After SEE Portal

तनहुँका १७ विद्यालयमा अक्षयकोष

Bridge Course

तनहुँको दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई शैक्षिक पहुँच पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो ।

हरेक विद्यालयमा रु एक लाख पाँच हजार बराबरको अक्षयकोष स्थापना गरेको संस्थाका अध्यक्ष नरेन्द्रराज वाग्लेले जानकारी दिए । क्लबले ‘शैक्षिक प्रोत्साहन अक्षयकोष २०७९’ कार्यक्रमअन्तर्गत अक्षयकोष स्थापनार्थ सम्झौतापत्रमा संस्थाका अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन् ।

सो शैक्षिक प्रोत्साहन अक्षयकोष सम्झौता कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रत्येक विद्यालयमा अक्षयकोषको स्थापना गरिँदा विपन्न, असहाय तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने बताए ।

व्यासका सत्यवती माध्यमिक विद्यालय र क्यामिन माध्यमिक विद्यालय, बन्दीपुरको भानु माध्यमिक विद्यालय, ऋषिङको महेन्द्रोय माध्यमिक विद्यालय, भिमादको सिद्धार्थ माध्यमिक विद्यालय, शुक्लागण्डकीको पञ्चमुनिदेव माध्यमिक विद्यालय, भानुको होमराज लोहनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

त्यस्तै म्याग्देको राधा माध्यमिक विद्यालय, ऋषिङको सहिद गङ्गा माध्यमिक विद्यालय, अमरज्योति माध्यमिक विद्यालय, जनप्रेमी माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, शिव माध्यमिक विद्यालय र चन्द्रज्योति माध्यमिक विद्यालयलगायतका विद्यालयमा अक्षयकोष स्थापना गरिएको क्लबले जनाएको छ । पहिलो चरणमा ती विद्यालयमा अक्षयकोष स्थापना गरिएको र विस्तारै थप अन्य विद्यालयमा समेत कोष स्थापना गर्ने लक्ष्य रहेको अध्यक्ष वाग्लेले बताए ।

“ती विद्यालयका गरिब, विपन्न, असहाय, अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो”, उनले भने । कोषमा रहेको रकमको ब्याजबाट हरेक वर्ष गरिब, विपन्न, अपाङ्गता भएका र जेहेन्दार विद्यार्थीलाई प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरिने क्लबले जनाएको छ ।

“यसले गरिब र जेहेन्दार विद्यार्थीलाई विद्यालयमा नियमित गराउनुका साथै पढाईप्रति प्रेरित गराउनेछ”, न्यौपानेले भने । सम्झौता कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वसन्तराज पौडेल, व्यासका शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख नवीन पराजुली, संस्थाका उपाध्यक्ष रामेश्वर पण्डित, सचिव गीताकुमार ढुङ्गाना लगायतले क्लबले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए । क्लबले जिल्लाका सबै पालिकाका विद्यालयमा अक्षयकोष स्थापना गर्न लागेको जनाएको छ ।

A Levels MA
Thuprai - Books and E-books