After SEE Portal

रुरु गाउँपालिका गुल्मी जिल्लामै पहिलो पूर्ण विद्यार्थी भर्ना घोषणा

Bridge Course

गुल्मीको रुरु गाउँपालिकाका सबै बालबालिका विद्यालय भर्ना भएका छन् । उक्त गाउँपालिकाले यस शैक्षिकसत्रमा सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने योजना बनाएको थियो ।

सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले एक महीना गाउँगाउँमा भर्ना अभियान सञ्चालन गरेकोे थियो । विद्यालय उमेर समूहका सबै बालबालिका भर्ना भएपछि गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी पूर्ण बालबालिका भर्ना गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष नीलकण्ठ गौतमले बताउनुभयो ।

जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये रुरुले मात्रै पूर्ण भर्ना घोषणा गरेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामबहादुर थापाले बताउनुभयो ।

उक्त गाउँपालिकामा ४३ सामुदायिक र संस्थागत तीन गरी ४६ विद्यालय छन् । नयाँ शैक्षिकसत्रसँगै उक्त गाउँपालिकाले गाउँगाउँमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर भए÷नभएको तथ्याङ्क सङ्कलन गरेकोे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो ।

गाउँपालिकाका विद्यालय उमेरका बालबालिकालाई विद्यालय भित्र्याउन शिक्षा समिति र गाउँपालिकाभित्रका प्रधानाध्यापकको बैठक बसेको थियो । बैठकले भर्ना सुनिश्चित गर्नका लागि विद्यालय र वडा कार्यालयले तल्लो तहबाट निर्णय गरी गाउँपालिकामा पठाएपछि मात्र अभियान सञ्चालन गरिएको स्रोत व्यक्ति वामदेव ज्ञवालीले बताउनुभयो ।

गाउँगाउँमा अभियान सञ्चालन गर्दा विद्यालयमा नियमित नआउने तथा पढ्दापढ्दै बीचमै विद्यालय छाडेका बालबालिका फेला परे पनि विद्यालय नगएका बालबालिका नभेटिएको वडा नं ३ का वडाध्यक्ष शेषनारायण पौडेलले जानकारी दिनुभयो ।

अभियानकै क्रममा विद्यालय अनियमित हुने तथा बीचमै छोड्ने आठ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको उहाँले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा उक्त गाउँपालिकाले झण्डै रू एक करोड शिक्षा क्षेत्रमा खर्च गरेको छ ।

A Levels MA