएको कुरा रेकर्ड गरियो भने बिदाको समयमा वा विद्यार्थीले माग गरेको समयमा पुन: देखाउन वा मेमोरी कार्डमा पठाएर अफलाइन सहायता गर्न सकिन्छ ।

विद्यालयले पनि कक्षाकोठाहरुमा कक्षागत अनलाइन अफलाइन शिक्षणको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) बनाउन सक्छन् । यस्तो कन्ट्रोल रुममा ठूलो ह्वाइट बोर्ड र मोबाइलका सामान्य भिडियो क्याम स्टेन्डहरु जडान गर्न सकिन्छ । आवाजलाई राम्रो बनाउन कोठामा साउन्ड प्रुफ जडान गर्न सक्छन् । क्षमता भएकाले आफ्नै विद्यालयमा एफएम स्टेसन राखी रेडियो कक्षा सञ्चालन गर्न सक्छन् । यस्ता कार्यका लागि रेडियोको स्टुडियोसम्बन्धी प्राविधिक व्यक्तिहरुबाट सेवा लिन सक्छन् ।

कक्षाकोठाको परम्परागत प्रत्यक्ष सिकाइभन्दा अनलाइन तथा अफलाइन सहजीकरण विधि बढी समावेशी पनि हुन्छ । आँखा नदेख्नेहरुले दोहोरयाएर तेहेरयाएर वा रेकर्ड गरेर आवाज सुन्न सक्छन् । कान नसुन्नेहरुले दोहोरयाएर तेहेरयाएर वा रेकर्ड गरेर भिज्युअल हेर्न सक्छन् ।

यसरी आवश्यकता अनुसार माध्यम छनौट गरी सिकाइ सहजीकरण योजना बनाएमा मितव्ययी र कम बोझिलो बनाउन सकिनेछ । त्यसैले वर्गीकृत विद्यार्थी विवरण र पाठहरु हेर्दै योजना बनाउन कोशिस गरौँ । यो एउटा तरिका हो । उपयोगी हुन सक्छ । खासमा अनलाइन अफलाइन भनेका श्रव्य, दृश्य र श्रव्यदृश्य शैक्षिक सामग्रीमात्र हुन् । यी विगतमा पनि थिए र अहिले अलिक फरक स्वरुपमा आएका मात्र हुन् । ठूलै हाउगुजीका रुपमा लिनु आवश्यक छैन ।

लेखक बाँकेको कोहलपुर नगरपालिकाका शिक्षा प्रमुख हुन् ।